|

सुजता लिम्बू 

विराटनगर : मोरङको मिक्लाजुङमा गत मंसिर २३ मा शिक्षक राजेन्द्र श्रेष्ठको निर्ममतापूर्वक हत्या भयो। स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानध्यापकसमेत रहेका श्रेष्ठको शव बर्खे जंगलमा घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको थियो।

५४ वर्षीय शिक्षक श्रेष्ठको घरैबाट लगेर जंगलमा हत्या भएको थियो। नेत्रविक्रम चन्द विप्लव समूहको मेची–कोसी ब्युरोले सोही दिन साँझ विज्ञप्ति जारी गर्दै  शिक्षक श्रेष्ठको हत्याको जिम्मा लिएको थियो। यद्यपि,श्रेष्ठको हत्या  भएको एक महिना बितिसक्दा पनि प्रहरीले हत्यारालाई पक्राउ गर्न सकेको छैन। घटना भएको यति समय बितिसक्दा पनि घटनामा संलग्न पक्राउ नपर्दा गाउँका स्थानीय त्रसित हुन थालेका छन्।

​मिक्लाजुङ १ का वीरेन्द्र लिम्बू भन्छन्,‘गाउँमै भएको यस्तो गम्भीर आपराधिक घटनामा पनि एक महिनासम्म कोही पक्राउ पर्न नसक्दा हामी सबै स्थानीय आत्तिएका छौँ।‘ शिक्षक श्रेष्ठको हत्यापछि मिक्लाजुङ १ आइतबारेमा नेपाल प्रहरी र सशस्त्रको संयुक्त बेस बसेको छ।

बेस क्याम बसेपछि केही सुरक्षित महसुस भए पनि यहाँका उत्तरी क्षेत्रको गाउँ त्रासमुक्त  बन्‍न नसकेको लिम्‍बूको भनाइ छ।

‘जिल्लाबाट आएका प्रहरी टोलीले एकदुई दिनको सुरक्षा दिएर मात्र हुँदैन’ उनले थपे, ‘यहाँका स्थानीयलाई सधैँका लागि शान्ति सुरक्षा दिन सक्नुपर्छ।‘

घटनाको सूक्ष्म अनुसन्धानमा छौँ : प्रहरी

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्का यस घटनाको सूक्ष्म अध्ययन भइरहेको र छिट्टै हत्‍यारा पक्राउ पर्ने  बताउँछन्। उनले भने, ‘केही तथ्य पनि फेला परेका छन्, प्राविधिक सहितका सबै पक्षहरुबाट हाम्रो अनुसन्धान अगाडि बढाएर हत्यामा संलग्नलाई छिट्टै पक्राउ गर्छौँ।‘

सबै पक्षबाट घटनाको सूक्ष्म अनुसन्धान भइरहेको  र सो उत्तरी क्षेत्रमा सुरक्षाका लागि थाइ प्रहरी पोष्ट राख्ने प्रयास भइरहेको उनले जनकारी दिए।

कतिपय मुद्दाहरुमा अनुसन्धान सफल भएर पनि फरार अपराधी पक्राउ पर्न केही समय लाग्ने भएकाले यो विषयमा आफूहरु दत्तचित्त भएर लागेको उनको भनाइ छ।

सुरक्षामा कमी हुन दिँदैनौँ  

त्यस्तै, गाउँघर र स्थानीयहरूको सुरक्षामा कमी हुन नदिने पनि प्रहरीले जनाएको छ। जनताको सुरक्षाकै लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक र सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा बेस क्याम्प राखिएको पनि प्रहरी प्रमुख एसपी खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.