|

काठमाडौं : अष्ट्रेलियामा जारी बिग बास लिग (बिबिएल)अन्तर्गत सिड्नी थन्डरमाथि होबार्ट हरिकेन्सले शानदार जित निकालेको छ। सिड्नीलाई होबार्टले ६ विकेटले पराजित गरेको हो।

सिड्नीले दिएको एक सय ७८ रनको लक्ष्य होबार्टले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। होबार्टको जितमा विकेटकिपर ब्याट्सम्यान बेन म्याकडर्मोटले शानदार ब्याटिङ गरे। उनले ५६ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ९६ रन बनाए। 

यस्तै, डेविड मालनले ४२, डार्सी शर्टले ६ रन बनाउँदा कप्तान पीटर ह्यान्सकम्ब २१ र टिम डेभिड ७ रनमा अविजित रहे। ​बलिङमा तनवीर सांघाले २ तथा नाथन म्याकन्ड्र्यू र एडम मिलनेले एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ थालेको सिड्नीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन बनाएको थियो। उसका लागि साम बिलिङ्सले शानदार ब्याटिङ गरे। उनले ३४ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५० रन बनाए।

यस्तै, एलेक्स हेल्सले २९, उस्मान खवाजाले २७, कप्तान कलुम फर्ग्युसनले २३ बनाउँदा बेन कटिङ र डेनियल साम्स १६–१६ रनमा नटआउट रहे। ​बलिङमा स्कट बोल्याण्डले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिएका हुन्। यस्तै, नेथन एलिसको नामा १ विकेट रह्यो।

सिड्नीविरुद्ध होबार्टमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछाने विकेटविहीन बनेका छन्। ४ ओभर बलिङ गरेका सन्दीपले विकेट लिन सकेनन्। सन्दीप लगातार दोस्रो खेलमा विकेट विहीन बनेका हुन्।

उनले यसअघि पर्थविरुद्धको खेलमा पनि विकेट लिन सकेका थिएनन्।

उनले आफ्नो चौथो ओभरमा १० रन दिए। यसअघि उनले पहिलो, दोस्रो र तेस्रो ओभरमा क्रमशः ४, ९ र ५ रन खर्चेका थिए। सन्दीपले ४ ओभरमा २८ खर्चिए।आजको जितसँगै होबार्ट अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उसले खेलेका ११ खेलमा ६ मा जित र पाँच खेलमा हारको सामना गरेको छ। होबार्टको २३ अंक छ।

आजको खेलमा हारे पनि सिड्नी थन्डर २३ अंकसहित तालिकाको दोस्रो स्थानमा कायमै छ। उसले ११ खेलमा ६ मा जित र पाँच खेलमा हार बेहोरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.