सल्यान : जिल्लाको कालिमाटी गाउँपालिका-५, दमदुवालीका सुरेश गाहामगर पेसाले शिक्षक हुन्। जनता माध्यमिक विद्यालय दुवदुवालीमा कार्यरत मगरले व्यवासायिक बाख्रापालन समेत गर्दै आइरहेका छन्।
कृषिपेशा केही गर्न नसक्ने व्यक्तिले गर्ने व्यवसाय ठान्ने र शिक्षकले कृषिमा हात हाल्नुहुँदैन भन्ने सामाजिक प्रवृत्तिलाई हटाउन पनि आफूले बाख्रापालन गरिरहेको उनले बताए।
९ वटा बाख्राबाट पालन शुरू गरेका उनको फर्ममा अहिले १ सय ५ वटा उन्नत (बोयर) जातका बाख्रा छन्। बाख्रापालनबाट मात्रै मगरले वार्षिक ७ लाख रुपैयाँसम्म आम्दानी गर्दै आइरहेका छन्। उनले भने, ‘विद्यालय बाहेकको पूरै समय बाख्राको स्याहासुसारमै बित्ने गरेको छ। बजारमा माग बढ्दै गएपछि व्यावसायमा हौसला मिलेको छ।’
माग र मूल्य बढ्दै गएपछि शिक्षण पेशासँगै बाख्रापालन गरिरहेको उनले बताए। शुसान्त एवं शुसाङ्क ब्रदर्श एग्रिकल्चर फर्म स्थापना गरी २०७० सालदेखि बाख्रापलन शुरू गरेका उनले गाउँ-गाउँमा सडक पुगेसँगै व्यापारीले गोठबाटै खसीबोका खरिद गर्ने गरेको बताए।
झन्डै २ दशकदेखि शिक्षण पेशामा आवद्ध मगरले बिहान-बेलुकीको समयमा बाख्रा चराउने र घाँस काट्ने गर्छन्। पहिलेदेखि नै सामान्य रूपमा बाख्रापालन गर्दै आइरहेको र व्यवसायिक रूपमै पाल्ने इच्छा भएपछि धेरै ठाउँका फर्म अवलोकन गरेको पनि उनले जानकारी दिए। उनले भने, ‘प्रशस्त सम्भावना भएपछि परम्परागत बाख्रापालन व्यावसायिक रूपमा नै गर्न थालेको हुँ।’
२ जनालाई रोजगारी
आफ्नै परिवारका १२ जना सदस्य बाख्रापालनमा रहेतापनि मगरले थप २ जनालाई पनि रोजगारी दिएका छन्।
नजिकै वनजंगल भएको र घाँसखेती गरेकाले बाख्रापालनमा समस्या नरहेको उनको भनाई छ। पैसा कमाउन विदेशमा नै जानुपर्छ भन्ने मान्यतालाई तोड्न पनि २ युवालाई रोजगारी दिएको उनले बताए।
खरी जातका बाख्रालाई विस्तारै हटाएर बोयर जातको बाख्रा पाल्ने योजना अनुसार लगानी समेत बढाउँदै गएको उनको भनाई छ। उनले भने, ‘स्थानीय जातका बाख्रा विस्तापित गरेर अहिले मसँग शतप्रतिशत, ८० प्रतिशत ५० प्रतिशतका बोयर जातका बाख्रा रहेका छन्।’
स्थानीय जातको बाख्राभन्दा बोयर जातका बाख्राबाट आम्दानी छिटो र बढी लिन सकिने उनको भनाई छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।