कांग्रेसको आन्तरिक विवाद सहजै मिलाउने दाबी

|

पर्वत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो वैशाखका लागि तोकिएको निर्वाचन नभए प्रधानमन्त्री ओलीलाई देशमा बस्नै नसक्ने गरी धक्का दिने चेतावनी दिएका छन्।
पर्वतका शहीद हरिदत्त तिवारीको १८ औँ स्मृति सभामा सहभागी हुन आएका उनले अदालतले संसद् पुनस्थापना नगरेमा अब निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै यस्तो चेतावनी दिएका हुन्।

‘पहिले ओलीलाई भोट दिएर जिताउने अहिले बदमास रहेछ भन्न पाइन्छ? अहिले बदमास भन्ने भए त्यतीबेला भोट किन दिएको छ?’ सभापति देउवाले भने, ‘वैशाखमा चुनाव गराउन नसके ओलीलाई यो देशमा बस्नै नसक्ने गरी कांग्रेसले धक्का दिन्छ।’
संसद् विघटनको मुद्दा अदालतमा रहेको बेलामा कसैले पनि अदालतलाई दबाब दिने काम गर्न नहुने बताउँदै उनले कांग्रेसले कहिल्यै पनि यस्ता खराब काम नगरेको दाबी गरे।

सर्वोच्च अदालतलाई सदनले दबाब दिने भए सर्वोच्च अदालत किन चाहियो? भन्ने प्रश्न गर्दै देउवाले अहिलेको अवस्थामा अदालतले बिचार पुर्‍याउने भएकोले अदालतलाई धम्क्याउने काम गर्न नहुने उल्लेख गरे। ‘सर्वोच्च अदालतलाई सदनले दबाब दिने भए सर्वोच्च अदालतको के काम? कांग्रेसले कहिल्यै पनि अदालतलाई प्रेसर दिँदैन।’

उनी भन्छन्, ‘संविधानको व्याख्या गर्ने अदालतले हो। देशमा विज्ञ र वकिलहरू छन्, उनीहरूले यो विषयमा बहस गर्ने छन्।’
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि भइरहेका आन्दोलनप्रति लक्षित गर्दै उनले अदालतमा विचाराधीन मुद्धामा कसैले पनि दबाब सिर्जना गर्न नहुने बताए। जनता सर्वोच्च अदालत भन्दा पनि शक्तिशाली अदालत भएकोले निर्वाचनबाट जनताको माझमा पुगेर भोट लिएर जितेर आउन कोही पनि डराउन नहुने सभापति देउवाको भनाई छ।

‘एक दिन जनताको माझमा जानै पर्छ। जनताको भोट लिएर आउनपर्छ । त्यसका लागि चुनावसँग डराउने अवस्था त हुँदै हुँदैन नि। जनताको भोट पाउनु भनेको जनताको साथ पाउनु हो।’ उनले भने, ‘अब काँग्रेसीहरू पनि जनताको घर घरमा पुगेर दुःख सुखमा साथ दिएर चुनावको तयारीमा पनि होमिनुपर्छ।’

पार्टीको विवाद सहजै मिलाउँछु

पार्टीभित्रको विवादको विषयमा बोल्दै सभापति देउवाले आफू सभापति भएकोले पार्टीभित्रको विवाद मिलाउनु नै आफ्नो कर्तव्य भएको बताए। विगतमा कृष्णप्रसाद भट्टराईले पार्टी छोडेको जस्तो अब कसैले पनि कांग्रेस छोडेर हिँड्नुपर्ने अवस्था आउन नदिने उनको भनाइ छ।

‘म सभापतिका हैसियतले पार्टीभित्रको विवाद मिलाउन जुनसुकै बेलामा पनि प्रयासरत हुन्छु। विवाद मिलाउने मेरो कर्तव्य हो। सभापति भएपछि म आफै पार्टी बिगार्न हिँडुँला र?’

देउवाले भने, ‘कृष्णप्रसाद भट्टराईले जसरी पार्टी छोडेर हिँड्नुपर्ने अवस्था अब कांग्रेसमा आउँदैन।’
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा स्थानीय तह सङ्गठन विभागका प्रमुख अर्जुनप्रसाद जोशीले नेपाली जनताले वर्तमान सरकारको कामलाई भोगिसकेकोले अब देशमा कांग्रेसकै सरकार आवश्यक रहेको अनुभव गरेको बताए। तर विगतमा जस्तो कांग्रेसको ठाउँमा अब सुधारिएको कांग्रेस बनेर जनताको माझमा जानुपर्ने उनको भनाई छ।
शहीद हरिदत्त तिवारीलाई तत्कालीन माओवादीले २०६० सालमा हत्या गरेका थिए। त्यसपछिको वर्षबाट शहीद तिवारीको सम्झनामा हरेक वर्ष विभिन्न कार्यक्रमहरू हुँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.