चिसो मौसममा काठमाडौंमा बढी प्रदूषण

|

काठमाडौं : उपत्यकामा वायु प्रदूषण बढेसँगै काठमाडौंको वातावरण मानव बस्ती सदाको लागि चुनौती बन्दै गएको छ।

आइक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स एक्यूआई) ३७२ पुगेको थियो। आज मौसम खुलेसँगै पौने १२ बजेसम्म एयर क्वालिटी इन्डेक्स १ सय ९२ (एक्वुआई) मा झरेको छ।

दुई दिनयता काठमाडौंको आकाशमा धुम्म परेको र तुवाँलो लागेको थियो। बुधबार बिहानैदेखि भने आकाश खुल्दै गएको र घाम लागेको छ। मानव स्वास्थ्यलाई असर गर्ने वायु प्रदूषण बढेपछि भविष्यमा उपत्यकाबासीको मात्र नभई मुलुकभरको अन्य सहरको जनजीवनमा असर पर्ने त होइन भन्ने शंका उब्जिन थालेको छ। वायु प्रदूषणको कारण मानव बस्ती जोखिममा पर्ने सम्भावना बढदै गएको छ। विभिन्न रोग लागी स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको छ।

पछिल्लो पाँच वर्षयता पहिलोपटक काठमाडौंमा प्रदूषण बढेको हो। २०१६ मा पनि सहरका मुख्यमुख्य भागमा प्रदूषण बढेको थियो। प्रदूषण नियन्त्रण तथा यसको जोखिम घटाउन वातावरण विभागले विभिन्न कार्यक्रम सार्वजनिक गरेको थियो।

विद्युतीय गाडी, इँटा उद्योग बन्द गर्ने, वृक्षरोपण गर्ने र २० बर्से पुराना गाडीलाई प्रतिबन्ध लगाउनेजस्ता कार्यक्रम सार्वजनिक गरेको थियो। जाडो मौसममा वातावरण नै धुम्मिन जाँदा यहाँको वायुमा भएको धुलो र धुवाँका कणा बाहिर जान नसकेको र पानी नपर्नाले धुलो र धुँवा पृथ्वीको सतहमाथि रहने गरेको छ।

पटक-पटक वायु प्रदूषण हुने गरे पनि यसको नियन्त्रण गर्न सरकारले खासै चासो दिएको छैन। उपत्यकामा सबैभन्दा बढी मानव बस्ती रहेको र संघीय सरकारको प्रत्यक्ष उपस्थित रहने कार्यालय रहे पनि वातावरण प्रदूषण नियन्त्रण गर्न निष्प्रभावी बन्दा प्रदूषण झनै बढेको हो। 

'चैत-वैशाखसम्म वायु प्रदूषण रहन्छ'

काठमाडौंमा देखिएको प्रदूषणको मापन चैत वैशाखसम्म रहने विभागका उपनिर्देशक इन्दुविक्रम जोशी बताउँछन्। पानी नपरेसम्म यहाँको अवस्था यस्तै रहने उनको भनाइ छ। उनले भने, 'अहिले पनि यहाँको वातावरण र वायुको अवस्था स्वास्थ्यका लागि जोखिम छ। अहिले पनि मुलुकका विभिन्न सहर प्रदूषणको उच्च जोखिममा छन्। हिजो मात्र हेटौंडाको एयर क्वालिटी इन्डेक्स चार सय थियो। अहिले भने कम हुँदै गएको छ।'

अहिलेको अवस्थामा प्रदूषणको इन्डेक्स रहने हो भने तत्कालै जोर-बिजोर अनुसार सवारी नचलाउँदा पनि हुने उनको भनाइ छ।

पुराना यातायातका सवारीसाधनबाट निस्कने धुवाँले वायु प्रदूषण गरिरहेको जोशीले बताए। पछिल्लो समय उपत्यकामा सवारीको चाप बढेकोले प्रदूषण ह्वात्तै बढेको उनको दाबी छ। युरो फोर स्टडन्याडर्डको इन्धनको प्रयोग गर्न उनले सुझाव दिए। कच्चा डिजेल र पेट्रोलबाट निस्कने धुवाँ वातावरण प्रदूषण गराउन मुख्य भूमिका हुने उनले जानकारी दिए।

अहिलेको जस्तो प्रदूषण आज भन्दा पाँच वर्ष अगाडि पनि भएको उनले उल्लेख गरे। प्रदूषण न्यूनीकरण गर्न वृक्षरोपणभन्दा पनि वैकल्पिक यातायात साधन(विद्युतीय सवारी) प्रभावकारी हुने बताए। 

'चिसो मौसममा धुलाका कणहरु बाहिर जान पाउँदैनन्'

मुख्यतयाः अहिले वायु प्रदूषण बढ्नुको कारण मौसम नै रहेको वातावरणविद् भूषण तुलाधर बताउँछन्। चिसो मौसम भएकोले यहाँको मौसमले वायुमा रहेका कणहरु बाहिर जान नपाउँदा पनि एक्कासि प्रदूषण बढेको उनले बताए।

भने, 'चिसो मौसममा काठमाडौंमा बढी प्रदूषण उत्पन्न हुन्छ। आगो ताप्ने र फोहोर बाल्ने भएकोले प्रदूषण हुन्छ। आयातित फोहोरले पनि यहाँ प्रदूषण बढाउँछ। डढेलोबाट आएक धुवाँले पनि फोहोर बनाउने गरेको छ।'

वायु प्रदूषणको असर मानव स्वास्थ्यम देखिने उनको तर्का छ। आँखा पोल्ने फोक्सोमा असर पर्न सक्ने उनको भनाइ छ। स्वास्थ्यको उच्च जोखिमममा रहने वर्गलाई बढी असर गर्ने हुँदा यस्ता मानिसलाई सुरक्षित रहन उनले आग्रह गरे। 

'वायु प्रदूषणले क्यान्सर पनि गराउँछ'

'वातावरण फोहोर भएमा मानव स्वास्थ्यमा असर गर्ने भनेको नै श्वासप्रश्वासमा हो,' छाती तथा क्यान्सर रोग विशेषज्ञ मदन कुमार पिया भन्छन्,' सामान्य मानिसदेखि सबै उमेर समूहका मानिसलाई असर गर्छ।'

दमजस्ता रोग भएका मानिसलाई यसले छिटो असर गर्ने डा.पियाको दाबी छ। फोक्सोमा असर गरी लामो समयसम्म प्रभाव पार्ने उनले जानकारी दिए। वायु प्रदूषणले क्यान्सरजस्ता भयानका रोग पनि लाग्ने उनको भनाइ छ। रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई असर गर्ने उनी बताउँछन्।

वायु प्रदूषण नबढाउन आगो नबाल्ने र चुरोट खाने मानिसको वरिपरि नबस्न पनि उनले सुझाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.