सल्यान : सल्यानमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ। यससँगै सल्यान स्वास्थ्य बिमा कार्यक्रम लागु भएको ६३औं जिल्ला भएको छ।
स्वास्थ्य बिमा कार्यक्रम लागु भएपछि अति विपन्न परिवार, ज्येष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्ति लाभान्वित हुने स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामादर बसौलाले बताए। स्वास्थ्यको पहुँचबाट कोही पनि बिमुख नहुन् भनेर नेपाल सरकारले बिमा कार्यक्रम लागु गरेको बोर्ड सदस्य चन्द्र थापाले बताए। आगामी आर्थिक वर्षमा नेपालका ७७ वटै जिल्लामा कार्यक्रम लागु गरिने उनको भनाइ छ।
स्थानीय तहबाटै नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार सरकारले बिमा कार्यक्रम लागू गरेको थापाले बताए। बिमा परिचयपत्रको आधारमा बिमा गरिसकेका सदस्यहरुले सरकारले तोकेको अस्पतालबाट एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने छन्।
स्वास्थ्य बिमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा सरकारले बिमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको र अति विपन्न, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, एच आइभी संक्रमित परिवार, क्षयरोगीका परिवार, कुष्ठरोग संक्रमित परिवार, अति अशक्त अपांगता भएको व्यक्तिको परिवारलाई शतप्रतिशत, ५० प्रतिशत अनुदानमा महिला स्वास्थ्य स्वयमसेविका र उनको परिवारले बिमा बापतको शुल्क तिरिदिने व्यवस्था गरेको निर्देशक बसौलाले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।