|

लमजुङ : स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको छ। नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले नेपाल सरकारले थालेको स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने लमजुङ ६४ औं जिल्ला हो।

२०७२ सालमा कैलालीबाट शुरू गरिएको उक्त कार्यक्रम अन्य जिल्लाहरूमा लागू भएपनि यसअघि लमजुङ जिल्लाका बासिन्दाहरू भने बञ्चित बनेका थिए। स्वास्थ्य बीमा कार्यक्रम जिल्लाभर लागू गर्न सबै स्थानीय तहका वडा–वडामा दर्ता सहयोगी जनशक्ति नियुक्त गरिएको छ।

जिल्लाका ७५ वडामा एक/एकजनाका दरले सहयोगी नियुक्त गरिएको हो। गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाकाआधारमा सबैको स्वास्थ्य सेवा सुनिश्चित गर्ने राष्ट्रिय स्वास्थ्य बीमा नीति, २०७१ को दीर्घकालीन लक्ष्यअनुसार कार्यक्रम अघि बढाइएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए। 

स्वास्थ्य बीमा गर्न पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५०० र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप ७०० रुपैयाँ बीमा रकम तिर्नुपर्ने व्यवस्था छ। स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बीमा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा पनि प्राप्त हुनेछ। 

त्यस्तै, पाँचजनाको परिवारले आवश्यक पर्दा वार्षिक एक लाख र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रतिथप सदस्य २० हजार थप गरी दुई लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्था रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.