|

काठमाडौं : नेपाल चीनबीचको सीमा मितेरी पुलको जग पुन: निमार्ण गर्न आजदेखि तातोपानी नाका बन्द गरिएको छ। २० दिनका लागि नाका बन्द गरिएको चीनियाँ पक्षबाट जानकारी आएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले बताए। 

‘जनवरी २० देखि नाका बन्द गरिने चीनियाँ पक्षले बताएको छ,’ खत्रीले भने,‘तिब्बत सरकारले परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको र भन्सार कार्यालयलाई बढीमा २० दिन नाका बन्द हुने जानकारी आएको छ।’

प्राबिधिकको सिफारिश अनुसार चीनियाँ सरकारले मितेरी पुलको जग पुन निमार्ण गर्न थालेको छ। गएकोे बर्षाका बाढीले मितेरी पुलको जग खलबल्लाए पछि चीनियाँ सरकारले पुलको मर्मत सुधार गर्न लागेको छ।

केही दिन अघि नै चीनियाँ भू भाग खासा र न्यालाम क्षेत्रमा नेपाली ब्यापारीका थुप्रिएका सामान नेपाल ल्याइएको थियो। उक्त सामान नेपाल पठाएपछि मात्र चीनले पुलको जग पुन निमार्ण गर्न लागेको प्रमुख खत्रीले बताए। दुई देशको सीमा क्षेत्रमा रहेको मितेरी पुलको जग पुन निमार्ण गर्न नेपाल पक्षको तातोपानी सुख्खा बन्दरगाहलाई जानकारी गराएर जग पुन निमार्ण गर्न लागेको खत्रीले जानकारी दिए।

२०७२ बैशाख १२ को बिनाशकारी भूकम्पले मितेरी पुल आंशिक क्षति पुर्याएको थियो। भूकम्पपछि चीनियाँ सरकारले करिब चार बर्ष एकतर्फी रुपमा नाका पूर्णरुपमा बन्द गरेको थियो। २०६६ जेठमा आंशिकरुपमा नाका खुलाएपनि असार महिनामा बाढी र पहिरोको कारण फेरि उक्त नाका बन्द गरिएको थियो।

बाढी पहिरोको कारण देखाउदैं चीनले तातोपानी नाका एकतर्फी रुपमा बन्द गदै आईरहेको छ। कोरोना भाइरस देखिएपछि चीनले नाका मनलागे आंशिक खुलाउने त मनलागे पूर्ण रुपमा बन्द गराउदैं आएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेद बहादुर श्रेष्ठले जानकारी दिए। भूकम्पपछि उक्त नाकाबाट अहिले सम्म कुनै सामान निर्यात नभएको खत्रीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.