|

कैलाली : एसएसबीको गोली लागेर मृत्यु भएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आइतबार अन्त्येष्टि गरिँदैछ। गौतमको शव यात्रा सेती अञ्चल अस्पताल धनगढीबाट करिब साढे १० बजे शुरु भएको छ। धनगढीको एलएन चोक, चौराहा, त्रिनगर भन्सार नाका हुँदै गौतमको पार्थिव शरीरलाई उनकै गृहनगर  कञ्चनपुरको पुर्नवास लगिनेछ।

सहिद गौतमको पार्थिव शरीरलाई गृह नगर पुनर्वास नगरपालिका आइबीआरडी ल्याएर अन्तिम श्रद्धाञ्जली दिदै ६५ विगाहामा रहेको दोदा नदीमा उच्च सम्मानका साथ अन्त्यष्टी गरिने लगिने स्थानीय नेता प्रेम बस्नेतले जानकारी दिए।

अस्तपालदेखि स्थानीय दोदा नदीसम्म हुने शव यात्रामा सयौं स्थानीयको सहभागिता रहेको छ। स्थानीय प्रशासनले पुनर्वासमा लगाएको निषेधाज्ञा अझै जारी हुँदा स्थानीयलाई शवयात्रामा सहभागी हुन समस्या भएको छ। प्रशासनले आइतबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

 भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट गत बिहीबार मृत्यु भएका गौतमको अन्त्येष्टिमा ११ तोपको सलामी दिइने सरकारले निर्णय गरेको छ। बिहीबार सीमा नजिक बनाइएको कल्भर्ट विवादमा भारतीय प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको थियो।

 पुनर्वासका स्थानीयले गौतमको राजकीय अन्त्येष्टि हुनुपर्ने माग गरेर शव बुझेका थिएनन्। सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेपछि गौतमका परिवार र स्थानीय दाहसंस्कारका लागि सहमत भएका हुन्। सरकारले गौतमलाई सहिद घोषणा गरी पीडित परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। त्यस्तै उनको छोराछोरीलाई निशुल्क शिक्षाको व्यवस्था पनि गरेको छ।

सहिद गोविन्द गौतमको शोकमा यस बर्ष पुनर्वास क्षेत्रमा होली नमनाउन स्थानीय जनताहरुले सबै पुनर्वासीलाई आग्रह गरेका छन्। पुनर्वास नगरपालिकालाई गोविन्द नगरपालिका बनाउनुपर्ने माग राखेका आक्रोशितको माग सम्बोधन हुने भन्दै अब पुनर्वास नगरपालिकालाई गोविन्द नगरपालिका बनाउन आफूले पहल थाल्ने कञ्चनपुर जिल्ला क्षेत्र न. १ का सांसद दिवान सिंह विष्टले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.