|

भक्तपुर : सूर्यविनायक नगरपालिका–६, पाण्डुबजारमा गएराति चार वटा पसल र एक कोठामा आगलागी हुँदा १२ लाख ६० हजार रुपैयाँको क्षति भएको छ।

स्थानीय रामकृष्ण चौगुठीको एकतले कच्ची जस्ताको टहरामा बस्ने भोज बहादुर घिसिङले सञ्चालन गरेको मासु पसलबाट सल्केको आगो सँगै रहेको कस्मेटिक, फर्निचर, चिया पसल र एक कोठामा आगो फैलिएको हो। 

प्रहरीका अनुसार आगलागीबाट घिसिङको मासु पसलमा रहेको जिउँदो २५ वटा ब्रोइलर कुखुरा, तयारी मासु र फ्रिज एक थानसमेत पूर्ण रुपमा जलेको छ। जसबाट करिब २ लाख रुपैयाँको क्षति भएको छ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार बस्ने रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा ७५ प ५८२४ नं को यामाहा मोटरसाइकल समेत गरी करिब ६ लाख रुपैयाँको क्षति भएको छ।

नारायण साडेमियाले सञ्चालन गरेको चिया पसलमा रहेको फ्रिज, टेबुल, कुर्सी, टिभीसमेत जलेर नष्ट हुँदा २ लाख रुपैयाँको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

त्यसैगरी विमल घिमिरेले सञ्चालन गरेको फेन्सी कपडा पसलमा ६० हजार रुपैयाँ बराबरको कपडा जलेको छ भने नरेश कर्माचार्यको कोठा समेतमा आगलागी हुँदा दराज, पलङ, कार्पेट, बेड बिस्तारा, लत्ता कपडा र अन्य सामान समेत गरी दुई लाखको क्षति भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए।

घटनाको प्रारम्भिक अनुसन्धानमा बिजुलीको तार सर्ट भई घिसिङको मासु पसलमा लागेको आगो नजिकैको अन्य पसलमा समेत सल्कन गएको खुल्न आएको प्रनाउ गिरीले बताए। 

राति करिब १० बजे लागेको आगो प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहायतामा १२ बजे नियन्त्रणमा लिइएको गिरीले जानकारी दिए। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.