|

बैतडी : कोरोना भाइरस संक्रमणका कारण बैतडीमा एकजनाको मृत्यु भएपछि सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि सिल गरिएको छ।  दशरथचन्द नगरपालिका–४ गढी क्षेत्रका एक जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा माघ ६ सम्म सिल गरिएको हो।

केही दिनअघिमात्रै गढी क्षेत्रमा एकजनामा मृत्युपछि कोरोना पुष्टि भएको र उनको सम्पर्कमा रहेकामा पनि कोरोना देखिएकाले गढी क्षेत्र आइतबारदेखि माघ ६ सम्म सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिए। गढी क्षेत्रमै अहिले पनि सातजना सक्रिय संक्रमित रहेकाले संक्रमण नफैलियोस् भन्नका लागि सिल गरिएको चन्दले बताए।

गढी क्षेत्र सिल भएसँगै आवतजावत, शिक्षण संस्था, बजार तथा पसलहरु बन्द रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। कोरोना समुदायमा फैलिए झन् समस्या हुने भएकाले नगरपालिकाको गढी क्षेत्र सिल गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए। गढी क्षेत्र सिल गरिएको भए पनि दशरथचन्द नगरपालिकाको कार्यालयबाहेकका अन्य सम्पूर्ण कार्यालयहरु खुला रहने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिए। 

बैतडीमा अहिलेसम्म ६३६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने कोरोना कारण दुईजनाको मृत्यु भइसकेको छ। जिल्लामा अहिले ३२ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। दशरथचन्द नगरपालिकामा २१, पाटन नगरपालिकामा १० र दोगडाकेदार गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन्। 
जिल्लामा गत जेठ ९ गते पहिलोपटक कोरोना संक्रमण देखा परेको थियो ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.