|

नेपाल स्वाधीन, अखण्ड, स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश हो। ब्रिटिस सामाज्यले विश्व साम्राज्यवादको पखेटा फ्याँक्दासमेत बलिदानीपूर्ण साहसिक इतिहास रच्न सफल देश आन्तरिक कलहबाट भने कहिल्यै अछुतो रहेन। आफ्ना आन्तरिक र व्यावहारिक तमाम समस्याका बावजुद पनि देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डता रक्षार्थ नेपाली जनताले शासकलाई वीरतापूर्ण र साहसिक सहयोग गरेको इतिहास छ।

नेपाली जनताको विगतको सामाजिक तथा आर्थिक अवस्था कोट्याउने हो भने साह्रै दर्दनाक र कष्टकार थियो। एकातिर जनतालाई सधैँ दु:खको भुमरीमा राखेर आफू रामराज्य गर्ने गरी शासकहरूको विकास हुँदै गयो भने अर्कोतर्फ फेरि तिनै निश्चित शासकहरूबीच पनि सत्ता, पद र स्वार्थको लागि कहालिलाग्दा घटना र काण्डहरू भए। 

अबको विकल्प वास्तविक लोकतन्त्रको कार्यान्वयन हो। यसमा राजनीतिक दल खोल्न र जनता ढाट्न मात्र उपयोग गर्न हुँदैन। जनतासामु पार्टीको सिद्धान्त तथा अनुशासन सहितको स्पष्ट दस्तावेज लैजाने र दस्तावेजमा भएको सिद्धान्त  तथा नीतिका आधारमा हरेक नेता कार्यकर्ताको कार्यशैली हुने व्यवस्था गर्नु पर्दछ

जनतालाई पीडाको जञ्जिरबाट मुक्त गराउनुपर्ने धारण दिँदै विभिन्न राजनीतिक घटना परिघटना तथा गतिविधिहरू सञ्चालन हुँदै आए। यसरी आफ्नो मुक्तिको लागि भनिएका विभिन्न दल तथा नेतालाई जनताले समर्थन तथा बलिदानीपूर्ण सहयोग गर्दै आए। नेपाली जनता छिटो विश्वास गर्ने र सहयोग गर्ने प्रवृत्तिका छन्।

आफ्नो सामाजिक तथा आर्थिक जीवन निकै पेचिलो भएका कारण मुक्तिका आसमा जनविद्रोहका विभिन्न कालखण्डमा रगतको खोलो बगाउन विवश भए। यसको कारण जनता साच्चै नै शोसित पीडित थिए।

तानाशाही शासकको विरुद्धमा जनताको तर्फबाट विभिन्‍न मोर्चाबन्दी भए। तिनै मोर्चाको नेतृत्वमा जनता सहभागी भएर थुप्रै परिवर्तन भए। राणा शासन तथा राजतन्त्रको अन्त्य गर्ने श्रेय नेपाली राजनीतिक दल तथा नेपाली जनतालाई नै जान्छ र त्यो सबै उपलब्धि सारा नेपालीको निमित्त नै थियो।

विडम्बना आज तिनै राजनीतिक दल तथा नेताका चरित्र र देशको दर्दनाक अवस्था हेर्दा कतै जनताको बलिदानी निरर्थक त थिएन? भन्ने प्रश्‍न उठ्ने बेला भइसकेको छ। अहिलेको राजनीतिक परिवेश हेर्दा पनि त्यस्तै देखिन्छ।

आज कुर्सीका लागि भएको लडाइँको मार नेपाली जनतामा थोपरिएको छ। स्थिर सरकारको न्यानो सपनामा डुबेका नेपालीको सारा सपना छताछुल्ल हुन पुगेको छ। जनताको मतबाट पाँच वर्षको लागि बनेको संघीय संसद् संकटमा छटपटाएको छ। आशा र भरोसा बोकेका राजनीतिक दलका घिनलाग्दा क्रियाकलाप हेर्दा नागरिकहरू लाजले शिर निहुर्‍याउन बाध्य छन्। ताजा जनादेशका नाममा निर्वाचनको मिति घोषणा गरिएको छ। यस्ता खालका संवेदनशील कार्यले भविष्यसम्मलाई लोकतान्त्रिक अभ्यासको गलत नजिर बन्ने निश्चित छ।

नेपालमा आज लोकतान्त्रिक गणतन्त्र छ। यो आजसम्मको उच्चतम राजनीतिक उपलब्धि मानिएको छ। आजको विश्वमा लोकतन्त्र नै राज्य व्यवस्थामध्येमा जनताको पक्षको सबैभन्दा उच्चतम विन्दु मानिन्छ। तर, नेपालका जनताको जीवनयापनको वास्तविकता र शासनको गतिविधि हेर्दा कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तो छ।

संविधानमा व्यवस्था भएका मौलिक हक कार्यान्वायनमा उदासीनता देखिएको छ। हिजो देशमा राजतन्त्र हुँदा माग्न बसेको सडकको पेटी अझै खाली भएको छैन। रोग, भोक, शोक, गरिबी, भ्रष्टाचार, ज्यूँका त्युँ छन्। जवाफदेहिता शून्यतामा झरेको छ। भू-माफियामा हौसला थपिएको छ। शिक्षाको खाडल झन् बढेको छ। नातावाद, कृपावाद र चाकडीको गुञ्जायस बढ्नुका साथै योग्यता प्रणालीको बर्खिलापका काम रातारात भइरहेका छन्।

कोरोना, भूकम्प जस्ता महामारीमा समेत देशमा भ्रष्टाचार र लुटतन्त्र चलिरह्‍यो। धनाढ्यका कब्जामा रहेका जमिन अनुत्पादक बन्दै जाँदा अन्न उपार्जन गर्ने भूमिको अभावमा  नागरिक भोकमरीमा पिल्सिनु परेको वास्तविकता छ।

