|

काठमाडौं : करिब १५ अघि यु-१६ फुटबल टोलीमा नर्वे भ्रमणमा सदिना श्रेष्ठ समावेश भएकी भए  के उनी बास्केटबल आउने थिइन्? पंक्तिकारले अनायसै यो प्रश्नको जवाफ नेपाली राष्ट्रिय बास्केटबल टिमकी कप्तान रहेकी सदिनाबाट जान्न खोज्यो।

प्रश्नपछि उनी मौन रहिन्। मुन्टो मात्र हल्लाइन्। उनले लामो सुस्केरा हालिन्। फुटबलको त्यो सेलेक्सनमा उनी नपरेको वर्षौं पुगिसक्यो। त्यो पल सम्झन चाहन्नन्। 'सिकाइमा अनेकन पाटाहरु हुन्छन्। त्यो पाटोमध्ये एक सेलेक्सनमा नपर्नु पनि थपियो। त्यसबेला अलि अलि रिस अलि पीडा भएको थियो‚' उनी भन्छिन्, 'मैले फुटबल त्यागें पनि म आज फुटबललाई प्रेम गर्छु। प्रेम गरेका सबै चिज प्राप्त गर्नुपर्छ भन्ने छैन। बास्केटबलमा आएँ।'  उनले खेल्न थालेको १५ वर्षभन्दा बढी भयो।

नेपालमा बास्केटबलको चर्चा खासै सुनिँदैन थियो। १३औं दक्षिण एसियाली खेलकुद (साग)पछि भने नेपाली समाजमा बास्केटबलको चर्चा सुरु भयो।​त्यही बास्केटबल टोलीको कप्तानीको बागडोर सदिनाले सम्हालिरहेकी छिन्। उनको टोलीले नेपालका लागि भरपुर मिहिनेत गरिरहेको रहेको छ।

रजत पदकले दिलाएको खुशी

सदिनाको कप्तानीमा रहेको टोलीले १३औं सागमा रजत जित्न सफल भयो। बास्केटबल पहिलोपटक समावेश भएको खेलमा आफू र आफ्नो टिमले गरेको मिहिनेतको प्रतिफल रहेको उनी बताउँछिन्। उनले भनिन्, 'पहिलोपटकको खेल्न पाउँदा उत्साहित हाम्रो टिमले यो उपलब्धि हासिल गरेको हो। यो ऐतिहासिक छ।'

सागमा भारतीय टोलीसँग नेपाल पराजित भयो। त्यो हारको पीडाभन्दा नेपाली टोलीले प्राप्त गरेको रजत पदक कयौं गुणा सुखद रहेको सदिना बताउँछिन्। 'हार जित त खेलको नियम हो। हार्न चाहने खेलाडी कहाँ होला र?‚' उनले त्यो पल यसरी सम्झिन्, 'हामी स्वर्ण पदक पाउन असफल भयौं। तर, रजत प्राप्त गरेर नयाँ इतिहास बनाउन सफल भएकाले स्वर्णसँग दाँजेर रजतलाई नजर अन्दाज गर्न मिल्दैन। हामीले खेलप्रेमीबाट असाधारण स्यावासी र सम्मान पाएका छौं।'

पिपुल्स च्वाइसमा मनोनित

सदिना १७औं पल्सर स्पोर्ट्स अवार्ड २०७६ को पिपुल्स च्वाइस विधामा उनी मनोनित भएकी छन्। यो उनलाई सपना जस्तो लागेको छ। अनपेक्षित घटनाले मान्छेलाई विपना पनि कहिल काहीँ सपना जस्तो बनाइदिने रहेछ। यो अवार्डमा बास्केटबलको उपस्थिति पहिलो पटक रहेको उनले जानकारी दिइन्। मनोनित हुनेमा उनीसहित पाँचजना खेलाडी रहेका छन्। मनोनित भएको खबर आउँदा नै आफूले जितिसकेको सदिनाले बताइन्।

यो प्रतिस्पर्धा रोचक रहेको उनले बुझेकी छिन्। 'मनोनित टोलीमा खेलमार्फत असाधारण प्रतिभा देखाएका खेलाडी साथीहरू हुनुहुन्छ‚' उनले भनिन्‚ 'त्यसमा मेरो नाम अटाएको छ। यो आफैंमा पुरस्कारको हिस्सा हो। मेरो होइन मेरो टिमको।'

परिवारको सहयोग

सदिनाको खेलप्रतिको लगाव पारिवारिकसँग जोडिन्छ। उनका परिवारका अन्य सदस्य पनि नेपाली खेलकुदमा परिचित छन्। त्यसैले खेलकुदमा लाग्न उनको परिवारको पूर्ण साथ छ।  'म अघि नै मेरी दिदीहरु खेलकुदमा लागेका थिए। उनीहरू यो क्षेत्रमा लागेकाले मेरा लागि सहज हुँदै गएको हो‚' उनी सुनाउछिन्, ' दिदीहरुले कोरेको गोरेटोमा हिँड्न मलाई आँट र भरोषा पनि परिवारले दिएको हो। म त खेलको यात्रामा हिँडेको यात्री न हुँ।'

उनी बास्केटबलमा नै आफ्नो जीवन बिताउन चाहन्छिन्। 'मेरो जीवनको एक मात्र प्यासन नै बास्केटबल हो। मैले बास्केटबललाई तुलोमा राखेर यसबाट पाउने र गुमाउनेबारे केही सोचेको छैन। बाँच्नु छ यसकै साथ हिँड्नु छ यसकै साथ‚' उनले बास्केटबलप्रति आफ्नो समर्पण यसरी सुनाइन्।

