काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतबाहिर कसैले कुरामा अदालत र इजलासको सरोकारको विषय नहुने बताएका छन्।
संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा बहस गरिरहेका बेला प्रश्न उठेपछि आइतबार प्रधानन्यायाधीश राणाले बाहिरको कुरामा इजलासको सरोकार नहुने जवाफ बताएका हुन्।
निवेदकका तर्फबाट वहस गर्दै अधिवक्ता सुनिल पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई दवाव पुग्ने ढंगले अभिव्यक्ति दिएको र पूर्व प्रधानन्यायाधीशहरुले नागरिकका हैसियतले संयुक्त वक्तव्य दिएको बिषयलाई लिएर आपत्ति जनाउने जस्ता काम गरेकोमा इजलासको राय के छ भनी प्रश्न उठाएका थिए।
त्यसको प्रत्युत्तर दिँदै प्रधानन्यायाधीशले भने, ‘बाहिर कसले के भन्यो हाम्रो सरोकारको कुरा होइन। कानुनमा छैन। हाम्रो माइन्डमा छैन। हार्टमा पनि छैन। इजलासभित्रको विषयमा जे छ त्यो हाम्रो सरोकार हो।’
संसद् विघटनपछि चार जना पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझी र अनुपराज शर्माले संयुक्त विज्ञप्ति जारी गरेर आकर्षित नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको र यो असंवैधानिक भएको उल्लेख गरी वक्तव्य जारी गरेका थिए।
सो वक्तव्य आएपछि प्रधानमन्त्री ओलीले पनि एउटा सार्वजनिक भेलामा पूर्वधानन्यायाधीशहरुले अदालतलाई प्रभावमा पार्न खोजेको टिप्पणी गर्दै यस्तो वक्तव्य दिनेहरुले आफ्नो पालामा कस्तो न्याय दिए होलान् भनी प्रश्न गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।