ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक भएको तर्क

|

डडेल्धुरा : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश सिंह ठगुन्नाले केपी शर्मा ओली अध्यक्ष भएको समूह नै आधिकारिक नेकपा भएको बताएका छन्। 

बुधबार डडेल्धुरामा पत्रकारसँगको भेटघाटमा उनले प्रचण्ड–माधव समूहले आधिकारिक नेकपा भनेर प्रचारबाजी गरे पनि ओली अध्यक्ष भएको समूह नै आधिकारिक भएको बताएका हुन्।

प्रचण्ड–माधव समूहले पार्टी अध्यक्ष भनेर पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भने पनि पार्टीको अध्यक्ष ओली नै भएको उनको भनाइ छ। उनले अहिले सूर्य चिह्न कसको भन्ने बहस चले पनि ओली समूहको भएको बताए।

‘नेपाल कम्युनिष्ट पार्टी नेकपा नेपालको कम्युनिष्ट आन्दोलनको मूलधारको रूपमा अगाडि बढ्छ। हाम्रा एजेन्डा भनेका मिचिएका भूमि फिर्ता लिने, राष्ट्रियताको संरक्षण गर्ने, सुखी नेपाली र समृद्ध नेपाललगायत हुन्,’ उनले भने, ‘आगामी निर्वाचनमा प्रस्ट एजेन्डासहित जाने हो। नेपाली जनताले सहयोग गर्छन्।’

प्रधानमन्त्री ओलीलाई पार्टीभित्रबाट र अन्तर्राष्ट्रिय शक्तिले काम गर्न नदिएपछि संसद् विघटन गरिएको उनको भनाइ छ। देश अस्थिरतातर्फ जाने संकेत पाएर संसद् विघटन भएको उनले औँल्याए।

‘दुई तिहाइको सरकारका प्रधानमन्त्रीले संसद् विघटन गरेर निर्वाचन घोषणा गरिसकेपछि अब त्यसबाहेक जस्तोसुकै शक्तिले संसद् विघटन उल्ट्याउन सक्दैन। अब निर्वाचन उपयुक्त विधि हो,’ उनले भने।

लोकतान्त्रिक पद्धतिमा प्रधानमन्त्रीलाई हटाउन बहस चलाउने, संसदीय दलमा भोटिङ गरेर नेतृत्व परिवर्तन गर्ने हो। तर, सांसदलाई झुक्याएर महाभियोग लगाउने हो?' उनले प्रश्न गरे।

राजनीतिक आन्दोलन धेरै गरिसकेकाले अहिलेको समय भनेको सडकमा टायर बाल्ने, विरोध गर्ने, गालीगलौज गर्ने अवस्था नभएको उनको भनाइ छ। उनले नेपालको राजनीतिक इतिहासमा अब रचनात्मक कार्य गरेर जनतालाई परिवर्तनको महसुस गराउने समय भएको बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.