|

सल्यान : सुन्तला गाउँको रूपमा चिनिएको जिल्लाको बागचौर नगरपालिका-८ र ९ का किसानले वार्षिक पाँच करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन गर्दै आइरहेका छन्। 

गत वर्षको तुलनामा भने यस वर्ष सुन्तला उत्पादन कम भएको किसानहरूले बताएका छन्। दाना लाग्ने समयमा वर्षा भएका कारण सुन्तला उत्पादनमा गिरावट आएको हो। 

विश्वभर फैलिएको कोरोना भाइरस रोगका कारण व्यापारीहरू बगानमा आउन हिच्किचाएको बागचौर नगरपालिका-९ का किसान अंगेश्वर डाँगीले बताए। विगत २८ वर्षदेखि व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका डाँगीले कोटमौलामा मात्र वार्षिक ५ करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको बताए।

कोटमौलाका पाँच सय किसानहरूले सुन्तला खेती गरिरहेका छन्‌। सुन्तला बिक्रीबाट वार्षिक ५ लाखदेखि ३० लाख रुपैयाँसम्म कमाउने गरेको रेशम डाँगीले बताए।

३५ रोपनी क्षेत्रफलमा करिब पाँच सय बोट लगाएका रेशमले गत वर्ष मात्र ९ लाख रुपैयाँ आम्दानी गरेका थिए। यो वर्ष भने कोरोना कहर र उत्पादन नै कम भएकाले आम्दानी केही घट्ने बताए। 

यस्तै, गत वर्ष ३४ लाख सुन्तला बिक्री गरेको भरतनाथ योगीले यो वर्ष भने उत्पादनमा कमी आउने बताए। व्यापारीहरू अहिलेसम्म नआएको र सुन्तलाको आकार पनि सानो भएकाले गर्त वर्षको तुलनामा कमी आउने उनले आंकलन गरेका छन्‌। 

सल्यानमा १ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। हाल ९ सय ८० हेक्टरमा सुन्तला उत्पादन भइरहेको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.