|

गौर/काठमाडाैं शहरी विकास मन्त्री प्रभु साहले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन लगायतका आन्दोलनका सहिद परिवारलाई जागिर दिने घोषणा गरेका छन्। 

शुक्रबार रौतहटको माधव नारायण नगरपालिका–५, मिठुअवामा जनयुद्धका सहिद परिवारहरुको सम्मान कार्यक्रममा नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले इन्जिनियर र सबइन्जिनियर पढेका सहिद परिवारका सदस्यलाई योग्यताअनुसार आफ्नो मन्त्रालयमा जागिर दिने बताए।

आफू बहाल रहेको सहरी विकास मन्त्रालय निर्माणसँग सम्बन्धित रहेकाले सहिद परिवारमा सिभिल इन्जिनियर तथा सबइन्जिनियर पढेकालाई जागिरको व्यवस्था गर्ने मन्त्री साहले जनाए। योग्यताका आधारमा सबै सहिद परिवारलाई रोजगारी प्रदान गरिने उद्देश्य आफूले राखेको उनले जिकिर गरे।

जनयुद्धको नेतृत्व गरेको प्रचण्डले शान्ति प्रक्रियायता सरकारी कुर्सीमा बसेपछि र सहरिया बिलासी जीवन बिताउन थालेपछि सहिद परिवारलाई भुलेको उनको आरोप थियो।

वर्तमान सरकारको प्राथमिकतामा सहिद परिवार रहेका पनि उनले बताए। सहिदकै कारण कारण देशमा नयाँ व्यवस्था आएको र आफूहरु नेता भएको उनले त्यसक्रममा स्मरणसमेत गराए। सहिदका सपना साकार पार्न अन्तिमसम्म लडिरहने मन्त्री साहले प्रतिबद्धता जनाए।

तीन सयभन्दा बढी सहिद परिवारको सदस्यह कार्यक्रममा सहभागी थिए। कार्यक्रममा नेकपा प्रदेश सदस्य त्रिभुवन साह, नेता उपेन्द्र साह, संविधानसभा सदस्य अब्दुल कलाम अजाद, निवर्तमान सांसदद्वय समिना हुसेन तथा रेखा झा, मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, माधव नारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह, फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्तिदेवी महतो, देवाहीगोनाही नगरपालिकाकी उपप्रमुख परनियादेवी पटेललगायतको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.