|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समाचार संस्था जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले माफी माग्नुपर्ने बताएको छ। 

आज एक विज्ञप्ति जारी गर्दै नेपाली अस्मिता र स्वाभिमानमाथि धावा बालेको भन्दै तत्काल माफी माग्न अनेरास्ववियूले माग गरेको हो। 

‘प्रधानमन्त्री केपी ओलीले बालुवटारमा बोलाएर अन्तर्वार्ता दिएकै भोलिपल्ट भारतीय समाचार संस्था जी न्युजका प्रधान सम्पादक चौधरीले सगरमाथामाथि  अत्यन्तै आधारहीन, रहस्यमय र  कपोकल्पित ढंगले  पेस गरेको दाबीलाई अनेरास्ववियू खारेज गर्दछ,’विज्ञप्तिमा भनिएको छ, ‘नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध लगातार रुपमा विषवमन गर्दै आएको जी न्युजले आफ्ना कर्तुत उपर कुनै प्रायश्चित नगर्दै प्रधानमन्त्री स्तरबाटै बालुवटारको पटाङ्गिनीमा त्यसका प्रधान सम्पादकलाई नै रातो कार्पेट बिछ्याएर स्वागत गरिएको परिघटनाले हामीलाई थप आशंकित र आक्रोशित तुल्याएको छ। कूटनीतिक मर्यादा विपरीत भेटघाटबारे जनतासमक्ष अविलम्ब माफी माग्न जोडदार माग गर्दछौं।’ 

संविधान लत्याएर  प्रतिगमनको बाटोमा हिँडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नाममा  राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्‍याउने व्यक्ति र संस्थासँग रहस्यमय र अपारदर्शी भेटघाट र साँठगाँठ  नगर्नसमेत अनेरास्ववियूले चेतावनी दिएको छ। 

प्रधानमन्त्री केपी शर्माको अन्तर्वार्ता लिन शनिबार नेपाल आएका चौधरीले कालापत्थरबाट स्थलगत रिपोर्टसहित सामग्री तयार पार्ने क्रममा सगरमाथाको नाममा भारतको दाबी हुनुपर्ने बताएका थिए। ​

 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.