|

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यकाल सम्हाल्नासाथ निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका दर्जनौं फैसला उल्ट्याइदिएका छन्।

आफ्ना पूर्ववर्तीले लिएका केही नीतिहरूलाई बाइडेनले राष्ट्रपतिको कुर्सीमा बस्नासाथ पल्टाइदिएका हुन्। 

सपथ लिएर काम शुरु गर्न ह्वाइटहाउस पुगेका बाइडेनले सामाजिक सञ्जालमा लेखेका छन्, 'हामीले हाम्रा अघिका संकटहरूसँग जुध्नुछ, त्यसैले हामीसँग व्यतित गर्नका लागि पर्याप्त समय छैन।' 

राष्ट्रपति बन्नासाथ बाइडेनले सबैभन्दा पहिले १५ वटा कार्यकारी आदेश (एग्जिक्युटिभ अर्डर) मा हस्ताक्षर गरेका थिए। ती आदेशमा कोरोना महामारीसँग जुध्न सरकारलाई सहयोग पुग्ने लगायतका विषय छन्। 

यस अतिरिक्त बाइडेनले जलवायु संकट र आप्रवासनबारे पूर्ववर्ती ट्रम्प प्रशासनले लिएका नीतिहरू बदल्न पनि नयाँ आदेश दिएका छन्। 

ह्वाइट हाउसको ओभल अफिस (आफ्नो कार्यालय) मा कालो मास्क पहिरिएर पुगेका बाइडेनले पत्रकारहरूसँग कुराकानी गर्दै कोरोना महामारी, आर्थिक र जलवायु संकट निवारण आफ्नो सबैभन्दा ठूलो प्राथमिकता भएको बताइसकेका छन्। 

बाइडेनले भनेका छन्, 'ट्रम्प प्रशासनले लिएका गलत निर्णयबाट देशलाई भएको नोक्सानीबाट उठ्नका लागि हामीले आउँदा दिनमा धेरै काम गर्नुपर्नेछ, गर्नेछौं।' 

सरकारी कार्यालयमा मास्क लगाउन अनिवार्य 

बाइडेनले कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै सबै सरकारी कार्यालय परिसरमा मास्क लगाउन र भौतिक दूरी कायम गर्न अनिवार्य गरिदिएका छन्।


यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महामारी विज्ञहरूले स्वास्थ्य सजगताका लागि निरन्तर अनुरोध गर्दा पनि उनले अमेरिकामा कसैले मास्क लगाउनुनपर्ने बताएका थिए।

अहिलेसम्म अमेरिकामा ४ लाखभन्दा धेरै कोरोना संक्रमितको ज्यान गइसकेको छ।

महामारी नियन्त्रणमा समन्वय गर्न नयाँ कार्यालय 

बाइडेनले कोरोना महामारी नियन्त्रणमा समन्वय गर्न एक नयाँ कार्यालय स्थापना गर्ने बताएका छन्। साथै, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अमेरिकालाई अलग्याउन निवर्तमान राष्ट्रपति ट्रम्पले अघि बढाएको प्रकृयालाई पनि बाइडेनले खारेज गर्ने भएका छन्। 

संयुक्त राष्ट्र संघ (युएनए) का महासचिव एन्टोनियो गुटेरेसले बाइडेन प्रशासनको यो फैसलालाई स्वागत गरेका छन्। उनले बाइडेन प्रशासनसँग अधिक विश्वव्यापी समन्वयको अपेक्षा राखेका छन्। 

ट्रम्पले लपेटेका फाउचीलाई साथ

शीर्ष अमेरिकी महामारी विज्ञ डा. एन्टोनी फाउचीको नेतृत्वमा बाइडेन प्रशासनले डब्ल्यूएचओको कार्यकारी बोर्ड बैठकमा एक समूह पठाउने भएको छ।

महामारी नियन्त्रणमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले मनलाग्दी गरेको भन्दै फाउचीले कडा आपत्ति जनाउने गरेका थिए। ट्रम्प र फाउचीबीच लामो समयदेखि वाकयुद्ध चलिरहेको थियो। 


अब विज्ञ समूह लिएर डब्ल्यूएचओको कार्यकारी बोर्ड बैठकमा गई फाउचीले अमेरिका र यो संस्थाबीचको सम्बन्धलाई सामान्य बनाउन प्रयास गर्नेछन्। लगत्तै अमेरिकाले डब्ल्यूएचओलाई थप बलियो बनाउन र कोरोना महामारीसँग लड्न सहयोग प्रदान गर्नेछ। 

