नेकपाबाट निर्वाचित ३९ जना सांसदमध्ये ३० जना प्रचण्ड–माधव समूहमा

|

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटनपछि पहिलोपटक उपत्यका बाहिर सार्वजनिक सभालाई सम्बोधन गर्न सुदूरपश्चिमलाई लक्षित गरेका छन्। भोलि शुक्रबार धनगढीमा आयोजना गर्न लागिएको ओली समूहको नेकपाको प्रदेशस्तरीय कार्यक्रमका लागि तयारी लगभग सकिएको छ। 

तयारीको लागी संघीय सरकारका चार मन्त्री चार दिनअघि नै धनगढी आएका छन्। नेकपाको ओली समूहले आफ्नो समूहको शक्ति प्रदर्शनका लागि चार जना संघीय मन्त्री धनगढी पठाएका हुन्। भोलि प्रधानमन्त्री ओलीसहित केही अन्य मन्त्री र नेताहरु आउने कार्यक्रम छ। 

ओली समूहका सुदूरपश्चिम संयोजक एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, वन मन्त्री प्रेम आले, श्रममन्त्री गौरीशंकर चौधरी र सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना कार्यकर्तालाई आफूतिर तान्न र शक्ति प्रदर्शनको तीव्र तयारीमा जुटेका छन्। 

प्रतिनिधिसभा विघटनपछि नेकपा औपचारिक रूपमै विभाजनको संघारमा पुगेको छ। ओली र दाहाल–नेपाल पक्षबीच वडा तहसम्मै चिरा परिसकेको छ । यस अवस्थामा प्रधानमन्त्री ओलीले सुदूरपश्चिममा ध्यान केन्द्रित गरेका हुन्। 

सुदूरपश्चिममा ओली समूहको अल्पमत छ। संघीय सरकारमा सुदूरपश्चिमबाट पहिलोपटक चार÷चार जना ओली समूहका मन्त्री हुँदासमेत प्रचण्ड–नेपाल समूहको स्पष्ट बहुमत देखिन्छ। 

जसको एउटै कारण हो, नेकपा स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलको वर्चस्व। रावल लामो समयदेखि माधवकुमार नेपाल नजिकका नेता हुन्। प्रधानमन्त्री ओलीका गतिविधिको सुरुदेखि नै विरोध र आलोचना गर्दै आएका रावललाई यतिखेर कतिपयले पार्टी विभाजनको मुख्य पात्रको रुपमा समेत लिएका छन्। 

अहिले सुदूरपश्चिममा प्रदेशसभा, प्रदेश कमिटी र जिल्ला कमिटी रावलको कब्जामा छ। ओलीको चर्को आलोचक मानिएका रावलको बर्चस्व देखिनु नै ओलीलाई सबैभन्दा टाउको दुखाइ भएको नेकपाका नेता–कार्यकर्ता बताउँछन्। 

सुदूरपश्चिम प्रदेश सभामा नेकपाबाट निर्वाचित ३९ जना सांसदमध्ये ३० जना प्रचण्ड–माधव समूहमा छन् भने ७ जना मात्रै खुलेर ओली समूहमा लागेका छन्। सभामुख र उप–सभामुखका तटस्थ छन्। 

केही दिन अगाडि ओली समूहका भौतिक पूर्वाधार मन्त्री पठान सिहं बोहरालाई मुख्यमन्त्रीले बर्खास्त गरेपछि बुधबार ओली समूहकै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले राजीनामा दिएका छन्। 

बोहरा पनि बाहिरिए पछि प्रदेश सरकारमा मुख्यमन्त्री भट्टसहित दाहाल–नेपाल समूहका पाँच मन्त्री छन्।

प्रचण्ड–नेपाल समूहको स्पष्ट बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई ढाल्न ओली समूहले केन्द्र तहबाटै अभ्यास थालेको छ। केही दिनमै सुदूरपश्चिम सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता हुने र कांग्रेस र राजपासँग सहकार्य गरेर ओली समूहले सरकार बनाउने तय गरेको बुझ्न सकिन्छ। कुल ५३ जना सांसद रहेको प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गर्न २६ जना काफी हुन्छ। 

अहिले १२ जना कांग्रेस, २ जना राजपा र ७ जना ओली समूहका गरी जम्मा २१ जना सांसद विपक्षमा छन्। यद्यपि ओली समूहका नेताहरुले आफू १२ जना पुगेको र खुलेर नदेखिएका दाबी गर्दै आएका छन्। 

नेकपा प्रदेश कमिटीमा समेत प्रचण्ड–नेपाल समूहको स्पष्ट बहुमत छ। प्रदेश इन्चार्ज रावल, सहइन्चार्ज भानुभक्त जोशी, खगराज भट्ट, लक्ष्मणदत्त जोशी, सचिव नेपबहादुर चौधरीलगायत १ सय ८३ जना सदस्यमा १ सय ३० जना प्रदेश कमिटी सदस्य प्रचण्ड माधव समूहमा छन्। ओली समूहमा पार्टी अध्यक्ष कर्ण थापा लगायत ५३ जना सदस्य मात्रै देखिएका छन्। 

यस्तै जिल्ला कमिटीहरुमा हालसम्म बाजुराका अध्यक्ष र सचिव तथा कैलाली र कञ्चनपुरमा अध्यक्ष मात्रै ओली पक्षमा खुलेका छन्। अन्य जिल्लाको नेतृत्व र बहुमत संख्या आफैंतिर रहेको दाहाल–नेपाल पक्षका नेताहरूको दाबी छ। 

केही अघिसम्म प्रचण्डका विश्वासपात्र रहेका सुदूरपश्चिमका नेता लेखराज भट्टलाई अपत्यारिलो ढंगले आफूतिर तान्न सफल भएका ओलीका लागि रावल र उनको इसारामा चल्ने प्रदेशसभा तथा सरकारलाई कमजोर बनाउनु मुख्य उद्देश्य देखिन्छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.