प्राकृतिक सम्पदाको दोहन कार्य दिन दुगुना रात चौगुना बढेका छन्। छोरी चेली बलात्कृत हुँदा अपराधी खोज्न नसकेको नालायक कुरा चोकहरूमा सुन्नुपर्दा, दिन दहाडै नागरिक ठगिएको र प्रशासक मूकदर्शक बनेको देख्दा, पीडितले न्यायको लागि घरखेत बेच्नुपरेको हेर्दा र शिक्षाका नाममा बालबालिका लिएर आमा शहर पस्दाका परदेशिका कथा सुन्दा यो लोकतन्त्र नै हो र? जस्तो भान हुन्छ।

शासकहरू नागरिकको जनजीवन सहज बनाउनभन्दा पनि सस्तो लोकप्रियता बाँड्दै सत्तालिप्सातिर उन्मुख हुँदै गएका छन् भने कायकर्ता अनावश्यक रुपमा गुटमा उभिएर नेताका गलत प्रवृत्तिलाई थप टेवा पुर्‍याउन उदृत छन्। यी सबैको कारण भनेको जनताले लोकतन्त्रका आधारभूत सिद्धान्तको बारेमा थाहा नपाउनु र क्रियाशील दल तथा नेताबाट आजित हुन पुग्नु हो।

आज सडकमा विभिन्न खालका आवाज उठ्न थालेका छन्। तर, आज लोकतन्त्रको विकल्प  अरू हुनै सक्दैन। वर्तमान तरलतालाई हेर्दा लोकतन्त्रको कार्यान्वायन भएको मान्न सकिँदैन। जनताले निर्वाचित गर्ने अनि जनताको माग सम्बोधन नगर्ने लोकतन्त्र के लोकतन्त्र? यो त जनताले जे सुकै गर भनेको अवस्था हो। यस वेला न जनताले कानुन मान्छन् न त नेता तथा शासकले नै मान्छन्। लोकतन्त्रको कार्यान्वयन त्यतिवेला हुन्छ जब नागरिकको बोलीको गुञ्जयास हुन थाल्छ।

अबको विकल्प वास्तविक लोकतन्त्रको कार्यान्वयन हो। यसमा राजनीतिक दल खोल्न र जनता ढाट्न मात्र उपयोग गर्न हुँदैन। जनतासामु पार्टीको सिद्धान्त तथा अनुशासन सहितको स्पष्ट दस्तावेज लैजाने र दस्तावेजमा भएको सिद्धान्त  तथा नीतिका आधारमा हरेक नेता कार्यकर्ताको कार्यशैली हुने व्यवस्था गर्नु पर्दछ। यही हेरेर नागरिकले समर्थन गर्न वा नगर्न सक्छन्। यो राजनीतिक कुरा हो।

संवैधानिक कुरा के हो भने राजनीतिक दलबाट सिफारिस भएर निर्वाचित भएको प्रतिनिधिको सम्पूर्ण गुण र दोषको जिम्मा राजनीतिक दलले लिने व्यवस्था हुनु पर्दछ।

नागरिकले सरकारलाई सहयोग गर्नु र सरकारले जनताका सम्पुर्ण समस्याप्रति मध्यनजर गर्दै सहयोग तथा सहकार्यपूर्ण अवस्थामा सम्बन्ध अगाडि बढाउनु र लोकतन्त्रमा जनताको सर्वोच्चता स्थापित गर्नुको विकल्प  छैन।

निर्वाचनमा जाँदा दलको तर्फबाट वा व्यक्तिगत तर्फबाट आफ्नो क्षेत्रका सम्भावनाहरू र चुनौतीसहितको प्रष्ट कार्ययोजना बनाइ जनतासामु जाने र निर्वाचित भएपछि सोहीबमोजिम काम भए नभएको मूल्यांकन जनताले गर्न पाउने प्रभावकारी कानुनी  व्यवस्था हुनुपर्दछ। उसको कार्यकालभरिमा गर्ने कामको खाकाबमोजिम काम अगाडि बढे-नबढेको साथै सार्वजनिक सेवामा भएको कामको दुरुपयोग सम्बधमा जनस्तरबाट मूल्यांकन गर्न पाउने तथा सो को आधारमा पदबाट हटाउने समेतको व्यस्था हुनु पर्दछ।

लोकतन्त्र भन्दैमा नागरिकको मनमा जे आयो त्यही गर्न तथा बोल्न नपाउने र शासकले पनि स्वेच्छाचारी ढंगले आफू नै सर्वेसर्वा हुँ भन्न नपाउने कानुनी प्रावधानलाई जनस्तरसम्म प्रभावकारी कार्यान्वायन हुनुपर्छ। राजनीतिक दलमा विश्वास र इमानदारी हुनु पर्दछ।

संविधानवादको सिद्धान्तका आधारमा कानुनी राज्यको कार्यान्वयन गर्दै सरकार तथा सार्वजनिक सेवाका हरेक क्षेत्रको कामको गतिविधिहरू मागका आधारमा सहभागीतामूलक रुपमा सञ्चालन गर्ने र सो को मूल्यांकन जनताले नै गर्न पाउने पूर्णव्यवस्था हुनु पर्दछ।

नागरिकले सरकारलाई सहयोग गर्नु र सरकारले जनताका सम्पुर्ण समस्याप्रति मध्यनजर गर्दै सहयोग तथा सहकार्यपूर्ण अवस्थामा सम्बन्ध अगाडि बढाउनु र लोकतन्त्रमा जनताको सर्वोच्चता स्थापित गर्नुको विकल्प  छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.