|

काठमाडौं : नेपाल सरकारले सबै सार्वजनिक सेवाहरु एउटै एपबाट दिने गरी ‘नागरिक एप’ सार्वजनिक गरेको छ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी नागरिक एपको सार्वजनिक गरेका हुन्। नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन तथा सबै प्रकारका काममा अनलाइन प्रणाली अपनाउन नागरिक एपको सञ्चालन गरिएको मन्त्री गुरुङले बताए। सेवाग्राहीले अब लामो लाइन र झन्झटिलो प्रक्रिया अपनाउनु नपर्ने उनको भनाइ छ।

नागरिक एप आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत प्रयोग गर्न सकिने जनाईएको छ। सेवाका लागि प्रयोगकर्ताले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ। सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा नागरिक एपको परिकल्पना गरेको थियो। तीन वर्षपछि यसले पूर्णता पाएको हो।

नागरिक एपबाट प्यान कार्डसम्बन्धीआवेदन गरी प्यान नम्बर प्राप्त गर्ने, सरकारलाई तिरेको करको विवरण मोबाइल सेटमार्फत जानकारी लिन सकिने जनाइएको छ। यस्तै, नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न, नागरिक लगानीकोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरुको जानकारी लिन सकिने छ।

यस्तै, हेलो सरकारमा गुनासो गर्न सकिने, सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरिएको पनि हेर्न सकिने जनाइएको छ। फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक बिदाको दिन पनि सेवा लिन सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.