|

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले भूकम्पबाट हुने क्षति कम गर्न भवन संहितालाई कडाइका साथ पालना गर्न जरुरी रहेको बताएका छन्। 

२३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार मध्यपुर थिमिको बोडेमा आयोजित राष्ट्रिय कार्यक्रममा गृहमन्त्री थापाले संसारमा भूकम्पले सबैभन्दा बढी क्षति भवन भत्किँदा हुने भएकाले यसलाई कम गर्न भवन संहितालाई कडाईका साथ पालना गर्नुपर्ने बताएका हुन्।

गृहमन्त्री थापाले घरभित्र हुँदा कसरी आफू सुरक्षित हुने भन्ने ज्ञान नहुँदा बढी क्षति हुने गरेको उल्लेख गर्दै यसलाई कम गर्न कस्तो सुरक्षा अपनाउने भनी भवन आचार संहिता निर्माण गरी लागु गरेको प्रष्ट्याए। ‘कस्तो खालको भवन निर्माण गर्ने भन्ने बारे जनतालाई सचेत पार्ने भवन संहिता कडाइका साथ पालना गर्नुपर्छ। अनिर्वाय पालना गर्नुपर्छ,’ उनले भने, ‘भवन संहिताअनुसार भूकम्प प्रतिरोधी घर निर्माण नगर्ने हो भने हामी आफ्नो सुरक्षा गर्न सक्दैनौं। भूकम्प प्रतिरोधी घरहरु निर्माण हुन जरुरी छ। त्यो सचेतना हुन जरुरी छ।’

भूकम्पबाट बच्न यसबारेको सचेतना र जागरण आवश्यक भएकोमा गृहमन्त्री थापाले जोड दिए। ‘भूकम्पको सामना गर्न पहिलो कुरा सचेतना, जागरण र सजगता आवश्यकता छ,’ उनले भने, ‘हामी सजग भयौं, हामी जागरुक भयौं, भूकम्प र यसको परिघटनाको बारेमा ज्ञान भयो भने यसको जोखिमबाट र यसले निम्त्याउने विपतबाट आफ्नो रक्षा आफैं गर्न सक्छौं।’

नेपाल भूकम्पीय जोखिम क्षेत्रभित्र पर्ने भएकाले विगतका जस्तै भविष्यमा पनि भूकम्प आउने चर्चा गर्दै गृहमन्त्री थापाले नेपाली नागरिकको जीउधनको सुरक्षा कसरी गर्ने भन्ने सचेतना फैलाउन सचेतनामुलक कार्यक्रम गर्दै जानुपर्ने बताए। उनले भने, ‘आम नागरिकहरुलाई सचेत पार्ने, आफ्नो सुरक्षा आफैं गर्ने, निरन्तर सचेतना, जनजागरण कार्यक्रमहरुलाई निरन्तर अघि बढाएर भूकम्पबाट हुने जनधनको क्षतीको न्यूनिकरण गर्न सक्छौं। ती चुनौतीको सामना गर्न सक्छौं।’

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले २०७२ सालको भूकम्पपछि आममानिसमा भूकम्पबारे सचेतना फैलिएको बताए। उनले २०७२ सालको भूकम्पले क्षति पुगेका ७ लाख ९१ हजार निजी घरमध्ये सरकारले गर्दा भन्दा पनि जनता आफ्नै अग्रसरताले ९१ प्रतिशत घरको पुनर्निर्माण सकिएको जानकारी दिए। उनले भने, ‘निजी आवास क्षेत्रमा प्राप्त ससफलता सरकारले भन्दा पनि जनता आफैंले गर्दा भएको हो।’ 

नेपालकै विगत र विश्वकै परिस्थति हेर्दा पनि नेपालको उपलब्धि सन्तोषनक भएको उनले दावी गरे। ज्ञवालीले ७ हजार ५५३ विद्यालयमध्ये ६ हजारभन्दा धेरै पुनर्निर्माणको काम सम्पन्न भइसकेको र ९२० वटाभन्दा बढी सम्पदा क्षति भएकामा ६१ प्रतिशत बराबरको काम सम्पन्न भएको जानकारी दिए।

मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले २०५७ सालदेखि भवन संहिता लागु गरेकाले २०७२ सालको भूकम्पले तुलनात्मकरुपमा थिमिमा कम क्षति भएको बताए। उनले जनता आफैंमा भवन संहिताअनुसार बलियो घर बनाउनपर्छ भन्ने सचेतना आएको बताए।

कार्यक्रममा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको उद्घाटन र एनसेटका प्रतिनिधि विजयकृष्ण उपाध्याय नेतृत्वको टोलीले ‘घुँडा टेकी गुडुल्की ओत लागी’को व्यवहारिक ज्ञान दिइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.