जागिर गएपछि १० परिवारको उठीबास

|

भद्रपुर : विगत १६ वर्षदेखि मेची अस्पताल भद्रपुरको कार्यालय सहयोगी (स्विपर) मा कार्यरत भद्रपुर नगरपालिका ८ निवासी देवकली पासवान अहिले बेरोजगार भएकी छन्। 

सरसफाइ कर्मचारीको टेन्डर प्रक्रिया हटाएर अस्पताल प्रशासनले सञ्चालक तथा व्यवस्थापन समितिकै स्वामित्वमै रहने गरी स्विपर ज्यालादारीमा नियुक्त गरेपछि अन्दाजी ५० वर्षीय देवकली अहिले बेरोजगार भइन्। देवकलीजस्तै ७ देखि १६ वर्षसम्म अस्पतालकै सरसफाइको काम गर्दै आइरहेकी १० घरपरिवारले एकैचोटि रोजगार गुमाए। 

अस्पतालको सरसफाइ काममा १५ सय तलबमा प्रवेश गरेकी देवकलीको जागिर २०७६ पुस ९ गतेसम्म थियो। अस्पताल प्रशासनले १४ जना कार्यालय स्विपर नियुक्त गरेसँगै उनको जागिर चट भएको छ।

श्रीमान् नभएकी देवकली दुई छोरी, एक छोरा र नातिनातिना लिएर भाडा घरमा बस्दै आएकी छन्। ‘ज्वाइँले छाडेपछि दुवै छोरी मसँग बस्दै आएका छन्,’ आखाँभरि आँशु झार्दै उनले भनिन्, ‘एउटा छोरा छ, त्यसले पनि काम गर्दैन, परिवार पाल्ने सबै मेरो जिम्मामा थियो, अब कसरी परिवार पाल्नू?’

१५ सय तलब हुँदा अस्पतालको सरसफाइ काममा छिरेको बताउँदै उनले भनिन्, ‘अहिले ६ हजार ८ सय तलब पाउँथें, त्यही रकमले जसोतसो परिवार चलाउँदै थिएँ, तर अब त्यो पनि नहुने भएपछि कहाँ जानू, कसले काम दिन्छ यो उमेरमा?’ 

‘सरकारी जागिरमा १६ वर्ष काम गर्दा पेन्सन पाइन्छ, अस्पतालमा १६ वर्ष सेवा गर्दा उल्टै जागिरबाट निकालियो,' उनले भनिन्, ‘जागिरबाट निकालेकी हामीलाई ६ हजार ८ सय तलब दिए पुग्छ, हामीलाई १४–१५ हजार तलब चाहिँदैन।’ 

अस्पतालमै १५ वर्ष काम गरेकी विमला हरिजनको पीडा पनि उस्तै छ। उनको पनि श्रीमान छैन। दुई छोरा छन्। तर, छोराहरूले उनलाई हेर्दैनन्। विमलाले अस्पतालमै काम गरेर जीवन गुजार्दै आएकी थिइन्।

अहिले उनी पनि बेरोजगार भएकी छन्। ‘अब ऋणको रकम कसरी तिर्नू, पेट कसरी पाल्नू, हामीलाई अरू काम गर्न आउँदैन, गर्न जाँदा पनि काममा राख्दैन,' विमलाले भनिन्, ‘मर्नेमा बेलामा अस्पतालले  जागिर खोसेर तिमीहरू अहिले नै मरिजा भनेर छाडिदियो।’

७ वर्षदेखि काम गर्दै आइरहेकी अनिसा पासवानको अभिभावक भन्ने नै कोही छैन। उनको आमाबुबाको निधन भइसकेको छ। दुई जना दिदी पनि विवाह भएर गइसकेके। अस्पतालमै जागिर गरेर उनी पनि जसोतसो गुजारा गर्दै थिइन्।

त्यस्तै १० वर्षदेखि काम गर्दै आइरहेकी नेहा खातुन कोरोना संक्रमणको अवस्थामा कोभिड उपचार केन्द्रमा दिनरात खटिइएकी थिइन्। आफ्नो ज्यानको बाजी राखेर संक्रमणको रेखदेख तथा सरसफाइमा खटिए पनि अस्पतालले उनलाई अन्ततः जागिरबाट हटायो।

नेहाको आमाबुबा र एउटा भाइ छ। परिवार नै आफूले चलाउनु परेको उनले बताइन्। ‘अब जागिर छैन, के गरेर खानु समस्या पर्यो,' उनले भनिन्। अस्पतालले उनीहरूजस्तै १६ वर्षदेखि काम गर्दै आएकी अश्लीया हरिजन, १० वर्ष काम गरेकी रेखा कामती, गुडिया कामती, ७ वर्ष काम गरेकी दिव्या मण्डल, ६ वर्ष काम गरेकी ललिता कामतीको परिवारको जागिर खोसेको छ। उनीहरू सबैको स्थानीय ठेगाना भद्रपुर ५ र ८ हो। 

व्यक्ति हेरेर जागिर दिएको पीडितहरूको आरोप

मेची अस्पताल भद्रपुरले २०७६ मंसिर २४ गते  ज्यालादारीमा सुरक्षा गार्ड र स्विपर​ कर्मचारी माग गरी सूचना प्रकाशन गरेको थियो। सूचनामा १५ जना सुरक्षा गार्ड र १४ स्विपरको दरबन्दी खुलाएको थियो।