पेरिस जलवायु सम्झौतामा फिर्ता

बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गर्नासाथ सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौतामा पुनः अमेरिका आवद्ध हुनेगरी कार्यकारी आदेश जारी गरेका छन्।

यसअघिका राष्ट्रपति ट्रम्पले अमेरिकालाई यो सम्झौताबाट अलग गरेका थिए। 

किस्टोन एक्सएल पाइपलाइन रद्द

बाइडेनले विवादास्पद किस्टोन एक्सएल पाइपलाइनबारे डोनाल्ड ट्रम्पले गरेको पैसला पनि रद्द गरिदिएका छन्। 

यो पाइपलाइनलाई लिएर पर्यावरणविद र अमेरिकाका मूल निवासीहरूले एक दशकअघिदेखि संघर्ष गरिरहेका थिए। 

ट्रम्पले सन् २०१९ मा क्यानडासँग मिलेर १ हजार ९ सय किलोमिटर लामो यो पाइपलाइन बनाउने सम्झौता गरेका थिए। बाराक ओबामा राष्ट्रपति हुँदा नै पर्यावरण समूहको विरोधका कारण यो पाइपलाइन निर्माणमा प्रतिबन्ध लगाइएको थियो। 

पर्यावरण समूहहरूका अनुसार यो पाइप लाइन बने कच्चा तेल निकाल्ने क्रममा हरितगृह ग्यास १७ प्रतिशत बढी उत्सर्जन हुने जोखिम रहन्छ। 

निजी लगानीमा बनाइने भनिएको यो पाइपलाइनको निर्माण लागत करिब ८ विलियन अमेरिकी डलर आंकलन गरिएको थियो। अब यो सम्झौता अन्त्य हुने र

क्यानडाका प्रधानमन्त्री जस्टीन टुडोसँग बाइडेनले कुराकानी गर्ने बताइएको छ। 

मेक्सिकोको पर्खालदेखि आप्रवासीको प्रतिबन्धसम्म

​बाइडेनले चुनावी अभियानका क्रममा नै आप्रवासनबारे ट्रम्प प्रशासनले लिएको नीतिहरू उल्ट्याउने बताएका थिए। मेक्सिकोसँगको सीमामा लगाइएको पर्खाल र १३ देशमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाउनेतर्फ बाइडेनले प्रारम्भिक काम थालेका छन्। 

राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले एक आपतकालिन घोषणा गर्दै मुस्लिम बहुसंख्यक र अफ्रिकी लगायत १३ देशमा यात्रा प्रतिबन्ध घोषणा गरेका थिए। ती देशहरूबाट मुसलमानहरूलाई अमेरिका प्रवेशमा रोक लगाइएको थियो।

बाइडेनले आप्रवासनसम्बन्धी एक मेमोरेन्डममा हस्ताक्षर गरेका छन्। यसतर्फ काम अघि बढाउन होमल्याण्ड सेक्युरिटी र अमेरिकी आटोर्नी जनरललाई निर्देश गरिएको छ। 

अब अमेरिकामा आएका निर्वासित बालबालिकाहरूलाई त्यहाँको सरकारले सुरक्षा प्रदान गर्नेछ। यसरी बाल्यकालमै अमेरिका पुगेकाहरूलाई अब बाइडेन प्रशासनको आदेशानुसार अमेरिकी सरकारले त्यहाँको नागरिकता पनि प्रदान गर्नेछ। 

यस सम्बन्धमा कानून बनाउन एक विस्तृत विधेयक अमेरिकी सदनमा पठाइने पनि ह्वाइटहाउसले जनाएको छ। 

सरकारी संस्थानमा नश्लभेद अन्त्य

बाइडेनले संघीय योजना र संस्थानहरूमा सबैखाले नश्लीय भेदभाव अन्त्य गर्न अर्को एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। 

केही साताभित्रै अन्य महत्वपूर्ण फैसला हुने पनि बाइडेनका प्रेस सचिव जेन साकीले बताएका छन्। 

राष्ट्रपति निर्वाचित बाइडेनले बुधबार एक विशेष समारोहमा अमेरिकाको ४६ औं प्रधानमन्त्रीको सपथ लिएका थिए। कोरोना महामारीका कारण सो समारोहमा यसअघि भन्दा कम मानिसहरू सहभागी भएका थिए। जारी महामारीबाट अमेरिका सबैभन्दा नराम्ररी प्रभावित भएको छ। 

उनको सपथग्रहण समारोहमा पूर्व राष्ट्रपतित्रय बाराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्ल्यू बुस सहभागी थिए। साथै, ट्रम्प प्रशासनका उप–राष्ट्रपति माइक पेन्स पनि सपथ ग्रहण कार्यक्रममा सहभागी भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.