'पार्टी फुटिसकेको छैन, जोगाउन प्रचण्डले अभियोग फिर्ता लिनुपर्छ'

|

भद्रपुर, (झापा) : उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता बचाउनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको आरोप पत्र फिर्ता लिनुपर्ने बताएका छन्। ओली पक्षका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्य समिति झापाले बुधवार बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'कानुनी र औपचारिक रुपमा नेकपा पार्टी फुटेको छैन, अहिले विभाजित मात्र भएको हो, पार्टी एकता बचाउनु छ भने प्रधानमन्त्री ओलीमाथि लगाइएको अभियोग पत्र फिर्ता लिनुपर्छ' उनले भने, 'सरकारले विधि संगत निर्वाचनमा लागि जुन मिति सार्वजनिक गरेको छ त्यसलाई स्विकारेर आउनु पर्छ। अनि मात्र पार्टी एकता कायम रहन्छ, नत्र भने पार्टी एकता कायम रहँदैन।' 

प्रधानमन्त्री ओली नेतृत्वले नेकपा नै आधिकारिक भएको दाबी गरे। 'ओली नेतृत्वको नेकपा नै आधिकारिक हो। जहाँ ओली चुनाव चिन्ह सूर्य पनि त्यही हुन्छ' उनले भने, 'नेकपा र चुनाव चिन्हमाथि कसैले आँखा नलगाए हुन्छ, यो पार्टी र चुनाव चिन्ह केपी शर्मा ओली नेतृत्वकै हो।' 

पार्टी एकता भएदेखि नै पार्टीभित्र आन्तरिक द्वन्द्व सुरु भएको बताए। 'नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बीच देश विकास, कोरोना नियन्त्रणको विषयमा कुरो हुँदैन थियो, बैठकमा पावर र पद सेरिङको विषयमा मात्र कुरा हुन्थ्यो' उनले भने, 'सचिवालयको बैठक ७५ पटक बस्यो, ७५ पटक बसेको बैठकमा सेरिङको विषयमा मात्र छलफल भयो, मैले आफैँले माइन्युट हेरेर आएको छु, यो कुरा भन्न पनि मलाई लाज लाग्छ।' 

'राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्तावको योजना अन्तरगत विशेष अधिवेशनको माग राख्दै अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले हस्ताक्षर गरेर कागज प्रधानमन्त्रीलाई पठाएको थियो' उनले भने, 'त्यही भएर प्रधानमन्त्री ओलीले यो कदम चाल्दै नयाँ जनादेशका लागि निर्वाचनमा जाने तयार हुनुभएको हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.