|

काठमाडौं : शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

मन्त्री साहले एक परिपत्र जारी गर्दै मन्त्रालय मातहतका निकायहरूबाट सम्पूर्ण आयोजनाहरुको विस्तृत विवरण माग गरेका हुन्। कुनै पनि परियोजना ठेक्का गर्दा ठेकेदारले पेश गरेको कार्यतालिकाबमोजिम काम भए नभएको तथा त्यसमा सम्बन्धित निकायको तर्फबाट भएका कामकारबाहीको विवरण १५ दिनभित्र मन्त्रालय पठाउन निर्देशन दिइएको हो।

खरिद सम्झौता गरेबमोजिम काम नभई रुग्ण बनेका आयोजनालाई रुग्ण हुन नदिन गरिएका प्रयास तथा ठेकेदारलाई नियम बमोजिम कारवाही लगायतका कार्यको विवरण समेत माग गरिएको मन्त्रालयका एक कर्मचारीले बताए। 

कुनै पनि आयोजना खरिद सम्झौता भएपछि ठेकेदारले कार्य सम्पन्न गर्ने कार्यतालिका पेश गरेको हुन्छ। सोही बमोजिम तोकिएको समयभन्दा अगावै काम सकाए प्रोत्साहन रकम तथा ढिलाई गरे १० प्रतिशतसम्म हरजाना तिराउनुपर्ने व्यवस्था छ।

काममा ढिलाइ भए सुरुमा ताकेता पत्र काट्ने, त्यसपछि मोबिलाइजेसन रकम कट्टा गर्न, अझ अटेर गरे धरौटी रोक्का गर्ने र अन्तिममा ठेक्का रद्द गर्ने प्रक्रिया सरकारी पक्षले अपनाउनुपर्ने हुन्छ। तर प्रायजसो आयोजनामा कुनै प्रक्रिया नै नअपनाई रुग्ण भएको पाइन्छ।

निर्देशनपछि प्राप्त हुने विवरणबाट आयोजनाहरुको स्थिति र शहरी मन्त्रालयमातहत निकायको क्षमता तथा कामकारबाहीको स्थिति पनि थाहा हुने विश्वास मन्त्री साहको छ। सोहीबमोजिम निर्माण कार्यलाई प्रभावकारी बनाउन कदम चाल्ने तयारीमा मन्त्री साह रहेको मन्त्रालय निकट स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.