कम्युनिष्ट कलह व्यवस्थापन गर्न नसक्दा थप समस्या

|

काठमाडौं : राजनीतिक दलका नेता तथा कानुन व्यवसायीहरूले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन्।

सोमबार गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानको आयोजनामा काठमाडौँमा भएको ‘संसद विघटन संवैधानिक एवं राजनीतिक अन्योलता र त्यसको निरुपण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजनीतिक दलका नेता तथा कानुन व्यवसायीहरुले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएका हुन्। 

प्रतिनिधिसभा पुनःस्थापनाको निम्ति संघर्ष आवश्यक रहेको जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले बताए।  लोकतन्त्र, संविधानप्रतिको निष्ठा जायर गर्दै राजनीतिक दल नागरिक समाज लगायतले शक्ति प्रदर्शन गर्नसके अदालतले संविधानभित्रै रहेर निर्णय गर्ने उनले बताए। 

भिडियो :

प्रतिनिधिसभा विघटनमा अन्तर्राष्ट्रिय शक्तिको पनि गलत चलखेल रहेको भन्दै उनले शक्ति प्रदर्शनबाट त्यस्तो चलखेल रोकिने पनि दाबी गरे। उनले प्रतिनिधिसभालाई जिवित गर्नुपर्नेमा जोड दिए।

यस्तै, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको सार्वभौमिकतालाई प्रतिनिधित्व गर्ने संसद कम्युनिष्ट पार्टीको आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा विघटन गरिएको बताए। 

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको नेताहरुको रिसमा संसदमा आगो लगाएको उनको भनाई छ। संविधानले प्रधानमन्त्रीको तानाशाहलाई रोकेको भएपनि प्रधानमन्त्री ओलीले संसदमाथि अनाधिकृत आक्रमण गरेको बताए। 

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले संविधान निर्माणताका प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिनको निम्ति गरिएको छलफलको अभिलेख अदालतमा झिकाउनुपर्ने धारणा राखे। न्यायाधीशहरुको संवैधानिक सर्वोच्चता र विधिको शासनअनुरुप धर्म निर्वाह गर्ने हो भने प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नहुने बताए। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधि सभाको विघटन गरेसँगै राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी लगायतले दैनिकजसो प्रतिनिधि सभा विघटनको विषयमा विरोध तथा अन्तक्र्रिया कार्यक्रम गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.