पुराना यातायातका साधन हटाउन सकेन

|

काठमाडौं : संघीय राजधानी काठमाडौंमा केही दिन यतादेखि वायु प्रदूषण बढेको छ। मंगलबारदेखि काठमाडौंको वायुमा प्रदूषण बढन थालेकोले काठमाडौं बासीलाई केही असहज महसुस भएको थियो। एयर इन्डेक्सको तथ्यांक अनुसार बिहिबार काठमाडौंको वायु प्रदूषणको मात्रा १ सय ७२ छ।

वातावरण सफाइ तथा प्रदूषण नियन्त्रण गर्न काठमाडौं महानगरपालिका असफल हुँदै गएको छ। सम्पूर्ण सरकारी कार्यालयहरु भएको महानगरभित्र वातावरण सफा,सुन्दर र हरियाली बनाउन असफल हुँदा महानगरपालिका फोहोर तथा प्रदूषणको मुख्य स्रोत जस्तै भएको छ। महानगरले आफ्नो क्षेत्रमा वातावरण सफा राख्न नसक्दा पनि प्रदूषण बढेको हो। त्यसमाथि सरसफाइ जस्ता काम विरलै हुने गरेकाले पनि प्रदूषण झनै बढेको हो। 

गत आवमा महानगरपालिकाले वातावरण सरसफाई तथा व्यवस्थापनको लागि साढे २४ करोड बजेट विनियोजन गरेको थियो। महानगरपालिका क्षेत्रमा वातावरण सफा राख्न तथा प्रदूषण नियन्त्रणका ठोस कार्यक्रम नबन्दा अहिले दिनप्रतिदिन प्रदूषण बढिरहेको छ। महानगरभित्र सञ्चालित पुराना गाडी मात्र हटाउन सके पनि वायु प्रदूषण कम हुन्छ। 

महानगरभित्र सञ्चालित २० बर्से पुराना सवारीसाधन  नहटाउँदा र त्रिपुरेश्वरदेखि रानीपोखरीसम्म गरिएको वृक्षरोपणसमेत संरक्षण गरिएको छैन। जसले वृक्षरोपण गरेको ठाउँबाट विरुवा गायब भइसके। महानगरले हरित गृह निर्माणभन्दा पनि सडक सफाइलाई निरन्तरता दिइरहेको छ। महानग‍रभित्र प्रदूषण नियन्त्रण गर्न ठोस योजना नै नबन्दा प्रदूषणको मात्रा झनै बढेको हो। 

'विद्युतीय सवारीसाधन सञ्चालन गर्न नसक्दा पनि वायु प्रदूषण'

महानगरपालिका भित्रका वातावरण सफा, स्वच्छ तथा सडक सफाइ र फोहोर व्यवस्थापन गर्नु पहिलो प्राथमिकतामा रहेको वातावरण व्यवस्था विभागका प्रमुख हरि कुमार श्रेष्ठ बताउँछन्। महानगरपालिका भित्र सञ्चालित पुराना सवारीसाधन हटाउने प्रक्रिया अगाडि बढिसकेको उनले बताए। अहिले थोरै मात्र धुवाँरहित साना यातायातका साधनहरु सञ्चालित छन्। ग्यास टेम्पु र हरियो साना माइक्रो महानगरभित्रको रत्नपार्कदेखि विभिन्न स्थानमा गइरहेका छन्।

'डिजेलबाट सञ्चालित साना ट्रयाक्टर र पुराना सार्वजनिक यात्रुको प्रदूषण मापन गरी सञ्चालन गर्न दिनलाई यातायात व्यवस्था विभागलाई अनुरोध गरिएको छ,' श्रेष्ठले भने,' महानगरपालिकाको पुरानो सवारीसाधनलाई पनि समयमा व्यवस्थापन गर्ने गरिएको छ। महानगरले विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भनेपनि त्यसलाई कार्यान्वयन गर्न नसक्नु पनि एउटा कमजोर पक्ष रहेको छ।'

