|

सल्यान : नेपालमा जागिर पाउन निकै मेहनत गर्नुपर्छ। भनसुन र नातावाद/कृपावाददेखि शोषण र ठगीसम्म सहनुपरेका घटनाहरू बेलाबखत सुन्नुपर्छ। 

तर सल्यानका एक युवा भने जागिर छाडेर दुग्ध व्यवसायमा लागेका छन्। जिल्लाको बागचौर नगरपालिका-७ का प्रेम बहादुर डिसीले प्राविधिकको जागिर छाडेर दुग्ध व्यवसायबाटै मनग्य आम्दानी गरिरहेका हुन्‌। 

उनले १५ जनालाई रोजगारी समेत दिएका छन्। लघु उद्यम विकास कार्यक्रमको कृषि उद्यम विकास सहजकर्ता (प्राविधिक) को जागिर छाडेर दुग्ध व्यवसायमा लागेका डाँगीले अहिले वार्षिक ३० लाख रुपैयाँसम्म आम्दानी गर्दै आइरहेका छन्। 

शुरूमा दैनिक ४० लिटर दूध संकलन गरेका डिसीले अहिले दैनिक कम्तिमा ३ हजार लिटर दूध संकलन गर्ने गरेका छन्। जीवन डेरी उद्योगबाट पहिलोपटक जिल्ला बाहिर पनि दूध निर्यात गर्न समेत उनी सफल भएका छन्।

एक दिनको ग्याप राखेर उनले ३ हजार लिटर दूध प्रदेश राजधानी सुर्खेतमा पठाउने गरेका छन्‌। सल्यानसहित पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाबाट समेत दूध संकलन शुरू गरेको उनको भनाई छ। उनले भने, 'उद्योगबाट हाल दुई जिल्लाका ५ सयभन्दा बढी किसानले लाभ लिइरहेका छन्।' 

दुग्ध व्यवसायमा करिब १ करोड ५० लाख रुपैयाँभन्दा बढी लगानी गरेका डाँगीले अहिले मनग्य आम्दानी गर्दै आइरहेका छन्। उनले भने, ,शुरू-शुरूमा त कृषकहरूले समेत दूध बिक्री गर्न मानेनन्, चेतनाको कमीले होला उनीहरूले दूध बिक्री गरे आफ्नो कूल देउता रिसाउँछन् भन्ने गर्थे, अहिले दूध लिइदिनुपर्‍यो भनेर किसानहरू आफैँ आउने गर्छन्।' 

सल्यान र रुकुम पश्चिममा रहेका १० बढी सहायक दुग्ध संकलन केन्द्रबाट दूध संकलन हुँदै आइरहेको र भान्साबाट खेर गई रहेको दूध संकलन गरी किसानहरूले पनि राम्रो आम्दानी गरिरहेका डिसी बताउँछन्‌।

​जागिरकै सिलसिलामा दुग्ध व्यवसायसम्बन्धी धेरै कुरा सिक्न पाएको र सिकेको कुरालाई व्यवहारमा मात्र उतारेको उनको भनाई छ। आफूहरूले वितरण गर्ने दूध तथा दुग्धजन्य वस्तुहरूको उत्पादन गुणस्तरीय हुने र अब आफ्नै ब्रान्ड प्याकेजिङ तयारी गरिएको उनको भनाई छ। 

भैंसीपालनलाई व्यवसायिकता

डाँगीले दुग्ध संकलन मात्र नगरी व्यवसायिक भैंसीपालन समेत गरेका छन्। साना ठूला गरी ६ वटाबाट भैंसीपालन शुरू गरेका डाँगीले माघको पहिलो हप्ताभित्र २० पुर्‍याउने लक्ष्य रहेको बताए।

अन्य किसानहरूबाट मात्र दूध संकलन गर्दाभन्दा आफैँले पालन गर्दा थप सहयोग पुग्ने सोचसाथ भैंसीपालन थालेको उनले बताए। 

१५ जनालाई रोजगारी

व्यवसायिक दुग्ध संकलन र भैंसीपालन गर्दै आइरहेका प्रेमले १५ जनालाई रोजगारी दिएका छन्।

सहायक दुग्ध संकलन केन्द्रदेखि भैंसीपालनसम्म गरी १५ जनालाई प्रत्यक्ष रोजगारी दिएका हुन्‌। पेशा सानो-ठूलो नहुने, बरू मेहनत ठूलो हुने उनको भनाई छ।

पैसा कमाउन जागिर नै खानुपर्छ भन्ने सामाजिक मान्यतालाई आफूले थोरै भएपनि तोड्न सफल भएको डाँगीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.