|
फाइल फोटो

बर्दिया : औषधी सेवनमा लापरबाही गर्दा बर्दियामा अझै हात्तीपाइले निवारण हुन नसकेको सरोकारवालाहरूले बताएका छन्।

शुक्रबार बर्दियाको भूरिगाउँमा आयोजना गरिएको एक कार्यक्रममा सहभागीहरूले पढेलेखेका र बुझेकै व्यक्तिले औषधी सेवन नगरिदिँदा दशकसम्म पनि संक्रमण नहटेको बताएका हुन्‌।

​हात्तीपाइले रोग निर्मूल नभएपछि बर्दियामा यष वर्ष १० औं चरणको औषधी खुवाइँदैछ। सरकारले वि.सं. २०६७ सालदेखि बर्दियामा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउँदै आएको छ।

यो वर्ष पनि फागुनको अन्तिम सातातीर हात्तीपाइले विरुद्धको औषधी खुवाउन लागिएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ। पहिलो दिन तोकिएका स्वास्थ्य बुथ तथा दोस्रो र तेस्रो दिनमा घर-घरै गएर औषधी खुवाइने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिएका छन्‌। 

लगातार ६ वर्षसम्म औषधी सेवन गर्नुपर्ने भनिएपनि बर्दियामा भने परीक्षण क्रममा अझै उक्त रोगको परजीवी भेटिएकाले १० औँ वर्षमा पनि औषधी खुवाइँदैछ। हात्तीपाइले परीक्षणका क्रममा उक्त रोगको परजीवी १ प्रतिशतभन्दा तल झरेमा मात्रै अभियान सम्पन्न भएको मानिन्छ।

सन्‌ २०२० सम्ममा विश्वबाटै हात्तीपाइले निवारण गरिसक्ने लक्ष्य राखिएको थियो। तर, अझै १३ जिल्लामा यो रोगको परजीवी देखिएकाले अहिले २०३० भित्रमा यो रोगलाई निर्मूल पारिसक्ने लक्ष्य राखिएको छ।

औषधी सेवन गर्न स्वास्थ्य कार्यालयको आग्रह

जिल्ला स्वास्थ्य कार्यालयले औषधी सेवन गरी यो अभियान सफल पार्न जिल्लावासीलाई आग्रह गरेको छ। 

२०७३ मा बर्दियाका दुई ठाउँमा हात्तीपाइले रोगको अनुसन्धान तथा परीक्षण गरिएको थियो। ठाकुर बाबा नगरपालिकाको डुम्रेनीमा परीक्षण गर्दा १५ जनामा हात्तीपाइले संक्रमण देखिएको थियो भने बैदिमा ३७ जना संक्रमित भेटिएका थिए।

२०७५ मा परीक्षण गर्दा पनि डुम्रेनीमा १० जनामा तथा बैदीमा १७ जनामा हात्तीपाइलेको परजीवी भेटिएको थियो। 

यस्तै, गएको वर्ष पनि बर्दियाका यी दुबै ठाउँका केही स्थानीयमा रोगको परजीवी भेटिएपछि अहिले १० औं चरणको आम औषधी सेवन अभियान सञ्चालन गर्न लागिएको हो। नेपाल सरकारले देशभरका ६३ जिल्लाहरूमा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान शुरू गरेको थियो। 

हालसम्म ५० जिल्लामा उक्त अभियान सम्पन्न भैसकेको छ। बर्दिया, दाङ र कपिलवस्तु लगायत १३ जिल्लामा यो अभियान अझै जारी छ। गलत बुझाई र सेवन गरेपछि यसअघि भएका केही दुर्घटनाका कारण मानिसहरूले औषधी सेवन गर्न आनाकानी गर्ने गरेका छन्। 

ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखा संयोजक इन्द्र बहादुर राजवंशीले औषधी सेवनबारे अफवाह, सामाजिक तथा धार्मिक मूल्यमान्यता, प्रत्यक्ष निगरानीमा औषधी सेवन गराउन कठिन, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभावलगायतका चूनौतिहरू कायमै रहेकाले रोग पूर्ण रूपमा निर्मूल पार्न नसकिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.