प्रजिअ सहितको टोली कम्बल दिएर फर्कियो

|

जुम्ला : बेवारिस भई वर्ष दिनदेखि ओढारमा बसिरहेकी जुम्लाकी एक महिलालाई अझैसम्म उद्दार गरिएको छैन।

चन्दननाथ नगरपालिका-३ स्थित ओढारमा बसिरहेकी काला कुलालको उद्दार हुन नसकेको हो। यो ओढार जुम्ला सदरमुकामबाट एक किलोमिटर टाढा पर्छ।

कुलाल कहाँबाट आएर जुम्लाको यो ओढारमा बसिरहेकी हुन्‌ भन्ने अझै थाहा लाग्‍न सकेको छैन। उनको उमेर ६० वर्ष हाराहारी रहेको अनुमान गरिएको छ।

हिउँद याममा जुम्लाको तापक्रम माइनसमा झर्छ। अहिले ती महिला बस्ने गरेको क्षेत्रको तापक्रम माइनस ८.५ सेन्टिग्रेटमा झरेको छ। यस्तो चिसो सहँदै ओढारमा बसिरहेकी कुलालको उद्दारमा स्थानीय तहले समेत बेवास्ता गरेको छ। 

फोहोर कपडामा लट्पटिएकी कुलालको शरीर जीर्ण भइसकेको छ। अत्यधिक चिसो सहन नसक्दा हातखुट्टा कक्रिन थालेका छन्‌। अनुहार पट्‌पटी फुटेको छ।

लगभग मृत्युको मुखमा

तत्काल उपचार र स्याहार नपाए  ९ महिनादेखि सो ओढारमा बसिरहेकी कुलालको ज्यान जाने खतरा बढेको छ।

एकातिर उनको मानसिक स्वास्थ्य बिग्रेको छ भने अर्कातिर पाठेघरको समस्याबाट ग्रसित छिन्‌। ओढारमै थलिएकी उनलाई पटक-पटक रक्तश्राव हुने गरेको छ।

दिउँसोपख उनी खानेकुरा खोज्न सडकमा आउँछिन् र बेलुकी फेरि ओढारमै गएर बस्छिन्‌। ​शान्तिनगर हुँदै कर्णाली प्राविधिक शिक्षालय जाने बाटोनजिक खुला ओडारमा बसिरहेकी उनले आफ्नो घर दैलेख रहेको बताएकी छिन्‌। 

ती महिला त्यहाँ कहिले, कसरी र किन आइन् भन्नेबारे कसैलाई जानकारी छैन। उनले आफ्नो नाम सोदा माता कुमारी बताएपनि चन्दननाथ नगरपालिकाले कमला कुलाल भएको जनाएको छ। 

नगरपालिका-३ का वडाध्यक्ष नन्द बहादुर बुढथापाले ती महिलाबारे आफूहरूसँगै पर्याप्त जानकारी नभएको, घर दैलेखको खड्काबाडा भएको बताएपनि खोजतलासका लागि अहिलेसम्म कतैबाट कोही मानिस नआएको जानकारी दिए। घरमा ल्याउन खोज्दा नमान्ने गरेकाले ओढारमै छाड्नुपरेको उनले बताए। 

स्थानीयवासीले बेलाबखत ती महिलालाई खानेकुरा दिने गरेका छन्‌। जिल्ला प्रशासन कार्यालय जुम्लाले हालै केही राहत दिएको छ।

बेवारिस महिला खुला ओढारमा बसेको थाहा पाएपछि जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको नेतृत्वमा नन्दबक्स गणका गणपति दिवाकर रायमाझी, जनपथ तथा सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय माधवप्रसाद काफ्ले र गगन श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य चौलागाई सम्मिलित टोलीले ओढारमै पुगेर ती महिलालाई ओढ्ने कम्बल, ज्याकेट, चामल र भाँडाकुँडा दिएको छ। 

'महिलामा मानिसक असन्तुलन समस्या रहेछ, कसैले घरमा लिन खोजेपनि जान मान्दिनन्‌ ', प्रजिअ थापाले भने, 'तत्काल उनलाई जुम्लामा पुनःस्थापना गर्ने ठाउँ नभएकोले हामीले केही राहतका सामग्री दिएर फर्केका हौं।'

जिल्ला प्रशासनमा बैठक बसेर सडक मानवहरूको तथ्याङ्क संकलन गर्ने र पुनःस्थापना निम्ति कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ। प्रशासनले सडकमा बाध्यात्मक हिसाबले बस्दै आएका मानवहरूको तथ्याङ्क संकलनका लागि भने सामाजिक विकास कार्यालय जुम्लालाई आग्रह गरेको जानकारी दिएको छ।

संकलित तथ्याङ्कका आधारमा सडक मानवहरूको उद्धार गरी मानव सेवा आश्रम सुर्खेतमा पुनःस्थापना गर्न जतिसक्दो चाँडो प्रदेश सरकारलाई अनुरोध गर्ने प्रशासनका अधिकारीहरुले बताएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.