|

काठमाडौं : कोभिड–१९ का कारण चैत ११ गतेदेखि लकडाउन भएसँगै शैक्षिक क्रियाकलापका गतिविधि ठप्प भए। लामो समयसम्म शैक्षिक संस्था बन्द हुँदा विद्यार्थीहरूको पढाइमा असर पुग्यो। लकडाउन भएको झण्डै ९ महिनापछि अहिले भने विद्यालयहरू सञ्चालनमा आउन थालेका छन्।

विद्यार्थी पढ्न पाए पनि एसइई परीक्षा कहिलेबाट हुने भनी टुंगो नलागेका कारण परीक्षार्थी चिन्तित छन्। अघिल्लो वर्षहरूमा एसइई परीक्षा चैत महिनामा हुने गरेको थियो। तर, यस वर्षको परीक्षा कहिले हुने भन्‍नेमा अन्योलता कायमै छ। यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले समेत अहिलेसम्म टुंगो लगाउन सकेको छैन। 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेलले एसइई परीक्षाको विषयमा मन्त्रालयले  नै टुंगो लगाउनुपर्ने बताए। उनले भने,‘परीक्षाको विषयमा हामीले निर्णय गरेर हुँदैन। मन्त्रालयले परीक्षाको लागि निर्देश गरेपछि मात्रै परीक्षा कहिलेबाट हुन्छ भन्ने जानकारी हुन्छ।’

उनका अनुसार बोर्डले परीक्षाको मिति छिटो टुंगो लगाउन मन्त्रालयमा पत्रचारमार्फत माग भने गरिसकेको छ। तर,अहिलेसम्म मन्त्रालयबाट त्यसको केही जवाफ आएको छैन।

प्याब्सनको माग : माघ १५ भित्रमा मन्त्रालयले परीक्षा मिति तोक्नुपर्छ

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले विद्यार्थी चिन्तित र अन्योलता छाएको भन्दै यस वर्षको परीक्षाको समय माघ १५ भित्रमा टुंगो लगाउन मन्त्रालयसँग माग गरे।

‘पहिला मन्त्रालयले जेठमा परीक्षा गराउने भनेको थियो,’उनले भने,‘यसमा हाम्रो सहमत छ। तर, गराउने वा नगराउने भन्ने टुंगो नै लगाउन सकेन। अब मन्त्रालयले यसरी अन्योलमा राख्न मिल्दैन। तत्काल यसको टुंगो लगाउनुपर्छ भन्ने हाम्रो माग छ।’

मन्त्रालयले एसइई परीक्षा मिति छिट्टै नतोकेमा कक्षा–११ को पढाइलाई समेत असर पुग्ने उनको भनाइ छ। ‘जेठमा परीक्षा भएमा साउनबाट कक्षा–११ को भर्ना गराउन सकिन्छ। योभन्दा पनि  पछिको मिति तोकियो भने कक्षा–११ को पढाइमा समस्या हुन्छ। सधैँ चैतमा परीक्षा भए पनि कोरोनाका कारण त्यही समयमा चाँहि गर्न नसकिएला’ अध्यक्ष पुरीले भने। 

मन्त्रालय छलफलमै व्‍यस्त

मन्त्रालयका प्रवक्त दीपक शर्माले परीक्षाको विषयमा मन्त्रालयमा छलफल भइरहेको जानकारी दिए। उनले भने,‘ यस वर्षको एसइई परीक्षा कहिलेबाट  गराउने भनेर टुंगोमा पुगेको छैन। यस विषयमा मन्त्रालयमा निरन्तर छलफल भइरहेको छ। परीक्षाको टुंगो लागेपछि सार्वजनिक गरिहाल्छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.