दुवै पद गरी एक सय बढीले फारम भरेका थिए। फारम भर्ने बेलामा पुराना कर्मचारीलाई राख्ने भनेर अस्पताल प्रशासनले सबैलाई आश्वासन दिएका थिए। त्यसपछि त्यहाँ कार्यरत सबैले फारम भरेर परीक्षामा सामेल भएका थिए। तर, अस्पताल प्रशासनले पुस ७ गते कर्मचारी नियुक्त भएका उम्मेदवारको नाम प्रकाशन गरेको थियो। जहाँ स्विपर पदमा पुराना पाँच जनाबाहेक कसैको नाम परेन।

लामो समयदेखि काम गरिरहेका स्विपरलाई हटाएर छोटो समयका लागि सोर्सफोर्समा जागिर खाने व्यक्तिलाई नियुक्त गरिएको पीडित महिलाहरूको गुनासो छ।

अस्पतालमा पुर्जा काट्ने, ओटी वा प्रशासनमा बस्ने, डाक्टरको घरमा भाडा माझिदिने र एउटै परिवारका अन्य सदस्यलाई जागिर दिएको भेटिएको उनीहरू बताउँछन्।

१४ जनामध्ये केहीलाई परिवारको अवस्था हेरेर जागिर दिएकोमा कुनै आपत्ति नभएको बताउँदै गुडिया कामतीले भनिन्, ‘परीक्षाको बहानामा स्विपर पदका कर्मचारी नियुक्त गरेर अस्पताल प्रशासनले आफ्नो प्रक्रिया मात्र पूरा गरेको हो, यो सब पहिलादेखि नै सेटिङ थियो, स्विपर पदमा पुर्जा काट्ने, भाँडा माझ्ने, अस्पतालमै जागिर खाइरहेका सदस्यका परिवारलाई जागिर दिएको छ।’

ती पदमा बसेकाले सरसफाइको काम गर्नुपर्ने होइन भन्दै कामतीले भनिन्, 'तर हाम्रै पुराना दुई जना साथीले सम्पूर्ण अस्पतालको सरसफाइ गरिरहेको सुन्नमा आएको छ, यो कतिसम्मको जायज हो।’

उनका अनुसार एकै पटक १० जना सरसफाइका कर्मचारीलाई जागिरबाट निकाल्दा अस्पतालको सरसफाइको काम पनि राम्रो तरिकाले हुन सकेको छैन। 'अस्पतालले जागिर दिएका हाम्रा दुई साथी रुना हरिजन र किरण हरिजनलाई मात्र बिहान ८ देखि दिउँसो २ बजेसम्म सरसफाइको काममा खटाइएको छ। अरू नियुक्त भएका कर्मचारी बिहान १० बजे आउने, अस्पतालको काम गर्ने अनि जाने मात्र गरिरहेको बुझ्नमा आएको उनले बताइन्।   

कुन पदमा रहेकाले जागिर पाए ?

स्विपर ज्यालादारीमा खेमकुमारी दास, जानुका पौडेल, नवीन सिंह, जीवनकला कुइँकेल, राधा तामाङ, निर्मला, महत, सपना, बोहोरा महत, किरण हरिजन, अशोक जमदार, कुमारी हरिजन, रुना हरिजन, रानी कामती, सुमित्रा लिम्बू, र कला राईलाई नियुक्त गरेको अस्पताल प्रशासनले जनाएको छ।

यसमध्ये रुना हरिजन, अशोक हरिजन, किरण हरिजन, कुमारी हरिजन र कला राई पहिला देखि नै स्विपरमै कार्यरत थिए। योबाहेक स्विपरमा नियुक्त भएका नवीन सिंह मेची अस्पताल एम्बुलेन्स चालकका भाइ हुन्।

खेमकुमारी दास ल्याबमा रगत तान्ने काम गर्छिन्। जानुका पौडेल बिरामीको रिफर कागजमा छाप लगाउँछिन्। जीवनकला कुइँकेल एक्सरे फाँट र काउन्टरमा बस्छिन्। सपना बोहोरा महतको सासू र ससुरा अस्पतालका स्थायी जागिरे हुन्। रानी कामती डाक्टरको घरमा भाँडा माझ्ने र ओटीमा काम गर्छिन्। सुमित्रा लिम्बूको सासू र तीन जना नन्द अस्पतालमा जागिरे छन् भने ससुरा अस्पतालका पूर्वकर्मचारी हुन्।  

के भन्छन् अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट? 

अस्पतालले सरसफाइको ठेक्का लगाउँदा ठेकेदारले २९ जना स्विपरलाई सरसफाइको काममा खटाएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा पीताम्बर ठाकुरले बताए। ठेकेदारले खटाएका स्विपरले राम्रो काम नगर्ने र आर्थिक भार पनि बढेर गएकोले यस वर्षदेखि सरसफाइको जिम्मा समितितर्फ ल्याइएको ठाकुरले बताए। 

सरकारले तोकेको मापदण्डअनुसार तलब दिनुपर्ने भएकोले सङ्ख्या घटाउनुपरेको उनको भनाइ छ। उनका अनुसार कर्मचारी छनोट प्रक्रियामा गएकामध्ये योग्य व्यक्तिलाई नै छनौट गरिएको हो।

हाल कामबाट वञ्चित भएकालाई विस्तारै पुनर्स्थापना गरिने उनले बताए। एउटै परिवारका धेरै व्यक्तिलाई जागिर दिएको भन्ने विषयमा उनीसँग जिज्ञासा राख्दा उनले भने, ‘खुला प्रतियोगिता भएकोले योग्य व्यक्ति आएको हो, समितिले गरेको निर्णयभन्दा बाहिर जान मिल्दैन।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.