'स्मार्ट सिटी'को अवधारणाअनुसार बनाइने

|

काठमाडौं : ‘उफ्फ, काठमाडौंको धुवाँधुलो !!’

अस्तव्यस्त र प्रदुषित संघीय राजधानीमा बसिरहेका शहरबासीहरू प्राय: यसो भनिरहन्छन्‌। उपत्यकाका सडकबाट उडेको धुलोले दिउँसै रात परेको अनुभूति जो-कसैलाई पनि हुन्छ। खाल्डाखुल्डी, धुवाँ, धुलो र हिलोको पर्याय बनिसकेको छ काठमाडौं शहर। 

हरेक बर्खायाममा ग्वार्को, खसीबजार, मैत्रीनगर र सीतापाइला लगायत क्षेत्र डुबानमा पर्नेगर्छ। अर्कातर्फ यत्रतन्त्र बिजुली इन्टरनेट, टेलिकममा तारहरू लत्रिएका छन्। जसले शहरको शौन्दर्य घटाइदिएको छ। सवारीसाधनबाट निस्किएको धुँवाका कारण वायु प्रदूषण पनि भैरहेको छ। 

सरकारले अस्तव्यस्त शहरलाई व्यवस्थित बनाउनको लागि चार ठाउँमा पाँच वर्ष अघि नै नयाँ शहर (स्मार्टसिटी) बनाउने योजना बुनेको थियो। तर, अहिलेसम्म याँ शहर बन्न सकेन। बस्ती विस्तार बढिरहेको छ।खुला ठाउँ र हरियाली प्राकृतिक रुखहरू मासिँदै गएको छ। त्यसो त शहरबासीलाई अहिले नै उकुसमुकुस भैरहेको छ। 

‘काठमाडौं भन्दा गाउँ नै राम्रो’

रामेछापकी विनिता अधिकारी जोरपाटीको छहारी क्लब नजिक बस्दै आएको चार वर्ष भयो। चार वर्षको अवधिमै अस्तव्यस्त शहरले दिक्दार भएको उनी सुनाउँछिन्‌।

भन्छिन्‌, ‘काठमाडौंमा सबै सेवासुविधा भएपनि बढी धुवाँ, धुलो र हिलोले नै बस्न सकिएन, कोठाबाहिर निस्कियो कि मास्क लगाइहाल्नुपर्छ, यसरी त रोगले छिट्टै अस्वस्थ्या भइन्छ होला, यहाँ भन्दा गाउँ धेरै राम्रो।’ उनले धर्म,संस्कृति र प्राकृतिक रुपमा पनि गाउँ नै राम्रो हुने सुनाइन्‌।

‘डीपीआर तयार भैसकेको छ, मन्त्रीपरिषदले स्वीकृत गरेपछि काम शुरू हुन्छ’

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रवक्ता घनश्याम पौडेलले चार शहर निर्माणका लागि डीपीआर तयार भैसकेको जानकारी दिए।

उनले भने, ‘चार शहरमध्ये तीन वटा शहरको डीपीआर बनिसकेको छ, यसको भौतिक विकास समितिले स्वीकृत गरिसकेको छ, एउटा डीपीआर बन्न बाँकी छ। मन्त्रिपरिषदले स्वीकृत गरेपछि टेण्डर लगाई काम शुरू हुन्छ।’ 

यी ठाउँमा बन्नेछन् नयाँ शहर

पहिलो शहरको नाम ‘काठमाडौ इसान’ राखिएको छ। यो काठमाडौंको उत्तर-पूर्वी दिशामा निर्माण हुनेछ। जसमा पूर्वतर्फको भक्तपुरबाट नगरकोट शहर, तेलकोट भञ्जाङ, जोरपाटी क्रिकेट मैदान, मूलपानी, गोठाटार हुँदै मनोहरा पुल, साँखु जाने सडक र साँखुबजारसम्मको भाग समेटिइनेछ।

प्रवक्ता पौडेलले भने, ‘चार शहरमध्ये यो ठूलो शहर बन्नेछ, एक लाख रोपनी क्षेत्रफलमा पोखरी, पुल,टनेल, केवल स्टेड पुल र वातावरणमैत्री स्वीमिङ पुल बन्नेछ, निर्माण लागत दुई खर्ब ८६ अर्ब रुपैयाँ अनुमान गरिएको छ।’ 

