व्यक्तिगत सुरक्षा सजगता अपनाउन छाड्नु अर्को समस्या

|

काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर घट्दो क्रममा छ। युरोप तथा अमेरिका लगायतका मुलुकमा संक्रमण दर बढिरहँदा नेपालमा चाहिँ घट्नु आश्चर्य जस्तै भएको छ।

बेलायतमा कोभिडको भाइरसको नयाँ स्वरुपमा देखिएपछि विभिन्न मुलुकमा भाइरसको संख्या बढेसँगै यसको त्रास बढिरहेको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी बेलायतमा देखिएको नयाँ भाइरस नेपाली नागरिकलाई देखिएको पुष्टि गरिसकेको छ।

दुई पुरुषसहित एक महिलामा भाइरस संक्रमण भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ। पुसको पहिलो साता  बेलायतबाट आएका ६ जनामा कोरोना पुष्टि भएको थियो। तर, जीन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए/नभएको खुलेको थिएन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ वटा नमूनामा एस-जीन टार्गेट नेगेटिभ आएकाले २७ पुसमा हङकङ प्रयोगशालामा पठाइएको थियो। पठाइएको ३ वटा नमूनामा नयाँ भेरियन्ट (बी.१.१.७) भएको पुष्टि भएको हो।

मन्त्रालयले जारी गरेको सूचनामा दुई जना संक्रमणमुक्त भइसकेको र एकजना काठमाडौंका संक्रमितमा लक्षण नभएकोले होस आइसोलेसनमा बसी उपचार गरिरहेको मन्त्रालयले जनाएको थियो।

नयाँ प्रजातीको भाइरस देखिनुले नेपालमा कोरोनाको जोखिम हटिनसकेको जनाउँछ। खुल्ला सडकमा जहाँसुकै हेर्ने हो भने नेपाल संक्रमणमुक्त भइसकेको जस्तो देखिन्छ। जुलुस, सभा र सम्मेलनहरू दिनहुँ आयोजना गर्ने गरिएको छ। यस्ता गतिविधि नरोकिए नयाँ र दोस्रो चरणको कोरोना भित्रिने त होइन भन्ने त्रास बढ्दै गएको छ।


बेलायतबाट आएका सम्पूर्ण नेपालीलाई प्रत्यक्ष निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा.समिर कुमार अधिकारी बताउँछन्। उनका अनुसार पछिल्लोपटक १४ जना नेपाली नागरिक त्यहाँबाट आएका थिए।

उनीहरूको सम्पर्कमा आएका सबैलाई कन्ट्रयाक ट्रेसिङ गरिसकेको अधिकारीले थाहाखबरलाई जानकारी दिए। ‘सबैलाई क्वारेन्टाइनमा राखिएको थियो,’ उनले भने, ‘उनीहरूको सम्पर्कमा आएका सबैको परीक्षण गरिएको छ, प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ, आएका सबैसँग सम्पर्कमा छौं।'

नयाँ भाइरसले नेपालमा दोस्रो चरणको कोरोनाको संक्रमण बढ्न सक्ने संकेत गरेको उनको दाबी छ। जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने हो भने नेपालमा ठूलो जोखिम निम्तिने उनको भनाई छ। राजनीतिक दलदेखि नागरिक समाज सबैलाई स्वास्थ्य सचेतना अपनाउन उनले सुझाव दिए।

आपतकालिन खोप प्रयोग अनुमति पाएपनि तत्कालै नागरिक उत्साहित हुनुपर्ने अवस्था नरहेको उनले बताए। सरकारले विभिन्न विकल्पबाट खोप आयात तयारी गरिरहेको, तर सामाजिक दूरी र मास्क प्रयोग नै कोरोनाबाट सुरक्षित रहने मुख्य उपाय रहेको उनले सुझाए।

अनुसन्धान प्रक्रियामा छौँ

यो कस्तो खालको भाइरस हो त भन्ने प्रश्नको उत्तर दिँदै अधिकारीले भने, ‘अहिले देखिएकोले यस्तै प्रकारको कडा वा नरम भन्न सकिँदैन, यसलाई अझ विस्तृत रुपमा हङकङस्थित विश्व स्वास्थ्य संगठनको ल्याबबाट बुझ्ने प्रयास भइरहेको छ।’

नेपालको विभिन्न ल्याबमा पनि यसको प्रयोग गर्न सकिने उनले जानकारी दिए। प्रयोगशालाका मेसिनको गुणस्तरमा परीक्षण भरपर्ने उनले बताए

‘हेलचेक्रयाई नगरौँ’​

हङकङमा पुष्टि भएको नयाँ प्रकारको भाइरसका कारण त्रास बढेपनि धेरै आत्तिनुपर्ने अवस्था नरहेको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन्। उनले भने, ‘यो भाइरस कतिको कडा छ त्यसमा निर्भर रहन्छ। तर, त्यसबाट सुरक्षित रहनको लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्नैपर्छ।’

सडकमा वा चोक-चोकमा सामाजिक दूरी कायम गरिएको नदेखिनुले कोरोना त्रास बढिरहेको उनको भनाइ छ। भौतिक दूरी हुन छोडेको र मास्क बिना सार्वजनिक स्थानमा मानिसको भीडभाड बढ्नुले पनि नेपालमा दोस्रो चरणको जोखिम रहेको मरासिनी पनि स्वीकार्छन्।  

लक्षण देखिएका जस्ता भएमा अहिले आफै होम आइसोलेसनमा बसी आफूलाई सुरक्षित राख्न उनको सुझाव छ। खोप आयात गर्ने हल्ला बढेसँगै हेलचेक्रयाईं बढेको हुन सक्ने उनको अनुमान छ। न्यूनतम स्वास्थ्यको मापदण्ड नअपनाएमा कोरोनाको दोस्रो 'स्ट्रेन' फैलनसक्ने उच्च सम्भावना रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.