|

काठमाडाैं : नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको सभापतिमा व्यवसायी अरूणराज सुमार्गी चयन भएका छन्। 

महासंघ अध्यक्ष शेखर गोल्छाले महासंघको कार्यकारिणी सदस्यसमेत रहेका सुमार्गीलाई मंगलबार केन्द्रको सभापतिमा मनोनयन गरिएको पत्र हस्तान्तरण गरे। सुमार्गीले मंगलबारै पदभार ग्रहण गरेका छन्।

जिल्ला तहमा सञ्चालन हुने कृषिसम्बन्धी सरकारी तथा गैरसरकारी कार्यक्रमहरूमा महासंघका तर्फबाट कृषि केन्द्रले समन्वय गर्छ। निवर्तमान अध्यक्ष भवानी राणा र पूर्वअध्यक्ष सुरज वैद्य लगायतले कृषि उद्यम केन्द्रको सभापति हुँदै अध्यक्षसम्मको यात्रा तय गरेकाले उक्त केन्द्रलाई महत्वपूर्ण मानिन्छ।

समिति सभापतिमा धेरैको दाबी रहँदै आएकोमा अध्यक्ष गोल्छाले व्यवसायी सुमार्गीलाई जिम्मेवारी सुम्पिएका हुन्।

यस्ता छन् सभापति सुमार्गीका योजना

पदभार ग्रहणपश्चात् पत्रकारहरूसँग कुरा गर्दै सभापति सुमार्गीले कृषिजन्य उत्पादनको बजारीकरण, कृषि उपजको निर्यात, सामूहिक खेती प्रणालीको विकास र कृषि प्रवर्धनका लागि स्थायी प्रादेशिक संरचना निर्माणमा भूमिका खेल्ने बताए। आफ्ना योजनाहरू अध्यक्ष गोल्छाले तयार पार्दै गरेको योजनापत्रमा समेत समेटिने उनले बताए। 

प्रत्येक ३–३ महिनामा केन्द्रका गतिविधि समेटेर बुलेटिन प्रकाशन गरिने सुमार्गीले जानकारी दिए। त्यसका साथै, कृषि उद्यम समितिले आगामी आर्थिक वर्षको बजेटअगावै सरकारसमक्ष सुझावपत्र पेश गर्ने र कृषि–उद्यम क्षेत्रको माग सम्बोधन गराउन पहल गर्ने सुमार्गीको प्रतिबद्धता छ। 

केन्द्रका गतिविधिमा अनियमितता भएको र बेरुजुसमेत देखिएको भन्ने प्रसंगमा सुमार्गीले केन्द्रलाई यथाशीघ्र बेरुजुरहित बनाउने प्रतिवद्धता जनाए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.