न छिटो-छरितो, न विकेन्द्रित सेवा

|

काठमाडौं : स्वयम्भू सितापाइलामा बस्दै आएका ओखलढुंगाका हस्तबहादुर राईले सामान ढुवानी गर्ने पीकअप भ्यानको प्रदूषण जाँच गरेको एक वर्ष पूरा भयो। हरेक वर्ष प्रदूषण जाँच गर्नुपर्छ। उनी बुधबार बिहानै साढै पाँच बजे यातायात व्यवस्था कार्यालय एकान्तकुनामा लाइन लाग्न पुगे।

६ घण्टा लाइनमा बस्दा पनि उनको पालो आएन। ‘प्रदूषण जाँचको धेरै मान्यता छ, एक दिन समय लागेपनि लाइनमा बसेर सवारी जाँच गर्नुपर्ने बाध्यता छ,’ उनले भने, 'अहिले काठमाडौंमा प्रदूषण बढ्यो भन्छन्‌, धुवाँ फाल्‍ने सवारीसाधन जाँच गर्ने ठाउँको हालत यस्तो छ, त्यहीमाथि मिलेमतोमा प्रदूषण जाँचपास हुन्छ भन्ने सुनिन्‍छ, अनि किन नहोस्‌ प्रदूषण !' 

यातायात कार्यालयमा एक ठाउँमा मात्रै सवारी जाँच गर्ने ठाउँ भएकाले धेरै सेवाग्राहीलाई सास्ती हुने गरेको छ। सवारीको लाइन कार्यालयदेखि ललितपुरको महालक्ष्मी चोकसम्म पुग्ने गर्छ।

‘सरकारले बनाएको नियम पालना गर्नैपर्‍यो,’ उनले भने, ‘जहाँ पनि प्रदूषण स्टीकरको महत्व छ, धेरै समयसम्म लाइनमा बस्नुपर्छ भनेर आज एक दिन पूरै यही कामका लागि छुट्याउनुपर्‍यो।’ उनी विभिन्न सामग्रीहरू ढुवानी गर्छन्‌। तर, सवारी जाँचमा भएको ढिलाइले उनलाई एकैदिन करिब २५ सय रुपैयाँ घाटा लाग्दैछ।

प्रदूषण जाँचकै लाइनमा बसेका ट्याक्सी चालक ओमप्रसाद दंगालले एक ठाउँमा मात्रै भएकाले दिनभर नै लाइनमा बस्नुपर्ने बाध्यता रहेको बताए। उनले भने, ‘पाँच बजे आएको थिएँ, अझै मेरो पालो आउन दुई घण्टा लाग्ला, अरु पनि जाँच गर्ने ठाउँ भएको भए यस्तो सास्ती हुने थिएन।’

सवारी प्रदूषण जाँचका लागि लाइनमा बसिरहेका अर्का जावलाखेलका नवराज तामाङले भित्रभित्रै दलाली काम हुँदा आफूहरूलाई सकस परिहेको बताए।

‘लाइनमा बसेको पाँच घण्टा भैसक्यो,’ उनले भने, ‘कतिखेर पालो आउने हो, थाहा नै छैन। भित्रभित्रै सेटिङ मिलाएका हुन्छन्‌, हामी यहाँ सास्ती खेप्न बाध्य हुन्छौँ।’

सवारीसाधनबाट निस्किएको धुवाले वायु प्रदूषण 

पुस २० गतेदेखि मौसममा आएको बदलीसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढेको छ। विज्ञहरूले अनावश्यक रुपमा बाहिर हिँडडुल नगर्न आग्रह गरिरहेका छन्। प्रदूषण हुनुमा हानिकारक धुवाँ फाल्ने सवारीसाधन पनि कारक हो।

वातावरण विभागका उपनिर्देशक इन्दुविक्रम जोशीले पुराना यातायातका सवारीसाधनबाट निस्कने धुँवाले वायु प्रदूषण गरिरहेको बताए। पछिल्लो समय उपत्यकामा सवारीको चाप बढेकोले प्रदूषण बढेको उनको दाबी छ। 

काठमाडौं उपत्यकामा दैनिक ६ लाखभन्दा बढी संख्यामा सवारीसाधन गुड्ने गरेको यातायात व्यवस्था विभागको तथ्यांकले देखाएको छ। बागमती प्रदेशमा मात्रै ९ लाखभन्दा धेरै सवारीसाधनहरू सञ्चालनमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.