दरबन्दीअनुसार जनशक्ति छैन, पूर्वाधार हालत पनि उस्तै

|

जुम्ला : दरबन्दी परिपूर्ति नहुँदा शान्ति सुरक्षा चुनौती व्यवस्थापनमा सकस पर्ने गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका अधिकारीहरूले बताएका छन्‌।

प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेका अनुसार अहिले जुम्ला जिल्लाका लागि २ सय ५० दरबन्दी छ। तर, जिल्लामा जम्मा २ सय ६१ प्रहरी खटिएका छन्‌। यी मध्ये पनि २३ दरबन्दी खाली नै छ। २६ जना विदामा बसेका छन्‌ भने ५१ जना जवान आधारभूत तालिममा छन्‌।  

अहिले जिल्लामा २७ वटा प्रहरी इकाई (युनिट) छ। तर, पर्याप्त जनशक्ति उपलब्ध छैन। सामान्यतया: एउटा इकाईमा कम्तिमा १० जना प्रहरी खट्नुपर्ने हुन्छ। तर, यहाँका कतिपय युनिटमा ६ जना प्रहरी बसेर सुरक्षा दिएका छन्‌।

​प्रहरी निरीक्षक एवम्‌ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भरतसिंह राठौरका अनुसार हाल कायम प्रहरी इकाईलाई पूर्णता दिन थप ९४ जना जनशक्ति आवश्यक छ।  दरबन्दी अनुसार प्रहरी जवान नहुँदा ड्युटी खटन-पटनमा समेत समस्या हुने गरेको उनले बताए।

आफैँ असुरक्षित

यतिखेर जुम्लामा हिमपात भएको छ। यहाँको तापक्रम माइनस ८ दशमलब ५ डिग्री सेल्सियस रहेको छ।

प्रहरीले ड्युटी गर्नुपर्ने अधिकांश चोकहरूमा प्रहरी बीट नै छैनन्‌। यसले गर्दा आफैँलाई असुरक्षा महसुस हुने गरेको प्रहरीहरू बताउँछन्‌। हिमपातमा कठ्याङ्ग्रिएरै ड्युटी गर्नुपर्ने बाध्यता प्रहरीहरूले भोगिरहेका छन्‌। 

राठौरका अनुसार १ जना प्रहरी जवानले  जुम्लामा ७ सय १५ जना नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपरेको अवस्था छ। अन्तरराष्ट्रिय मापदण्ड अनुसार १ सय नागरिकका लागि एक प्रहरी हुनुपर्छ।

महिला प्रहरीको संख्या पनि अपर्याप्त

जुम्ला जिल्लामा महिला प्रहरीको संख्या कम रहेको डीएसपी काफ्लेले बताए। उनले भने, 'जुम्लाका अधिकांश प्रहरी इकाईमा महिला प्रहरी छैनन्‌, जसले गर्दा महिलाका समस्या सधान हुन सकेको अवस्था छैन। दुर्गममा रहेका प्रहरी इकाईमा महिला प्रहरी नहुँदा महिला सम्बन्धीका उजुरी आउन सकेको छैन।' 

काफ्लेका अनुसार जिल्ला प्रहरी कार्यालयमै महिला प्रहरीको संख्या कम छ। एकतर्फ महिला सम्बन्धी उजुरी परेको खण्डमा पक्राउ गर्न गाह्रो हुने गरेको छ भने अर्कातर्फ महिला प्रहरी नहुँदा महिला हिंसाका उजुरी आउने गरेको छैन। जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला जिल्लाभर महिला प्रहरीको संख्या ११ जना छ।

सिसिटिभी आवश्यक

जुम्लाको शान्ति सुरक्षालाई चुस्त बनाउन सिसिटिभी आवश्यक रहेको प्रहरी अधिकारीहरूले बताएका छन्‌। यसको लागि विद्युत प्रवाह नियमित हुनुपर्छ।

तर, जुम्लाको चन्दननाथ नगरपालिकाभित्र रहेको खलङ्गा बजार लोडसेडिङको चर्को मारमा छ। बत्ती विहिन अँध्यारो जुम्लामा दिउँसोको समयमा समस्या नभए पनि रातको समयमा भने सुरक्षामा कठिनाइ हुने गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक राठोरले बताए।

विद्युत प्रवाह नियमित नहुँदा शान्ति सुरक्षा दिन र अपराध नियन्त्रण गर्न समस्या भएको तथा लागी नगरपालिकाले ड्युटीमा बसेका प्रहरीलाई न्यानोका लागि दाउरा व्यवस्थापन गर्न आवश्यक रहेको प्रहरी अधिकारीहरू बताउँछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.