जाडो समयमा आगो ताप्दा धुवाँ आउने भएकोले नबाल्न पनि आग्रह गरिएको उनी सुनाउँछन्। महानगरका विभिन्न वडामा सुकुमबासी बस्तीका मानिसले बढी फोहोर गर्ने भएकोले त्यस्ता ठाउँमा वातावरण सफा सुग्घर गर्न सचेत गराइएको उनले जानकारी दिए।

वातावरणको क्षेत्रमा बजेट पनि कम छुट्टयाएको श्रेष्ठले बताए। पर्याप्त मात्रामा वातावरण सफाइ र स्वच्छ राख्न लागि वातावरणको क्षेत्रमा काम गर्न नसकिरहेको  उनले स्वीकारेका छन्। महानगर बासीको घरबाट उत्पादित फोहोरलाई जहाँसुकै फाल्न प्रतिबन्ध लगाइएको उनको भनाइ छ।

महानगरको भित्री र मुख्य सडकलाई सफा राख्न ब्रुमर सञ्चालन गर्ने गरिएको छ। पाँच वटाभन्दा बढी ब्रुमरले सफाइको काम गरिरहेको छ। पुरानो बसपार्क र धरहरा पुन निर्माणले पनि धुलो बनाउने गरेकोले काठमाडौंको वातावरणमा केही प्रभाव परेको हुन सक्ने उनको दाबी छ। मौसम प्रतिकूल रहेकोले पनि काठमाडौंमा वायु प्रदूषण ह्वात्तै बढेको उनको भनाइ छ।

महानगरले वातावरण हरियाली बनाउन पार्क निर्माणको अभियान थालेको छ। यस वर्ष मात्र ७५ लाख १५ हजार ७ सय ८५ पैसामा अनामनगर, तीनकुने, सभागृह, काठमाडौं प्लाजा र नक्सालमा पार्क बनाउनलाई प्रक्रिया बढाइसकेको छ।

'महानगर वातावरण जोगाउनभन्दा पनि विकास निर्माणमा लाग्यो'

वातावरण जोगाउनभन्दा पनि अहिले पूर्वाधार निर्माण गर्नमा महानगरको ध्यान गएकोले पनि महानगरभित्रको वातावरण प्रतिकूल बन्दै गएको वातावरणविद् अनिल चित्रकार बताउँछन्। विकास निर्माण गर्दा जथाभावी भवन तथा पुल निर्माण गरेसँगै दुई-चार वटा बिरुवा पनि रोप्न चलन चलाउनुपर्ने उनको भनाइ छ। काठमाडौंका अधिकांश भाग महानगरभित्र भएकोले महानगर आफैं जिम्मेवार भएर वातावरण प्रदूषण हुन नदिन अग्रसर हुनुपर्ने  उनको ठम्याइ छ।

महानगरको वातावरणलाई स्वच्छ राख्न विद्युतीय सवारीसाधन सञ्चालन गर्नुपर्ने उनको ठहर छ। महानगरभित्र सञ्चालित पुराना सवारीसाधन हटाउन सके मात्र महानगरभित्र स्वच्छ वायु वहन सक्ने उनी तर्क गर्छन्। 

'स्वच्छ र सफा वातावरण संकटमा पर्दै गएकोले त्यसलाई संरक्षण गर्न महानगरले पहिलो प्राथमिकतामा राख्नुपर्छ, 'चित्रकारले भने, 'वातावरण संरक्षणका लागि महानगरपालिकाले बजेट बढाउनुपर्छ। विकास निर्माण गर्दा वातावरणलाई प्रतिकूल असर नगर्ने गरी काम गर्नुपर्छ।'

वायु प्रदूषणका लागि काठमाडौं पहिलो स्थानमा परिसकेकाले त्यसलाई न्यूनीकरण गर्न योजना बनाउनलाई उनले सुझाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.