|

काभ्रे : नेपाललाई धेरै नामले चिनिन्छ। ती मध्ये एक नाम हो : मन्दिरहरूको देश। राजधानी काठमाडौं झन्‌ त 'सिटी अफ टेम्पल'कै नामले प्रशिद्ध छ। 

काठमाडौं नजिककैको काभ्रेलाई पनि मन्दिरहरूको शहर भन्दा फरक पर्दैन। बनेपाको समृद्ध सांस्कृतिक सम्पदाको तानमा दैनिक जनजीवन बुनिएको छ। बनेपा व्यापारिक केन्द्र त हुँदै हो, साथै सांस्कृतिक सम्पदाको केन्द्र पनि हो। यहाँको ऐतिहासिक सांस्कृतिक सम्पदाको गहिराइ संस्कृतिविद्‌ र पुरातत्वविद्‌हरूले पनि भेट्न सकेका छैनन्‌।
बनेपा चाण्डेश्वरी क्षेत्रका मन्दिर, धानेश्वर मन्दिर र पनौतीका मानेश्वरी मन्दिरदेखि लिएर जिल्लाको धुलिखेल लगायत व्यस्त सडक छेउछाउमा स्थापित सांस्कृतिक सम्पदाले आम मानिसलाइ लट्ट्याइरहेको हुन्छ। त्यसमाथि रातको समयमा मन्दिरका दृश्य झन् निकै सुन्दर र मनमोहक देखिन्छन्‌।
यस अपूर्व सम्पदाले काभ्रेलाई लोकप्रिय पर्यटकीय गन्तव्यस्थल बनाएको छ। तर, यसलाई उचित जगेर्ना, मर्मत-सम्भार र संरक्षण गर्न जरूरी देखिएको छ। २०७२ सालको विनाशकारी महाभूकम्पले क्षतिग्रस्त सम्पदा पुन:निर्माणका काम भने भइरहेका छन्।
काभ्रेका सांस्कृतिक सम्पदास्थलहरूकै कारण व्यापार-व्यवसायमा पनि उभार आउने गरेको छ। चण्डेश्वरी र पनौतीको जात्राका बेला अन्य समयमा भन्दा व्यापार व्यवसाय दोब्बर बढी हुन्छ। झन्, पनौतीमा त १२ वर्षमा एकपटक लाग्ने मकर मेला एक महिनासम्म चल्छ। यो बेला जात्रा स्थलमा हुने व्यवसायिक कारोबारको आकार निकै फराकिलो हुनेगर्छ।
बनेपा बजारभित्र मात्रै साना ठुला गरी १ सयभन्दा बढी मठ-मन्दिर रहेका छन्। त्यस्तै, परम्परागत नेवारी तथा यस क्षेत्रका अन्य मौलिक वास्तुकलाको संरचनाले मन्दिरलाई थप सुन्दर र आकर्षक देखाउँछ। 
यस्ता महत्त्वपूर्ण सम्पदाहरूको संरक्षण र स्तरोन्नति भएमा बाह्य पर्यटन गन्तव्यस्थल बन्न सक्ने सम्भावना पनि उत्तिकै छ। भूकम्पपछि देशका सांस्कृतिक सम्पदाहरू भत्किएको र त्यसको पुन:निर्माणले गति लिन नसक्दा विश्वसम्पदा सूचीमा रहेका सांस्कृतिक गहनाहरू सूचीबाटै बाहिरिने खतरा बढिरहेको छ। यस्तो अवस्थामा पनौती विश्व सांस्कृति सम्पदाको सूचीमा सूचीकृत हुने अन्तिम अवस्था पुग्नु काभ्रे र काभ्रेली जनताका निम्ति खुशीको कुरा हो। 
धुलिखेल र नमोबुद्ध लगायत केही महत्वपूर्ण पर्यटकीय स्थल केही साता अघिदेखि खुल्न थालेका छन्। जसले पर्यटकलाई अभूतपूर्व सांस्कृतिक सम्पदासम्म पुगेर त्यसको अवलोकन गर्ने मौका दिनेछ। सांस्कृतिक सम्पदामा हुने लगानीले काभ्रेको समृद्धिको जगका रूपमा काम गर्न सक्छ।

थप तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.