|

कपिलवस्तु : १४ वर्ष जेल र २ वर्ष कडा सेलमा बसेका प्रधानमन्त्री ओलीलाई लोकतन्त्रविरोधी भन्नु लोकतन्त्रको अपमान भएको  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्। 

प्रदेश सरकारको पहिलो ठूलो योजनाअन्तर्गत कपिलवस्तुको विजयनगरमा निर्माण सम्पन्न आरटिओ सडक उद्घाटन गर्न पुगेका मुख्यमन्त्री पोखरेलले सरकारको प्रशंसामा समय खर्च गरेका थिए।

उनले प्रधानमन्त्री ओली विकासवादी भएको दाबी गर्दै भने, ‘प्रधानमन्त्री ओलीको नेतृत्वले सडक, शिक्षा, सञ्चार, सिँचाइ, कृषि, पूर्वाधारलगायत क्षेत्रमा विकास गरेको छ। विकास नभएको क्षेत्रमा कम्युनिस्ट सधैँ ह्रास सहनुपरेको छ। त्यसैले सरकारले कम्युनिस्टप्रति आकर्षण बढाउन पिछडिएका क्षेत्रमा विकासका काम गरेको छ।’ 

उनले कपिलवस्तुको विकासको लागि सरकारले ठूला योजना सञ्चालन गरेको समेत बताए। ‘कपिलवस्तुका लागि हुलाकी राजमार्ग, प्रदेशस्तरीय सरुवा रोग अस्पताल, तिलौराकोट गुरुयोजना पछिको निर्माणले कपिलवस्तुमा कायापलट हुनेछ। जिल्लामा सिँचाइका लागि नौमुरे जलाशय आयोजनाको डिपिआर तयार भएको छ। नौमुरे आयोजनाको उठान प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री भएको बखतमा गर्नु भएको थियो। भारतको चाहाना राप्तीको पानी भारततर्फ लैजाने थियो,' उनले भने। 

तर पानी कपिलवस्तु ल्याउने ओलीको अडानका कारण भारतबाट अवरोध आएको पनि उनले दाबी गरे। नौमुरे आयोजनाको ड्यामबाट राप्तीमा ठूलो तलाउ बनाएर प्रदेश राजधानी राप्ती उपत्यकालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने समेत उनले आश्वासन दिए। 

तीन वर्षभित्र भूमिहीनले लालपुर्जा पाउँछन्

सुकुमबासी र अव्यवस्थित बसोबास गर्दै आएका सबै नागरिकले ३ वर्षभित्र लालपुर्जा पाउने पनि उनले दाबी गरे। यसका लागि स्थानीय सरकारसँग सहकार्य भई लगत लिन सुरु गरिएको उनले जानकारी दिए। 

'भूमिहीनलाई लालपुर्जा दिनका लागि पटक पटक भोट मागियो। विपक्षीले सधैँ अदालतमा मुद्दा हालेर काम गर्न अवरोध गरे। सधैको अवरोध हटाउन प्रधानमन्त्रीले यसपटक कानुन नै संशोधन गरेका छन्। भूमिहीनका समस्याको अन्त्यका लागि काम सुरु भएको छ। सरकारले गरिब जनताका लागि हरेका वर्ष १ हजार घरसमेत निर्माण गरी न्यून आय भएका जनताको मन जितेको छ,’ उनले भने। 

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले प्रदेश सरकारले विकासका लागि बढाएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.