|

कपिलवस्तु : वाणगंग नगरपालिका–५, लोहरीबगिया वैकुण्ठपुरमा वाणगंगा नगरपालिकाका वडाध्यक्ष सहितको समूहले मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन गर्न लागेपछि स्थानीयले विरोध गरेका छन्।

नदीदेखि १ सय मिटर र बस्तीदेखि २ सय मिटर दूरीमा उद्योग स्थापना गर्न लागेपछि स्थानीयले काम रोक्न दबाब दिएका हुन्। स्थानीयका अनुसार त्यहाँ वाणगंगा नगरपालिकाका वडा नं. २ का अध्यक्ष विष्णु पौडेल, ५ का वडाध्यक्ष भीष्मराज भुसाल , विष्णु सापकोटा, सरोजमणि पौडेल र राम बहादुर कार्कीले संयुक्त लगानी गरी क्रसर उद्योग खोल्न लागेका हुन्‌।

सञ्चालकले उद्योग सञ्चालनका लागि आवश्यक उपकरण झार्न थालेपछि स्थानीय नमुना टोल विकास संस्था र झण्डा टोल विकास संस्थाले संयुक्त गाउँ भेला आयोजना गरी तत्काल निर्माण कार्य रोक्न दबाब दिएका छन्‌।

​भेलामा स्थानीयवासीले ढुङ्गा पिस्ने मेसिनसहित बालुवा प्रशोधन उद्योग सञ्चालन गर्न नदिन वडा, नगर, प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला घरेलु कार्यालयमा समेत गएर धर्ना र ज्ञापन पत्र दिने र आवश्यक परे जस्तोसुकै कडा कदम चाल्न बाध्य हुने तथा यसबाट हुन सक्ने जोखिम स्वयम् बालुवा प्रशोधन उद्योग हुनुपर्ने निर्णय गरेका छन्। 

एमएसआर सिमेन्टजन्य सामाग्री उत्पादन तथा बालुवा प्रशोधन नामक उद्योगले मापदण्ड नै पूरा नगरी उद्योग सञ्चालन गर्न लागेको आरोप रहेको छ। भेलामा उद्योग सञ्चालकहरूलाई बोलाए पनि सञ्चालक र जनप्रतिनिधिको समेत उपस्थिति नहुँदा स्थानीयवासी आक्रोशित भएका थिए।

ढुङ्गा गिट्टी बालुवा जस्ता निर्माण सामग्रीको व्यवस्थापनसम्बन्धी पछिल्लो सरकारी मापदण्डलाई बेवास्ता गर्दै मानव बस्तीदेखि ५ सय मिटरको दुरीमा उद्योग सञ्चालन गर्न नपाइने नियम रहेको छ। उद्योग सञ्चालन गर्ने स्थल नजिकै विद्यालय रहेको छ, जसकारण बालबालिकाको पढाइमा समेत असर गर्ने विरोध संघर्ष समितिका अध्यक्ष सन्तोष घिमिरेले बताए। 

उद्योग सञ्चालन गर्न नदिन स्थानीय नमुना युवा क्लब र श्री माविले समेत ऐक्यबद्धता जनाएको नमुना टोल विकासका अध्यक्ष लोक बहादुर मगरले बताए।

नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५,  अनुसूची ४ बमोजिमका मापदण्ड पूरा नगरी उद्योग सञ्चालन गर्न खोजिएको झण्डा टोल विकास संस्थाका सचिव पदम भट्टराईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.