वैशाखपछि ओली जाने र अर्को खिलराजको खोजी भइसकेको भनाइ

|

प्यूठान : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेका कारण अर्कै बाटो हिँड्न खोजेको बताएका छन्।

नेकपा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ता भेलालाई प्युठानमा सम्बोधन गर्दै उनले २०६२/०६३ को जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा ओलीले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव नभएको अभिव्यक्ति दिएको स्मरण गरे। पुनले तत्कालीन एमालेले गणतन्त्रको लाइन पारित गर्दा ओलीले ‘नोट अफ डिसेन्ट’ नै लेखेको उल्लेख गरे। 

‘उहाँले नेपालमा गणतन्त्र आउनु बयलगाडा चढेर अमेरिका गएजस्तै कठिन हुने बताउनुभएको थियो’, उनले भने, ‘हामीले उहाँको विचारमा परिवर्तन आयो होला भन्ने विश्वास गर्‍यौं, तर उहाँ बयलगाडाकै मनोविज्ञानमा हुनुहुँदोरहेछ।’ 

गणतन्त्रविरोधी भएर पनि त्यसका सबै प्रतिफल लिएको र नेता नै मै हुँ भन्ने घमण्ड र अहंकारका कारण ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको आरोप पनि पुनले लगाए। ओलीलाई दक्षिणपन्थीको आरोप लगाउँदै पुनले दक्षिणपन्थीहरु क्रान्तिकारी आन्दोलन हाबी हुँदा पछि लाग्ने र अलिकति मात्र कमजोर हुँदा टाउको उठाउने गरेको इतिहास संसारभर रहेको चर्चा गरे। 

झापा आन्दोलनको क्रान्तिकारी विरासतमा शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाबाट लोकप्रिय बन्न सफल तत्कालीन एमाले र जनयुद्धमार्फत उदाएको माओवादी दुवै पार्टीले आआफ्ना महाधिवेशनबाट पुँजीवादी क्रान्ति सकिएको निष्कर्षसहित समाजवादतर्फ जाने समान लक्ष्य लिएपछि एकता सम्भव भएको उनले बताए। 

ओलीसँग सानो झुण्ड बाहिरिए पनि जबजको मार्गनिर्देशनमा एमालेलाई जनताबीच लोकप्रिय बनाउने, पार्टीलाई विधि, प्रक्रिया, पद्धति र विचारका आधारमा अघि बढाउनुपर्छ भन्ने सोचका माधव नेपाल, झलनाथ खनाललगायत ठूलो पंक्ति र पूर्वमाओवादी एक ढिक्का भएको पुनको दाबी गरे। 

‘केपी ओलीको निरंकुश शैली, व्यक्तिवाद र सन्काहा प्रवृत्तिका कारण एकता जोगाउन नसकिएकामा अप्ठेरो र लज्जित महसुस भएको छ’, पुनले भने, ‘ तर, एमाले निर्माण गर्ने, विचार, विधि, पद्धतिमा आधारित पार्टी निर्माण गर्ने माधवकुमार नेपाल हो, झलनाथ खनाल हो, त्यो प्रवृत्ति हामीसँगै छौं।’ 

मन्त्रिपरिषदमा ओलीसँग तीन वर्ष सँगै काम गर्दा उनमा फासिवादी चरित्र देखेको टिप्पणी गरे। 

आफ्ना अध्यक्षद्वय प्रचण्ड–नेपालमाथि ‘दुईटा खिया लागेको नटबोल्ट’ र ‘भेट्नु कुहिएको फल’ को संज्ञा दिएकामा पनि पुनले आपत्ति जनाए। ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रभानमन्त्री नरेन्द्र मोदीभन्दा माथि रहेको अहंकार प्रस्तुत गरेको दाबी गरे। 

‘ट्रम्प व्यापारी हो। उनलाई युएनमा भाषण सुनाउन खोजेको थिएँ। प्रचण्डले सरकार ढालेका कारण पाइनँ। सी जिनफिङ उमेरले मभन्दा सानो हो। नरेन्द्र मोदी म जेलमा बस्दा जोगी भएर हिंडिरहेका थिए। आरएसएसको सदस्य भएर तालिम गर्दै थिए। पुटिन त म जेलमा हुँदा गुप्तचरको प्रमुख हो, राजनीतिज्ञ होइन। समकालीन नेताहरुमा म सबैभन्दा माथि छु भन्नुहुन्छ’, पुनले भने, ‘दुनियाँका अगाडि अहंकारी राष्ट्रवादी व्यक्तित्व बनाउने अनि गोयल आएपछि रातारात अर्कोतिर हिFड्ने दोहोरो चरित्र ओलीमा देखियो।’ 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलासमा पटकपटक बहुमत प्राप्त दलको नेताले सरकार चलाउन सकेन र  जनतामा जान्छु, चुनावमा जान्छु भन्दा पाउने कि नपाउने? भन्ने प्रश्न गरेको प्रसंग कोट्याए। 

बहुमत प्राप्त दलको नेताले चाहँदैमा संसद् विघटन हुने व्यवस्था संविधानमा नरहेको हेक्का राख्न सुझाव दिए। ओलीविरुद्ध आफ्नै पार्टीका बहुमत सदस्यले  दर्ता गरेको अविश्वास प्रस्ताव संसदमा विचाराधीन रहेको भन्दै उने आफ्नो दलमा र पार्टीमा समेत विश्वास कायम गर्न नसक्ने नेतालाई जनमत भंग गर्ने अधिकार नरहेको दाबी गरे। 

‘ओलीजीले सबैलाई पेलपाल गरेर अझै डेढ/दुई वर्ष सत्ता चलाउँछु भन्ने सपना देखिरहनुभएको छ’, पुनले थपे, ‘जसको सेटिङमा प्रतिनिधिसभा सिध्याउनुभयो, उसैले वैशाखपछिका लागि अर्को खिलराजको खोजी गरिरहेको छ।’ 

नेपालमा संविधान जारी गर्नु हुँदैन भन्दै संविधान रोक्न आएकाहरु र संविधान जारी भएपछि पनि लागू हुन दिन्नौं भन्नेहरु अहिले पनि शक्तिमै रहेको र उनीहरुको इसारामा ओलीले लोकतन्त्र, गणतन्त्र, समावेशीता तथा सामाजिक न्यायमाथि प्रहार गरेको पुनले उल्लेख गरे। 

‘नेपालको संविधान, गणतन्त्र, समावेशीता, समाजिक न्याय जस्ता उपलब्धि खोस्ने गम्भीर खालका डिजाइन छन्। त्यसका ओली मतियार मात्र भन्नुभएको छ। वैशाखपछि उहाँलाई पनि मिल्काइन्छ। त्यसैले हामीले समय छँदै सजग गराउ नचाहेका छौं’, पुनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.