१४ जिल्लाका प्रभावशाली कुन नेता कसको पक्षमा? विवरणसहित

|

धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भूगोलका आधारमा प्रदेश १ मा १४ जिल्ला र जिल्ला कमिटीको हैसियतमा रहेको १ महानगरपालिका कमिटी सक्रिय छन्। ती जिल्लामा केन्द्रीय सदस्यलाई जिल्ला इञ्‍चार्ज तोकिएको छ। जसले जिल्ला र केन्द्रको नेतृत्वबीच समन्वयको काम गर्छन्।

नेकपामा दुई समूह विभाजन भएसँगै जिल्ला इञ्‍चार्ज पनि बाँडिएका छन् र तीमध्ये अहिले धेरैजसो इञ्‍चार्ज जिल्लाको गतिविधिमा संलग्न छन्। प्रदेश १ मा रहेका १४ जिल्ला र १ महानगरपालिका इञ्‍चार्जमध्ये १४ जना प्रचण्ड–नेपाल पक्षमा छन् भने १ जिल्ला कमिटीका इञ्‍चार्ज ओली समूहतर्फ खुलेका छन। खोटाङका इञ्चार्ज विशाल भट्टराई मात्र ओली समूहमा लागेका हुन्। प्रदेश १ का जिल्ला इञ्‍चार्जमा पनि प्रचण्ड–नेपाल समूहको वर्चस्व देखिएको छ।

कमजोर बन्दै ओली पक्ष

केन्द्रका अधिकांश कमिटीमा चरम अल्पमतमा परेर संसद् विघटनको कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष उनकै गृह प्रदेशको पार्टी कमिटीमा पनि ज्यादै कमजोर देखिएको छ। कानुनी रूपमा नेकपा हालसम्म एकै रहे पनि राजनीतिक गतिविधि र व्यावहारिक हिसाबले मुलुकको सबैभन्दा ठूलो दल विभाजित भइसकेको छ। देशैभरि समूहगत भेला र आरोप–प्रत्यारोपको जुहारी चलिरहेको छ।

यस्तो बेलामा नेपालको कम्युनिष्ट आन्दोलनको उद्‍गमथलो प्रदेश १ मा सांगठनिक शक्ति सन्तुलनमा आफूलाई बलियो बनाउन दुवै पक्ष जोडतोडका साथ लागेका छन्।

नेकपाका पहिलो नम्बरका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङ, योगेश भट्टराई लगायतका प्रभावशाली नेताहरूको गृह जिल्ला रहेको प्रदेश १ मा दलभित्रको सांगठनिक शक्ति सन्तुलनमा धेरैको चासो रहको छ।

प्रदेश १ बाट नेकपा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने, प्रदेशका १४ वटा जिल्ला कमिटी, प्रदेश र महानगर कमिटीको लेखाजोखा गर्दा ओली पक्ष प्रचण्ड–नेपाल पक्षको दाँजोमा कमजोर देखिएको हो।

प्रधानमन्त्री ओली पक्षले केन्द्रीय सदस्य थप गर्नुअघिको अवस्थामा प्रदेश १ बाट नेकपा केन्द्रमा ६२ जनाको प्रतिनिधित्व रहेको थियो। जसमध्ये प्रचण्ड–नेपाल पक्षमा ४२ जना केन्द्रीय सदस्य रहँदा ओली पक्षमा २० जना रहेका छन्।

ओली पक्षमा उभिएका प्रदेशका केन्द्रीय कमिटीका नेताहरूमा स्वयं ओलीबाहेक सुवास नेम्वाङ, प्रदेश १ का अध्यक्ष देवराज घिमिरे, प्रदेश सहइञ्चार्ज समेत रहेका मुख्यमन्त्री शेरधन राईलगायत छन्। प्रदेशका जिल्ला इञ्चार्जमध्ये जम्मा एक जना खोटाङका विशाल भट्टराई मात्रै ओली पक्षमा छन्। अन्य केन्द्रीय सदस्यहरूमा भानुभक्त ढकाल, हिक्मत कार्की, शिवमाया तुम्बाहाम्फे, विनोद ढकाल, गुरू बराल, राजेन्द्र गौतम, तैयव हुसेन र डम्बरसिहं सम्बाहाम्फे छन्।

जिल्ला सहइञ्‍चार्जको जिम्मेवारीमा रहेकामध्ये भगवती चौधरी (सुनसरी), विजय सुब्बा (तेह्रथुम),  मञ्जु चौधरी (उदयपुर), अइन्द्रसुन्दर नेम्वाङ (पाँचथर), देवेन्द्र दाहाल र हरि राजवंशी (झापा) जगदीश कुसियैत (सुनसरी) ओली पक्षमा रहेका  छन्।

१४ वटा जिल्ला अध्यक्षमध्ये ओली पक्षमा ७ जना खुलेका छन्। इलाम अध्यक्ष राम राना, राजेन्द्र राई (धनकुटा), राजकुमार भण्डारी (पाँचथर), चिन्तन पाठक (झापा), ऋषिकेश पोखरेल (मोरङ), प्रेमकुमार राई (भोजपुर) र सोलुखुम्बुका अध्यक्ष मानवीर राई र विराटनगर महानगरका अध्यक्ष सागर थापा ओली समूहमा उभिएका छन। यस्तै, जिल्ला सचिवमध्ये ओखलढुंगाका मोहन श्रेष्ठ र खोटाङका राम दंगाल ओली समूहमा लागेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बनाउँदा तत्कालीन माओवादी केन्द्र र तत्कालीन एमालेको ओली र नेपाल समूहबीच भागबण्डा भएको थियो। अहिले विभाजनको अवस्थामा ओली समूह एकातिर र प्रचण्ड नेपाल एकातिर हुँदा सबैजसो कमिटीमा ओली पक्ष कमजोर देखिएको छ।

