|

पर्वत : खेलकुद विधामा प्रतिष्ठित पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आउँदो फागुन एक गतेबाट सुरु हुने भएको छ। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना र लक्ष्मी ग्रुप (सफल दूध) को मुख्य प्रायोजनमा जनवरी ११ तारिखबाट  म्याराथन आयोजना गर्न लागेको सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।
पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी दिँदै आयोजक भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले यस वर्षको प्रतियोगितामा एउटा भाग ‘रन फर रन’ भने आयोजना नगरिने बताएका छन्। कोरोना सङ्क्रमणको जोखिम अझै पनि कायमै रहेका कारण उक्त भागलाई समावेश नगरे रै म्याराथनलाई निरन्तरता दिन लागिएको बताए।

‘हामी माझ कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको अवस्था छ। यो अवस्थामा रन फर फन समावेश नगरी म्याराथनको आयोजना गर्न लागेका छौँ’, उनले भने, ‘कोरोना कहरको बिचमा सुरक्षा सतर्कता अपनाएरै भए पनि प्रतियोगिता आयोजना गरिँदा यसले खेल पर्यटनलाई प्रवद्र्धनमा थप सहयोग गर्नेछ।’
प्रतियोगिता सुरु हुने दिन फागुन १ गते खुल्ला तर्फको म्याराथन र महिलाहरूका लागि हाफ म्याराथन प्रतियोगिता राखिने भएको छ। यस्तै, फागुन २२ गते पुरुष-महिला ह्विल चियर दौड र पुरुष-महिला दृष्टिविहीन दौड आयोजना गरिने भएको छ।

चैत १४ गते पुरुष र महिलाका लागि १० किलोमिटर दूरीको दौड र वैशाख ४ गते पनि पुरुष र महिला दुवैका लागि ५ किलोमिटर दूरीको दौड राखिने भएको छ।
आयोजकका अनुसार खुल्ला म्याराथनको उपाधि जित्ने धावकले नगद दुई लाख रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै दोस्रो बन्ने धावकले एक लाख, तेस्रो बन्ने धावकले ७५ हजार र सान्त्वना स्थानमा आउने धावकले २५ हजार रुपैयाँ पाउने छन्।

यसैगरी, महिला तर्फको हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना बन्नेले क्रमशः एक लाख, ७५ हजार, ५० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। १० किलोमिटर पुरुष र महिला दौडमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पाउनेछन्।
अध्यक्ष गुरुङका अनुसार कार्यक्रम सम्पन्न गर्न करिब ५० लाख ६० हजार रुपैयाँ लाग्न सक्ने अनुमान गरिएको छ।

गत वर्ष सम्पन्न भएको १४ औँ संस्करणको म्याराथनको उपाधि जापनिज धावक ताकाना शिरोसुकीले जितेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.