|

काठमाडौं : तारादेवी स्मृति फाउन्डेसनले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा भोलि १५ औं स्मृति दिवस मनाउने भएको छ। महानगरपालिका वडा-३ कार्यालयको सभा कक्षमा आज पत्रकार भेटघाट गरेर फाउन्डेसनले यस्ताे जानकारी दिएकाे हो। 

फाउन्डेसनका अनुसार १५ औं स्मृति दिवसका अवसर पारेर भोलि रााष्ट्रिय सभा गृहमा ‘सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम’ आयोजना हुनेछ। त्यस कार्यक्रममा स्व. तारादेवीका अजर अमर गीत संगीतलाई जीवन्त राख्न एक दर्जनभन्दा बढी गीत प्रस्तुत हुनेछन्। 

पत्रकार भेटघाट कार्यक्रममा फाउन्डेसनका सल्लाहकारसमेत रहेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले रोयल्टीको व्यवस्थापनबाट मात्र कलाकारको संरक्षण गर्न सकिने बताए।

‘अब म कलासँग सम्बन्धित क्षेत्रलाई जोडेर रोयल्टीको प्रभावकारी व्यवस्थापनका लागि पहल गर्नेछु,’ राज्यमन्त्री मानन्धरले भने,‘रेडियो, टेलिभिजन, सार्वजनिक समारोह, भेला र यातायात क्षेत्रबाट गीत÷संगीत रोयल्टी संकलन हुन्छ। यसको बैज्ञानिक संकलन र न्यायोचित वितरण अहिलेको आवश्यकता हो। म अब छरिएका क्षेत्र समेट्ने अभियानमा लाग्नेछु।’

फाउन्डेसनका अध्यक्ष समेत रहेका महानगरको वडा ३ का अध्यक्ष दीपक के. सी. ले कला, संगितको जगेर्ना गर्ने जानकारी दिए। उनले भने,‘काठमाडौं देशभरिका गीत, संगीत तथा गायन तथा विभिन्न विधाका कलाको संग्रह हुने ठाउँ हो। सिर्जित कलाको प्रस्तुति र प्रवर्धनका लागि कलाकारहरुको काठमाडौंमा भेला हुने गरेको छ। यी संग्रह र सिर्जनाका सर्जकलाई महानगरले सम्मान गर्छ। जगेर्ना गर्छ।’

उनले नारायण गोपालको स्मृति र सम्मानमा महानगरले ‘गीत गंगा भवन’ निर्माण गर्दै गरेको पनि जानकारी दिए। के. सी. ले महानगरबाट गएका २ बर्षमा १०÷१० लाख रुपैयाँ गरी तारादेवी फाउन्डेसनका अक्षय कोषमा २० लाख रुपैयाँ उपलब्ध गराएको बताए। यो कोषबाट तारादेवीको योगदान प्रवर्धन हुने कार्यक्रम र गीत संगीतमा शिक्षा लिन चाहने विद्यार्थीलाई संगीतको शिक्षा दिने काम भएको उनको भनाई छ।

विगत बर्ष जस्तै यस बर्ष पनि तारादेवीका गीतसँग जोडिएका विभिन्न सर्जकहरुलाई सम्मान गरिनेछ। यसरी सम्मानित हुनेमा स्व. भैरवनाथ रिमाल ‘कदम’, संगीतकार गणेश परियार र गायिका ज्ञानु राणा छन्।

उनीहरुलाई नगद र ताम्रपत्रसहित सम्मान गरिनेछ। स्वर किन्नरी तारा देवीका कालजयी गीतहरुको संरक्षण र प्रवर्धन गरी नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले २०७५ सालमा तारा देवी स्मृति फाउण्डेसन स्थापना गरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.