दोस्रो शहरको नाम ‘काठमाडौं आग्‍नेय’ नाम राखिएको छ। पूर्वको अरनिराजमार्गको सुर्यविनायक चोकदेखि वनलाई बाहिर पार्दै शहर निर्माण हुनेछ। बन्न लागेको नयाँ शहर १० हजार रोपनी क्षेत्रफलमा फैलिने छ। यसको लागत २२ अर्ब रुपैयाँ अनुमान गरिएको छ।

तेस्रो नयाँ शहरको नाम ‘काठमाडौं नैऋत्य’ राखिएको छ। यसमा दक्षिण-पश्चिमको ललितपुर आसपासका क्षेत्रलाई समेटिने छ। यसको क्षेत्रफल पनि करिब १० हजार रोपनीमा फैलिने छ। चौथो नयाँ शहरको नाम ‘उत्तर दिशा काठमाडौं’ राखिएको छ।

करिब १० हजार रोपनीमा बन्न लागेको शहर पूर्वमा सामाखुशी, टोखा रोड हुँदै बाइपास पुग्नेछ। त्यस्तै, पश्चिममा काभ्रेस्थली बाइपास जाने मूल सडक छुनेछ। प्रवक्ता पौडेलका अनुसार इशान शहर बाहेक अन्यमा वातावारणमैत्री, भूमिगत पानीको सञ्चय, बैंक वित्तीय संस्था र सपिङ सेन्टरलगायत बन्नेछन्‌। तर, टनेल पोखरी बन्ने छैन। काठमाडौं नैऋत्य शहरमा भने खोकनाबासीले विरोध जनाएका कारण डीपीआर बन्न नसकेको उनले जानकारी दिए।

‘शहरी विकास मन्त्रालयका मन्त्री हेरफेर भैरहेकाले पनि काम अगाडी बढाउन समस्या भएको छ,’ उनले भने, ‘इशान शहर निर्माण ७ वर्षमा सक्‍ने लक्ष्य लिएका छौँ भने अन्य शहरपनि पाँच-पाँच वर्षमा तयार भइसक्छ, त्यसपछि शहर व्यवस्थित हुन्छ।’ 

उनका अनुसार जग्गा दिने नागरिकको सहमतिमै डीपीआर बनेकोले मुआब्जा दिइनेछैन। ‘यो जिरो लागतमा आधारित आयोजना हो, उनीहरूले शहरको लागि आठ रोपनी भए दुई/चार रोपनी दिने भएका छन्। पछि विरोध पनि गर्देनन्, बरु छिटो काम सुचारु गर्न माग गरिरहेका छन्,’ उनले भने।

सबै शहर बनाउन करिब पाँच खर्ब लाग्ने प्राधिकरणले जनाएकाे छ।

शहरी योजनाकार भन्छन्‌ : अबको वास्तकविक शहर वातावरणीय हुनुपर्छ

शहरी विकास मन्त्रालयका पूर्व सचिव एवं शहरी योजनाकार किशोर थापा उपत्यकाका शहर अब वातावरणीय बताउनुपर्ने बताउँछन्‌। भन्छन्‌, ‘अस्तव्यस्त शहरको आयु छोटो हुन्छ, हामी बाच्न सक्दैनौँ, अब ऐतिहासिकता झल्काउने शहर बनाउन नसकेपनि वातावरणीय पक्षलाई ध्यानमा राखेर शहर बन्नुपर्छ।’

अब बन्न लागेको चार शहरको विषयमा उनी सहमत छन्। तर शहर भने खुला हुनुपर्ने धारणा राख्छन्‌। ‘अबको समयमा हामी आधुनिकतामा जानुपर्छ, बन्न लागेका शहरमा सपिङ सेन्टर र वित्तीय संस्था खोलेर मात्रै भएन, हरियाली वातावरण र पार्क हुनु आवश्यक छ।’ 

उनका अनुसार उपत्यकामा बस्ती भरिदैँ जाँदा प्राकृतिक स्रोतसाधन पनि मासिँदै गएका छन्। जसले शहरबासीलाई प्रत्यक्ष असर पुर्‍याएको छ। त्यसो त अब बन्ने शहरमा खुला ठाउँँ, पार्क र शान्त वातावरण हुनु आवश्यक छ। ‘अब पेट्रोलियम खपत कम हुनुपर्छ,’ उनले भने, ‘ग्यासलाई त्यागेर हरेक घर-घरमा बिजुलीबाट खाना पकाउनुपर्छ।’