रिब्सले जगाएको बास्केटबल मोह

बास्केटबलका लागि रिब्स स्कुलको छुट्टै पहिचान छ। सदिना अध्ययनको शिलशिलामा त्यहीँ स्कुल पुगिन्। स्कुलमा हुने खेलले नै उनलाई बास्केटबलतर्फ आकर्षित गर्‍यो। उनी स्कुलको तर्फबाट विभिन्न प्रतियोगितामा भाग लिन थालिन्। 'आज म जे छु। त्यसको मुल जरो रिब्स हो। यसो भन्दा मलाई मेरो स्कुलप्रति गर्व छ‚' उनले स्कुलप्रति कृतज्ञता प्रकट गरिन्।

खेलकुदमा लागेर धेरै खेलाडीहरूले आफ्नो जीवन अँध्यारोमा धकेलेका इतिहास उनले पनि पढेकी छिन्। खेलेर के हुन्छ भन्ने पनि उनका वरिपरि नभएका होइनन्। तर, रहरले तय गरेको यात्रामा कसैले रोक्दैमा नरोकिने रहेछ। त्यसैले त सदिनाको बास्केटबलको यात्रा रोकिएको छैन।

अन्तर्राष्ट्रिय यात्रा

सदिनाले पहिलोपटक सन् २०११ मा श्रीलङ्कामा भएको पहिलो अन्तर्राष्ट्रिय खेलमा खेल्ने अवसर पाइन्। त्यसपछि भने उनी लगातार अन्तर्राष्ट्रिय खेलमा समावेश छिन्। २०१२ मा उनको कप्तानीमा नेपाली टिम चीन पुग्यो। त्यसपछि उनले अर्को कुरा पनि बुझिन्। खेल्नु र कप्तानी सम्हालेर खेल्नु केही फरक छ। कप्तानीमा  क्षमताको कुरा मुख्य रहेछ भन्ने उनले बुझेकी छिन्। टोलीको नेतृत्व लिएर खेल्नु खेलाडीका लागि थप जिम्मेवार काम रहेको उनी बताउँछिन्।

चीनपछि उनको टिम ग्रिस पुग्यो। 'वाइल्ड कार्डबाट साउथ एसियाबाट नेपाल र श्रीलङ्काले मौका पाएका थियौँ‚' उनले भनिन्‚ ‘हामीले फ्रान्स, चेक रिपब्लिक, हङ्गेरी, ग्रिससँग खेल्यौँ। खेलमा हामीले हारे पनि केही अनुभव  भने सँगालेका छौं। यो नै हाम्रो महत्त्वपूर्ण पाटो हो।'

खेलकुदको आधार क्षेत्र

नेपालका धेरै खेलाडीले खेल क्षेत्रबाटै जिन्दगी चलाउन असमर्थ छन्। औंलामा गन्न सकिने केही खेलाडीबाहेक अन्य खेलाडीलाई यस क्षेत्रमा टिक्न सहज छैन। त्यसैले त खेलको मैदान छोडेर विदेश उड्ने क्रम जारी छ। कतिपयले भने व्यापार व्यवसाय सुरु गरेका छन्। प्रतियोगिताको समयमा खेलाडीलाई देशको सान मान्ने राज्य अन्य समय उनीहरूको कहाँ छन् भन्ने जानकारी राख्दैन।

यसमा सदिनाको गुनासो छ। 'खेल खेल्दासम्म हुने खेलाडीको महत्त्व अन्य समयमा भने खासै चर्चा सुनिँदैन‚' उनले भनिन्‚ 'यो खेलाडीका लागि दुःखद् होला।'

क्याम्पमा बस्दा वा प्रतिस्पर्धाका लागि कतिपयले आफ्नो जागिर छोडेका छन्। लामो समय अभ्यासमा रहँदा कतिपयको जागिर गुम्छ। प्रतियोगिता सकिएपछि खेलाडीहरू बेरोजगार हुन्छन्। उनी भन्छिन्, 'खेलाडीले क्याम्प हुन्जेल प्रत्येक दिनको हिसाबले भत्ता पाउँछन्। खेल हुँदा पनि त्यसै गरी भत्ता नै पाइन्छ। त्यसपछि भने हामीले के गर्ने त? उनी खेलका अलवा पनि केही स्कुलमा काम गर्ने भएकाले केही सहज भए पनि सबैका लागि बाँच्ने आधार छैन।'

अर्को कुरा अन्य खेल भने मुलुकभित्रै भइरहेका हुन्छन्। जसले गर्दा खेलाडीहरुको अभ्यास भइरहेको हुन्छ। तर, समूहमा खेलिने बास्केटबलको हकमा भिन्न छ। देशका विभिन्न क्षेत्रमा क्षत्रीय बास्केटबल भइरहेका हुन्छन्। त्यसमा राष्ट्रिय टोलीका सदस्यलाई समावेश नगरिने सदिनाको गुनासो छ।

'मुस्किलले हुने खेलमा पनि राष्ट्रिय टोलीहरूलाई समावेश गरिँदैन। कम्तीमा विभिन्न समूहमा राष्ट्रिय टोलीका खेलाडी समावेश गरिदिने हो भने पनि हाम्रा लागि खेलिरहने वातावरण हुन्थ्यो', उनको दुखेसो छ, 'हामीले वर्षमा हुने एक राष्ट्रिय खेलबाहेक अन्य समयमा प्रतिस्पर्धाको हिसाबले बल छुन पनि पाउँदैनौं।'

तस्विर : शिला तिम्सिना 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.