|

काठमाडौं : टोकियो ओलम्पिकमा कोरोनाको छायाँ कम भएको छैन। विश्वभरका मिडिया रिपोर्टलाई आधार मान्ने हो भने टोकियो ओलम्पिक लगभग रद्द हुने निश्चित छ।

एक नयाँ अध्ययनअनुसार ८० प्रतिशत जापानी नागरिक नै चाहँदैनन् कि कोरोना महामारीकै बीचमा टोकियोमा ओलम्पिक आयोजना होस्‌। यद्यपि, जापानका प्रधानमन्त्री योशिहिदे सुगाले भने सबै मिडिया रिपोर्ट गलत भएको दाबी गरिरहेका छन्‌। उनका अनुसार ओलम्पिक तोकिएकै समयमा हुनेछ र कोराना भाइरसलाई पराजित गरिनेछ। 

टोकियो ओलम्पिक गत वर्ष नै हुने तय भएपनि कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको थियो। अब यो खेल महाकुम्भ यसै वर्षको जुलाई २३ देखि अगस्ट ८ तारिखसम्म हुनेछ। त्यसपछि २४ अगस्टदेखि ५ सेप्टेम्बरसम्म पारा ओलम्पिक हुने कार्यतालिका रहेको छ। 

सरकार ओलम्पिकको पक्षमा

सीएनएनले टोकियो ओलम्पिक आयोजकको हवाला दिँदै भनेको छ : हाम्रो पार्टनर जापान सरकार, टोकियो नगरपालिका सरकार, टोकियो २०२० आयोजक कमिटी, अन्तराष्ट्रिय ओलम्पिक कमिटी समेत सबै ओलम्पिक गर्नकै लागि तयारी गरिरहेका छन्। हामीलाई विश्वास छ : जनजीवन चाँडै सामान्य बन्नेछ। हामी सबैको सहयोगमा खेल सुरक्षित र स्वस्थ माहोलमा हुने विश्वासमा छौं।

आन्तरिक रूपमा ओलम्पिक रद्द गर्ने निर्णय

सो मिडिया रिपोर्टमा उल्लेख भएअनुसार  जापान सरकारले भित्रभित्रै भने ओलम्पिक नगर्ने आन्तरिक निर्णय गरिसकेको छ।

आन्तरिक बैठकमा कोरोनाका कारण ओलम्पिक हुन नसक्ने भएकाले रद्द गर्ने निर्णय गरिएको दाबी समाचारहरूमा गरिएको छ। एक स्थानीय पत्रिकाका अनुसार सरकारले अब २०३२ मा टोकियो ओलम्पिक गर्ने तयारी गरेको छ।

स्रोतको हवाला दिँदै सो सीएनएनले लेखेको छ, 'अधिकारप्राप्त कोही पनि व्यक्तिले ओलम्पिक नहुने कुरा सबैभन्दा पहिले भन्न चाहिरहेका छैनन्। यद्यपि, टोकियो ओलम्पिक हुन नसक्नेमा सहमति भइसकेको छ।'

टोकियोमा संकटकाल

जापानमा लगातार बढ्दो संक्रमणका कारण टोकियो समेत ठूला शहरहरूमा संकटकाल घोषणा गरिएको छ। केन्द्र सरकारले विदेशीको आगमनमा पनि रोक लगाएको छ। जसले गर्दा पनि टोकियो ओलम्पिक थप अन्योलपूर्ण बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.