|

काठमाडौं : कमलको सुन्दर र कोमल फूल फूल्ने कमलपोखरीमा अब सिमेण्टको चट्टानी फूल फूल्ने भयो भन्दा अनौठो लाग्न सक्छ। तर, विकासका नाममा गरिने अवाञ्छित गतिविधिले यस्तै हुने भएको छ। 

महाविनाशकारी भूकम्प गएको पाँच वर्ष भइसक्दा पनि कमलपोखरी निर्माण सम्पन्न भइसकेको छैन। पोखरी पुनर्निर्माणको चरणमा रहँदा रहँदै विवाद सिर्जना भएको छ। काठमाडौं महानगरपालिकाको वडा १ मा अवस्थित कमलपोखरीको निर्माण कँडेल जेभी कम्पनीले रानी बारीले गरिरहेको छ। उक्त कम्पनीले सम्झौता मितिसम्म पनि निर्माण सम्पन्न गरिसकेको छैन।

पोखरी निर्माणमा करिब ९ करोड ४६ लाख रुपैयाँ लागतमा निर्माण कार्य सुरु भइसकेको छ। आधुनिक शैलीमा निर्माण गर्न लागिएको पोखरी मात्र नभइ उपत्यकामा अवस्थित सिमसार पनि हो। पोखरी जस्तो अवस्थामा रहेको त्यसलाई सिमसार नमानी पोखरीको स्वरुपमा निर्माण गरिएको थियो। अहिले भने इँटा र सिमेन्टको प्रयोग गरिएको भन्दै अनावश्यक संरचना तयार गरेको भन्दै सम्पदा बचाउ अभियन्ताले विरोध गर्न थालेका छन्।

पुरानो शैलीमा पोखरीको निर्माण नहुने भएपछि अहिले सम्पदा बचाउ अभियन्ताले विरोध गर्दै आएका छन्। पुरातात्त्विक ऐतिहासिक महत्त्व बोकेको स्थानमा नयाँ संरचना निर्माण नगरी पुरानो शैलीमा निर्माण गरी पानी अडिने गरी बनाउनलाई माग गर्न थालेका छन्।

पोखरीमा हिलोमा फूल्ने कमलको फूल भन्दा पनि सिमेन्टको कमल फूल्ने भएको छ। नयाँ डिजाइनअनुसार पोखरीमा आधुनिक तरिकाले पोखरीको पुनर्निर्माणको काम भइरहेको छ।

सम्पदा संरक्षण अभियन्ता आलोक सिद्धि तुलाधरले केही दिनअघि सामाजिक सञ्जालमा एउटा ट्वीट गरे। उनले लेखेका छन,'कमलपोखरीमा ज्यादती। त्यहाँका माछा दशैँमा प्रतिकेजी ३५० मा बेचियो। पानी सुकाइयो। एक्साभेटरका नङ्ग्राले मलिलो माटोलाई चिथोरे। पोखरीको साइज खुम्चाएर चारैतिर सिमेन्ट ढुंगाका पर्खालले पाता कसे। चारै कुनामा अप्राकृतिक संरचना ठड्याए। अब बीचमा बाँकी रहेको दलदल मासेर ढलानको कमल बनाउने रे!'

 

'बोटबिरुवा हटाई हरियो रंग पोते जस्तै हो'

प्राकृतिक रुपमा कमल फूल्ने फूललाई हटाई कंक्रिटको फूल बनाउन नहुने तर्क गर्छन् काठमाडौं लिभेबलका संयोजक सुशन वैद्य। प्रकृतिलाई मेटेर कृत्रिम रुपमा रङ पोती भौतिक संरचना निर्माण गर्न नहुने उनले सुझाव दिए। अहिलेको अवस्थामा प्राकृतिक रुपमा फूलिरहेका कमलको फूल हटाएर सिमेन्टको फूल बनाउनु भनेको रूख विरुवा हटाएर हरियो रङ पोत्नु जस्तै रहेको उनको भनाइ छ।

'काठमाडौंको महत्त्व भनेको ऐतिहासिक धरोहर र पुरातात्त्विक स्थलहरू हुन,' वैद्यले भने,' पुनर्निर्माणको नाममा ऐतिहासिक सम्पत्तिहरु मास्न हुँदैन।' अझ स्थानीय निकायले ऐतिहासिक सम्पदाको तीव्र रूपमा संरक्षण गर्नुपर्नेमा उनको जोड थियो।

पोखरीमा प्राकृतिक कमलको फूल ल्याएर रोप्न पनि उनले सुझाव दिए। प्लाष्टिकको फूल भन्दा पनि प्राकृतिक कमलको फूल रोपेर पनि पोखरीको सौन्दर्यता बढाउन सकिने उनको भनाइ छ।

मेयर शाक्यसँगै सबै बुझ्‍न अनुरोध

कमलपोखरीमा साँच्चिकै सिमेन्टको कमलको फूल राख्न लागेको हो भनी वडा १ का अध्यक्ष भरत श्रेष्ठलाई बुझ्न थाहाखबरले सम्पर्क गरेको थियो। अध्यक्ष श्रेष्ठले कमलपोखरीमा निर्माण भइरहेको विषयमा केही प्रतिक्रिया दिन चाहेनन्। पोखरी निर्माणको विषयमा बुझ्न महानगरको केन्द्रीय कार्यालयमा बुझ्न उनले आग्रह गरे।

उनले भने,' कमलपोखरीको निर्माणको विषयमा मलाई केही थाहा छैन। महानगर प्रमुख विद्यासुन्दर शाक्यसँग बुझ्नलाई म अनुरोध गर्दछु।'

सम्झौता अनुसार कमलपोखरीको पुनःनिर्माण गत असार १५ गते नै सम्पन्न गर्नुपर्ने थियो। तर, अहिलेसम्म पनि पोखरी निर्माणले गति लिन सकेको छैन।

महानगरपालिकाले पारित गरेको डिजाइन अनुसार पोखरी परिसरमा खुला व्यायाम, ब्याडमिन्टन र बास्केटबल कोर्ट रहनेछ। सौन्दर्यीकरण गर्न कमलपोखरीको पूर्वी भागमा मूल प्रवेशद्वार बन्ने, पोखरीको चारै कुनामा ४/४ मिटरको पाटी निर्माण गरिने छ।

त्यस्तै, बालबालिकाका लागि खुला पार्क, बिजुली बत्ती जडान र पोखरीका चारै कुनामा कमलका फूल राख्ने लगायत योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.