प्रधानमन्त्री ओलीकै गृह जिल्लामा उनी अल्पमतमा देखिएका छन्। झापामा १ सय ७७ सदस्सीय जिल्ला कमिटीमध्ये १ सय २४ जना प्रचण्ड नेपाल समूहमा उभिँदा ओली समूहमा ५३ जना मात्रै छन्।

तत्कालीन एमाले विभाजन हुँदा पूर्वका अधिकांश अगुवा नेता कार्यकर्ता मालेतिर लागेको तर चुनावी परिणाम एमालेतिर आएको भन्दै अहिलेको शक्ति सन्तुलन निर्णायक नहुने दाबी ओली समूहले गर्दै आएको छ।

प्रचण्ड–नेपाल समूह बलियो

प्रदेश-१ मा प्रचण्ड–नेपाल समूह बलियो देखिएको छ। केन्द्रीय सदस्य र जिल्ला नेतृत्वको बहुसंख्या प्रचण्ड–नेपाल पक्षमा उभिएको छ। झलनाथ खनाल, योगेश भट्टराई, राम कार्की, जगन्नाथ खतिवडा, पेशल खतिवडा, अजम्बर राई काङमाङ, जीवन घिमिरे, टंक आङबुहाङ लगायतका केन्द्रीय नेताहरू रहेको यो समूहमा प्रदेश इञ्चार्ज भीम आचार्य, सहइञ्चार्जहरु सावित्रीकुमार काफ्ले र नरेश खरेल, सचिव सुरेश किराँती प्रचण्ड–नेपाल पक्षमा रहेका छन्।

प्रदेशका १४ मध्ये १३ जिल्ला इञ्‍चार्ज प्रचण्ड–नेपाल समूहमा उभिएका छन्। नेकपा एकता हुँदा हरेक जिल्ला इञ्चार्ज र सहइञ्‍चार्ज केन्द्रीय सदस्यलाई बनाइएको थियो।

प्रचण्ड–नेपाल समूहमा उभिएका जिल्ला इञ्‍चार्जमा भाष्कर काफ्ले (ताप्लेजुङ), इन्द्रबहादुर आङ्बो (पाँचथर), धिरेन्द्र शर्मा (इलाम), रविन कोइराला (झापा), घनेन्द्र बस्नेत (मोरङ), धर्म निरौला (सुनसरी), राजेन्द्र कुमार राई (संखुवासभा), यज्ञराज सुनुवार (ओखलढुंगा), बलदेव चौधरी (उदयपुर), हेमराज भण्डारी (धनकुटा), जयन्ती राई (तेह्रथुम), सुदन किँराती (भोजपुर) र हेमकुमार राई (सोलुखुम्बु) रहेका छन्। विराटनगर महानगर इञ्‍चार्ज शिवकुमार मण्डल पनि प्रचण्ड–नेपाल समूहमा छन्।

पार्टीका सहइञ्‍चार्जमध्ये प्रचण्ड–नेपाल समूहमा धर्मशीला चापागाइँ (झापा), पासाङ शेर्पा र तिलकुमार मेयाङ्बो (ताप्लेजुङ), महेश रेग्मी, देउमान सम्बाहाम्फे र गोपी अछामी (मोरङ), एकचन्द्र बराल, मोहम्मद महुज अन्सारी र रामकुमारी चौधरी (सुनसरी), दुर्गा चापागाइँ (तेह्रथुम), राजेन्द्र कार्की (संखुवासभा), रामकुमार राई, दुर्गाजयन्ती राई, राजन राई र समिता कार्की (खोटाङ) र हरिबहादुर राई (भोजपुर) रहेका छन्।

प्रचण्ड–नेपाल समूहका जिल्ला अध्यक्ष विजय वनेम (ताप्लेजुङ), योगेन्द्र मण्डल (सुनसरी), देवान चाम्लिङ (खोटाङ), मोहनकुमार खड्का (ओखलढुंगा), विनोद कटुवाल (उदयपुर), लछुमन तिवारी (तेह्रथुम) र हेमराज घिमिरे (संखुवासभा) रहेका छन्।

प्रदेशका १४ जना जिल्ला सचिवमध्ये १२ जना प्रचण्ड–नेपाल समूहमा छन्। बलबहादुर साम्सोहाङ (ताप्लेजुङ), रमेश बस्नेत (सुनसरी), ईश्वरमणि राउत (उदयपुर), होम जवेगु (पाँचथर), सोममाया राई (इलाम), मणिकुमार साम्पाङ (झापा), ऋषिराम ढुंगाना (धनकुटा), इन्द्रबहादुर इम्सुङ (तेह्रथुम), कृष्ण याख्या (संखुवासभा), विमल खड्का (भोजपुर,) गोम्बु शेर्पा (सोलुखुम्बु) रहेका छन् भने विराटनगर महानगर सचिव हेम कार्की पनि प्रचण्ड–नेपाल समूहमा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.