|

भारतले आज सबै राज्यमा कोरोना भ्याक्सिन लगाउनुअघि भएको तयारी जाँच्न 'ड्राइ रन' गर्दैछ। 'ड्राइ रन' गरेपछि देशमा कोरोना भ्याक्सिन लगाउन स्वास्थ्यकर्मीहरूको तयारीबारे थाहा लाग्नेछ।

'ड्राइ रन' गरेपछि स्वास्थ्यकर्मीहरू भ्याक्सिन लगाउन तयार रहे/नरहेको, आवश्यक सुविधा स्थापित भए/नभएको र भ्याक्सिनलाई भण्डारण केन्द्रबाट खोप केन्द्रसम्म लैजान लाग्ने समयबारे पत्ता लाग्नेछ। 

भारत सरकारले अक्सफोर्ड कोभिड–१९ भ्याक्सिन लगाउन स्वीकृति दिएको छ। यो भ्याक्सिन बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँगको समन्वयमा तयार गरिएको हो। पुणेस्थित सीरम इन्स्टिच्युट अफ इन्डियामा यो भ्याक्सिन बनाइएको हो।

भारतमा आज हुन लागेको 'ड्राइ रन' दोस्रो चरणको हो। यसअघि डिसेम्बर २८ मा असम, आन्ध्र प्रदेश, पञ्जाब र गुजरातमा 'ड्राइ रन' गरिएको थियो। 

९६ हजार स्वास्थ्यकर्मीलाई भ्याक्सिन लगाउने तालिम दिइएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी मध्ये २ हजार ३ सय ६० जनालाई नेशनल ट्रेनिङ अफ ट्रेनर्समा खोप लगाउने तालिम दिइएको थियो। ५७ हजारभन्दा धेरै मानिसलाई जिल्लातहमै प्रशिक्षण दिइएको छ।

'ड्राइ रन'अन्तर्गत सबै खोप केन्द्रमा सबैभन्दा पहिले २५ जना स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप दिइनेछ। यसरी खोप दिइएपछि कुनै असर देखिए उनीहरूको स्वास्थ्य उपचारका लागि भएको व्यवस्था दुरुस्त भए/नभएको पनि जाँच गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.