|

कञ्चनपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि एक समूहले अर्को समूहलाई कारबाहीका लागि सिफारिस गर्ने क्रम बढेको छ। 

मतभेद र विवाद बढेपछि नेकपा अध्यक्ष एवम्‌ प्रधानमन्त्री केपी शर्मा ओलीको एक समूह र साविक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाललगायत शीर्षस्थ नेताहरू रहेको अर्को समूहमा विभाजित भएको छ।

विभाजनले औपचारिकता नपाएपनि छुट्टाछुट्टै भेला र कार्यक्रम आयोजना एक समूहका नेताहरूले अर्को समूहमाथि कटाक्ष गरिरहेका छन्‌। त्यतिले नपुगेर केन्द्रदेखि स्थानीय तहसम्म अर्को पक्षमा लाग्नेमाथि कारबाही गर्ने अभियान नै चलेको छ।

​कञ्‍चनपुरमा पनि नेकपाभित्र यस्तै रमिता देखिएको हो। एक समूहबाट अर्को समूहमा गएका पदाधिकारीलाई कारबाही गर्ने शिलशिला नगरस्तरसम्म पुगेको छ। एउटै पार्टीमा रहेका पदाधिकारी र कार्यकर्ताहरू सामाजिक सञ्जालमा एक-अर्काविरुद्ध खनिइरहेका छन्‌।

एकले आयोजना गरेको कार्यक्रममा अर्को पक्षले आधिकारिक नभएकाले नजानका लागि समेत आग्रह गर्दै आएका छन्‌। दुवै पक्षबीच कटुता बढदै जाँदा कार्यकर्ताहरू केन्द्र प्रदेश र नगर स्तरमा मात्रै नभएर वडा स्तरमै विभाजित हुन पुगेका छन्‌।

कारबाही गर्ने लहर 

प्रचण्ड-नेपाल समूहले समेत पार्टी जिल्ला अध्यक्ष वीरबहादुर थापा सहितका सदस्यलाई कारबाही गर्न छलफल थालेको जनाएको छ।

पाँच दिन अघिमात्र शुक्लाफाँटा नगरपालिकाको नेकपाको प्रचण्ड-नेपाल समूहले ओली समूहमा गएका पार्टीका नगरअध्यक्ष भक्तराज जोशी र सचिव देवदत्त भट्टलाई कारबाहीका लागि सिफारिस गरेको थियो।

जिल्ला सचिव र कार्यालय सदस्यमाथि खनियो ओली समूह

दुई दिनअघि ओली समूहले भानु पार्टी प्यालेसमा गरेको भेलाबाट पार्टी सचिव तारालामा तामाङ र कार्यालय सदस्यलाई प्रदेश कमिटीमा कारवाही सिफारिश गर्‍यो।

भेलामा सहभागी नेताहरूका अनुसार प्रचण्ड-नेपाल समूहका सचिव तामाङ सहित कार्यालय सदस्य रविन्द्र कुँवरमाथि पनि कारवाही गर्न भेलाबाट प्रस्ताव गरिएको थियो। सहभागी सबैले समर्थन गरेपछि कारवाहीका लागि सिफारिश गरिएको हो।

ओली समूहका जिल्ला अध्यक्ष वीरबहादुर थापाले उनीहरूलाई कारवाहीका लागि प्रस्ताव गरेका थिए। नेकपा विभाजित भएपछि अध्यक्ष थापा ओली र सचिव तामाङ प्रचण्ड-नेपाल समूहमा विभाजित भएका छन्‌।

​नेकपा दुई समूहमा विभाजित भएपछि अध्यक्ष थापासहित कार्यालय उप सचिव सुभाष पन्त ओली समूहमा छन्‌। जिल्ला सचिव तामाङसहित कार्यालय सचिव रविन्द्र कुँवर र सदस्य देवेन्द्र ढुंगाना प्रचण्ड-नेपाल समूहमा लागेका छन्‌।

​जिल्ला अध्यक्ष थापा ओली समूहबाट केन्द्रीय सदस्य भएका छन्‌। जिल्ला कमिटीको रिक्त सचिव र कार्यालय सदस्य पूर्तिका लागि छलफल अघि बढेको छ।

ओली समूहको भेलाले जिल्ला कमिटीलाई ४ सय ५१ सदस्य बनाउने निर्णय गरेको छ। भेलामा केही जिल्ला कमिटी सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराएको छ।

तत्कालिन एमाले र एकीकृत माओवादी केन्द्र एकीकरण भएपछि १ सय ३५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको थियो। ओली समूहले त्यस कमिटीमा नयाँ सदस्य थपेर संख्या बढाउन लागेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.