काठमाडौं : माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याइभ्याइ छ। माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेको छ। त्यसैले यो समयमा चाकुको खपत पनि बढी हुन्छ। यस वर्ष कोरोना भाइरस (कोभिड–१९)को प्रभावका कारण चाकुको माग कम छ। तैपनि चाकु बनाउन भ्याइनभ्याइ रहेको उद्यमीहरुको बताएका छन्।
काठमाडौंको टोखा चाकुका लागि प्रसिद्ध शहर हो। टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन्। माघे सक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याइ छ। सख्खरलाई पकाएर राम्रोसँग फिटेपछि निर्माण हुने चाकु माघे संक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ। माघे सक्रान्तिलाई नेवारीमा ‘घ्यःचाकु संल्हू’ भनिन्छ।
नेवारी समुदायमा माघ १ गते मनाइने पर्वमा घिउ र चाकुको परिकार निकै महत्त्वपूर्ण मानिन्छ। टोखा चाकु प्रोडक्सनका सञ्चालक हंसराज श्रेष्ठले यस वर्ष कोभिडको कारण चाकुको माग कम भएको बताए। खासगरी चाकु जाडो महिनामा खाने प्रचलन छ। जाडो महिनामा चाकु खाँदा शरीर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ। माघे संक्रान्तिमा चाकुको माग बढ्ने भएकाले चाकु बनाउने कामलाई उद्यमीहरुले तीव्रता दिएका छन्। यस वर्ष सख्खरको मूल्य बढे पनि चाकुको मूल्य नबढाइएको श्रेष्ठले बताए।
चाकु बनाउन पहिला उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ। टोखामा तराईबाट खरिद गरी ल्याइएको सख्खरबाट चाकु बनाइन्छ। सख्खरलाई करिब तीन घण्टासम्म पकाउने, करिब आधा घण्टासम्म चिस्याउने र राम्रोसँग तन्काएर ताड्नुपर्छ। जसले गर्दा चाकुको रंग रातो हुन्छ भने खानका लागि पनि नरम र स्वादिलो हुन्छ। श्रेष्ठका अनुसार ५० किलो चाकु बनाउन करिब पाँच घण्टा लाग्छ।
चाकु उत्पादनमा टोखा प्रसिद्ध भएको कारण मानिसहरु चाकु किन्नका लागि टोखासम्म पुग्ने गर्छन्। टोखाको चाकु सबैभन्दा धेरै उपत्यकामै बिक्री हुने गर्छ भने विदेशबाट समेत माग आउने गरेको व्यवसायीहरु बताउँछन्। टोखामा परम्परागत शैलीबाट चाकु बनाइने हुँदा पनि मानिसहरुले टोखाकै चाकु खान मन पराउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।