उपत्यकामा बढी पूराना सवारीसाधनबाट निस्केका धुवाँधुलोले वायु प्रदुषण भएको भन्दै यस्ता सवारी साधन सञ्‍चालनमा रोक लगाउनुपर्ने उनी बताउँछन्‌।

उपत्यका शहरी विकास प्राधिकरणका पूर्व आयुक्त एवम्‌ शहरी योजनाकार योगेश्वर पराजुली भन्छन्‌, ‘नेपालमा कानुन बलियो नभएका कारण शहर अव्यवस्थित भएको हो। सरकारले बनाएको शहरी व्यवस्थापन मापदण्ड अन्तराष्ट्रिय स्तरकै छ तर, फितलो छ।’

उनका अनुसार वास्तविक शहरमा चोक, बहाल, बस्ती र प्रशस्त चौतारीहरू चाहिन्छ। व्यवस्थित, दीर्घकालिन र ऐतिहासिक झल्काउने खालका मठमन्दिर, पोखरी लगायत निर्माण र शहर रातको समयमा झिलिमिलि हुनु आवश्यक छ।

सडक विभाग र दुरसञ्चार प्राधिकरण लगायत निकायसँग समन्वय गरी काम अघि बढाउनुपर्नेमा उनले जोड दिए।

यसकारण अस्तव्यस्त छ शहर

शहरबासीहरू सजिलै बाहिर हिँड्न सकिरहेका छैनन्‌। काठमाडौंले विश्वकै प्रदुषित शहरको कुख्याती कमाइसकेको छ।

शहर अस्तव्यस्त हुनुको कारणबारे योजनाकार थापा भन्छन्‌, ‘जहाँ बढी सेवा सुविधा र आवश्यकताको परिपूर्ति हुन्छ, त्यहाँ बढी जनसङख्या वृद्धि हुन्छ। राज्यले बढ्दो जनसङ्ख्यालाई चाहिने सेवासुविधा पुर्‍याउन सकेन। समयमा अव्यवस्थित संरचनाहरू बनाउन सकिएन। अव्यवस्थित र अस्वस्थकर हुनेगरी काठमाडौँमा बस्ती बस्न पुग्यो।’ 

उनका अनुसार सरकारले व्यवस्थित शहरको मापदण्ड बनाएको छ। जसमा शहरलाई व्यवस्थित र सभ्य बनाउनको लागि पर्याप्त पूर्वाधार, व्यवस्थित सडक, ढल निकास, खानेपानीको पर्याप्त व्यवस्था, फोहोर मैला व्यवस्थापन, व्यवस्थित फुटपाथ, साइकल ट्रयाक, सडकका पेटीमा बस्ने ठाउँ, छहारी जस्ता कुराहरू व्यवस्थित शहरको मापदण्डमा उल्लेख छ। तर, ती मापदण्ड पालना नगरिएको शहरी योजनाकार थापा बताउँछन्।

पहिला वर्षात शुरू हुनुअघि नै नेवार समुदायले इनार, कुवा, पोखरी र टोल सफा गरेर सिटी नखः मनाउने गरेका थिए। अहिले पनि यो चलन कायम छ। यसमा सबैको सहभागिता हुनुपर्नेमा उनको जोड छ।

‘व्यवस्थित शहर बनाउन पहिला नागरिक आफैँको पहल हुनुपर्छ, सरकारले सबै नागरिकलाई पनि सचेत गराउनुपर्छ, विकास निमार्ण गर्दा वातावरणसँगै प्राचीन र ऐतिहासिक सम्पदालाई संरक्षण गर्नुपर्छ, प्राचीनता र आधुनिकताको संयोजन हुनुपर्छ,’ शहर व्यवस्थित बनाउने उपाय उनले सुझाए, ‘काठमाडौँ शहरलाई आधुनिकता र ऐतिहासिकता दुवै चाहिन्छ, त्यसैले अब बन्न लागेको नयाँ शहर त्यस्तै हुनु आवश्यक छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.