|

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनको असर उदयपुरको स्थानीय तहका निर्वाचित जनप्रतिनिधिमा परेको छ। आठ स्थानीय तह भएको उदयपुरमा प्रचण्ड–नेपाल समूहको बहुमत रहेको छ।

आठ स्थानीय तहमध्ये पाँच स्थानीय तहका प्रमुख प्रचण्ड–नेपाल समूह र दुई स्थानीय तहको प्रमुख ओली समूहमा रहेका छन्। यस्तै, जिल्ला समन्वय समिति संयोजक खड्गबहादुर दर्लान ओली समूहमा र सहसंयोजक गंगा राई प्रचण्ड–नेपालमा छन्।

यस्तै, गत स्थानीय तहको निर्वाचनमा उदयपुरको ७५ वडामध्ये ४७ वटा वडामा नेकपाका जनप्रतिनिधि विजयी भएका थिए। जसमा तत्कालीन नेकपा एमालेबाट २९ जना र तत्कालीन नेकपा माओवादी केन्द्रबाट १८ जना वडाध्यक्ष विजय भएका थिए। वडाध्यक्षमध्ये ३७ जना प्रचण्ड–नेपाल समूहमा, ६ जना ओली समूह र चारजना कुनै समूहमा खुलेका छैनन्। 

ओली समूहमा बेलका नगरपालिकामा चार वडाध्यक्ष र कटारी नगरपालिकामा दुई वडाध्यक्ष खुलेका छन्। यस्तै, बेलका नगरपालिकाका प्रमुख दुर्गा थापा पनि ओली समूहमा खुलेका छन्। उपप्रमुख राजकुमारी चौधरी भने अहिलेसम्म कुनै समूहमा खुलेकी छैनन्।

चौदण्डीगढी नगरपालिका प्रमुख, उपप्रमुख, त्रियुगा नगरपालिका र लिम्चिुङबुङ गाउँपालिकाका उपप्रमुख नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। चौदण्डीगढीका चारजना वडाध्यक्ष प्रचण्ड–नेपाल समूहमा खुलेका छन्। त्रियुगाका प्रमुख बलदेव चौधरीसहित आठजना वडाध्यक्ष प्रचण्ड–नेपाल समूहमा छन्।

यस्तै, कटारीका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भिमकुमारी राउतसहित दुई वडाध्यक्ष ओली समूहमा खुलेका छन्। अन्य पाँच वडाध्यक्ष प्रचण्ड–नेपाल छन्। एकजना वडाध्यक्ष तटस्थ देखिएका छन्।
 
रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्कासहित ६ वडाध्यक्ष प्रचण्ड–नेपाल समूहमा खुलेका छन्। उपाध्यक्ष कुमारीज्यू ठकुरी ओली समूहमा छिन्। एकजना वडाध्यक्ष तटस्थ छन्। 

उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर आले मगर र उपाध्यक्ष सानुकुमारी राउतसहित पाँच वडाध्यक्ष प्रचण्ड–नेपाल समूहमा खुलेका छन्। ओली समूहमा भने शून्य छ। यता ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापा र उपाध्यक्ष कमलमाया राईसहित पाँच वडाध्यक्ष प्रचण्ड–नेपाल पक्षमा खुलेका छन्। बाँकी दुई वडाध्यक्ष कुनै समूहमा खुलेका छैनन्।

लिम्चुङबुङ गाउँपालिकामा अध्यक्ष मेजरकुमार राईसहित पाँचैजना वडाध्यक्ष प्रचण्ड–नेपाल पक्षमा खुलेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.