अक्सफोर्डको खोप परीक्षण तयारी

|

काठमाडौं : विभिन्‍न देशका नागरिकले कोरोना (कोभिड-१९) भाइरस विरूद्धको खोप लगाइसकेका छन्‌। विश्वको दोस्रो ठूलो जनसंख्या रहेको भारतमा पनि सरकारले अधिकांश नागरिकलाई खोप प्रबन्ध गरिसकेको छ। 

नेपाल सरकारले भने खोप त परको कुरा, पर्याप्त परीक्षण व्यवस्थासम्म मिलाउन सकेको छैन। न उत्पादक कम्‍पनीहरूबाट ट्रायलको खोप ल्याएको छ, न त स्वदेशमै खोप अनुसन्धान र विकास गर्न सकेको छ। सरकारको यस्तै फितलो व्यवस्थापनका कारण अझै धेरै नागरिक कोरोना महामारीको शिकार हुनुपर्ने निश्चितजस्तै छ। 

नेपालमा खोप निर्माणकर्ता राष्ट्रले ट्रायल (परीक्षण) गर्न अनुमति मागिरहेको छ। तर, आवश्यक तयारी नगर्दा त्यसले मूर्तरूप लिन सकेको छैन। खोप ट्रायल गर्न नदिने, तर आवश्यक सबै परीक्षण भई आम प्रयोगमा आएपछि ल्याएर प्रयोग गर्ने तयारी रहेको सरकारी अधिकारीहरू बताउँछन्‌।

​नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार हालसम्म बेलायत, चीन र अष्ट्रेलियामा निर्मित खोप ट्रायल गर्न प्रस्ताव आएको छ। विभिन्न राष्ट्रले खोप परीक्षण प्रस्ताव गरेपनि परिषदले अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरेको खोपलाई प्राथमिकतामा राखेको छ।

अन्य राष्ट्रले प्रस्ताव गरेको खोप कहिलेदेखि प्रयोग गर्ने भन्‍ने मिति पनि तोकिएको छैन। परिषदले खोप निर्माण गर्ने मुलुकसँग ट्रायल गर्ने विषयमा विभिन्न चरणमा वार्ता गरिसकेको छ।

परिषद्‌ले पछिल्लो समय विभिन्न मुलुकमा तयार गरिएको खोपलाई प्रयोगमा ल्याउन कोशिस भइरहेको जनाएको छ।

अक्सफोर्डको खोप प्रयोगमा आउँदै

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरेको खोपलाई पहिलो चरणमा ल्याएर परीक्षण गर्ने तयारी भइरहेको परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवाली बताउँछन्। अक्सफोर्ड विश्वविद्यालयका प्रतिनिधिसँग एक-दुई दिनमा सम्झौता गरिने उनले जानकारी दिए।

कोभिडको औषधि तथा खोपहरूको प्रभावकारिताका लागि विभिन्न मुलुकका वैज्ञानिकहरूसँग निरन्तर परामर्शमा लागिरहेको उनले जानकारी दिए। विभिन्न मुलुकले परीक्षण निम्ति प्रस्ताव गरेपनि तिनीहरूको प्रभावकारिता अध्ययन नगरी ट्रायल गर्न नदिने उनको भनाई छ।

डा. ज्ञवालीले भने, 'कागजी प्रकृया मिलाउन केही समय लागेको हो, यो पूरा हुनासाथ परीक्षण प्रकृया अगाडि बढाइन्छ। अबको दुई सातामा अक्सफोर्ड विश्वविद्यालयले निर्माणको खोपको परीक्षण नेपालमा प्रयोगमा आउँछ।'

ट्रायलको खोपमा केही जोखिम हुने भएकोले पनि यसमा ढिलाई भएको ज्ञवालीले बताए। परिषदले भ्याक्सिनेसनको खोप कार्यक्रमलाई प्राथमिकतामा राखेकाले प्रभावकारी खोपको खोजीमा रहेको उनले प्रष्ट पारे।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि अहिलेसम्म व्यवहारिक रूपमा कुनैपनि खोपलाई मान्यता दिइनसकेकोले पनि खोप आयातमा गम्भीर नबनेको उनले जानकारी दिए। नेपालले खोप कार्यक्रमलाई पर्खँदा केही ढिलो हुने भएकोले बेलायतको अक्सफोर्डले तयार गरेको खोपलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।

परिषद्‌ले विभिन्न मुलुकले निर्माण गरेको खोपको अनुसन्धान गरिरहेको छ। अक्सफोर्डको खोप सबैभन्दा बढी प्रभावकारी देखिएकोले पनि यसलाई परीक्षण गर्न लागिएको उनले बताए।

अहिलेसम्म विभिन्न मुलुकले खोप प्रयोग अनुमोदन पाइसकेका छन्। अमेरिकन कम्पनी फाइजर, मोडर्ना, रसियाली कम्पनीद्वारा निर्मित स्पुतनिक र चीनद्वारा निर्मित खोप अहिले युएई र ब्राजिलले प्रयोगमा ल्याइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.